रेडक्रस कास्कीमा सवा २ करोडको कोष

समाधान संवाददाता २०८१ चैत २८ गते १९:५३

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले संस्थाको कार्यक्रम तथा सेवा प्रवाहलाई नियमित र दिगो बनाउन २ करोड १३ लाख रुपैयाँको संस्थागत कोष खडा गरेको छ ।

Advertisement

प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितको राहात तथा उद्दारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए । सभापति पौडेलले १ करोड ५० लाखको कर्मचारी उपदान कोष स्थापना गरेको बताए ।

रेडक्रस कास्कीको शनिबार भएको ४१ औं वार्षिक साधारण सभा तथा कास्की जिल्ला सभाको १७ औं अधिवेशनमा कोषाध्यक्ष सन्तोष अधिकारीले १८ लाखको असाहय रक्त सहायता कोष, १० लाखको आकस्मिक उपचार कोष र ५ लाखको जुनियर अक्षय कोष स्थापना गरेको जनाए ।

रेडक्रसका मन्त्री सुरेन्द्र गुरुङले विपत व्यवस्थापनका लागि शाखा तथा शाखा अन्तर्गतका सञ्जालमार्फत पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य, राहत तथा उद्दारको लागि पूर्व तयारी अवस्थामा राखेको जानकारी दिए । उनले शाखाबाट राहत सामग्री १ सय परिवालाई तत्काल सहयोग गर्ने गरी तयारी अवस्थामा राखिएको बताए ।

‘३० लाख पूर्व तयारी स्वरुप मुद्दति खातामा राखिएको छ,’ मन्त्री गुरुङले भने, ‘रेडक्रसका १३ उपशाखाले क्षमता अनुसार १० हजारदेखि १० लाखसम्मको विपद् व्यवस्थापन कोष बनाएर महत्वपूर्ण काम गरेका छन् ।’ कास्कीमा हरेक वर्ष बाढी पहिरो, आगलागी, सवारी दुर्घटना, चट्याङ हावाहुरी लगायतका विपद्का घटनाले मानवीय र भौतिक क्षती भएको जानकारी दिँदै मन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरण सचेतना अभिवृद्धि, विपद्को पूर्व तयारी, योजना निर्माण र कार्यान्वयनमा रेडक्रसले ध्यान दिएको बताए ।

Advertisement

उनले भवन निर्माण सुरुवात गरेका उपशाखालाई १ लाखको दरले सहयोग गरेको जानकारी दिए । उनले पोखरा महानगर लगायतका दातृ निकायको सहयोग तथा आन्तरिक स्रोतबाट गोदाम घर तथा विपद् सिकाई केन्द्रको निर्माण कार्य सुरुवात भएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व उपमन्त्री रजनी कोइरालालाई वर्ष स्वयंसेवा सम्मान प्रदान गरिएको छ । प्राथमिक उपचार स्वयंसेवक तथा उत्कृष्ट प्रशिक्षक शिरिषा ढकाल, उत्कृष्ट कर्मचारी शिवराम कार्की, जुनियर तथा युवा सर्कल छोरेपाटन माविलाई सम्मान गरिएको छ ।

कास्कीका ४८ उपशाखामध्ये सर्वोत्कृष्ट पोखरा १२ उपशाखा, द्वितीय पोखरा २ र ३ उपशाखा, तृतीय पोखरा १९ र २५ उपशाखा र सान्त्वना पोखरा ५ र १० उपशाखालाई नगदसहित पुरस्कृत गरिएको छ । लैंगिक गतिविधिमा उत्कृष्ट पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठलाई सम्मान गरिएको छ ।

कार्यक्रममा यशस्कर सदस्यता लिने डण्डराज शर्मा पौडेल, विशिष्ट सदस्यता लिने सन्तोष अधिकारी, पार्वती कार्की, बबिता सुवेदी, भगवती गुरुङ, ताराकुमारी अधिकारी, गणेशबहादुर थापा र रमनकुमार बस्नेतलाई सम्मान गरिएको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बाग्चन्दले उद्घाटन गरेको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मी, सिर्जना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, कास्कीका पूर्व सभापति रघुनाथ अधिकारी, कास्की शाखाका उपसभातिहरु धर्मराज अधिकारी, उर्मिला खड्का, शाखाका मन्त्री सुरेन्द्र गुरुङ, उपमन्त्री रमा न्यौपाने कोइराला, पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त, पोखरा २९ र ३० उपशाखाका सभापति विश्वमोहन पौडेल लगायतले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा गरेका कामको चर्चा गरेका थिए ।

‘मनै देखि सेवा’ भन्ने नाराका साथ भएको ४१ वार्षिक साधारण सभाले शाखाका मन्त्री सुरेन्द्र गुरुङले पेश गरेको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष सन्तोष अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८२ /०८३ को प्रस्तावित बजेटलाई सुधारसहित पारित गरेको छ । सभामा लेखा समितिका संयोजक कृष्णराज ढुंगानाले लेखा समितिको प्रतिवेन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया