केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीसँग मधेश स्तब्ध

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मधेश प्रदेश कर्णालीसामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेस प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकूल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो ।
१ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो । मधेसका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिए पनि जित दिलाउन सकेनन् । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अभिषेक कार्की २२ रनमा अविजित रहे । उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
विशाल पटेल ५ रनमा अविजित रहे । रुपेश सिंहले १७, हरिशंकर शाह ७, विशाल शुस्लिङ १२, अरनिको यादव १४ रनमा आउट भए । ओपनर रोहन विक शून्यमै पेभेलियन फर्किए ।
कर्णालीका लागि सुवास भण्डारी र दीपेन्द्र यादवले २–२, कृष्ण कार्किले १ मेडनसहित १ र अरुण ऐरीले १ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १ सय ४५ रन बनाउदै अलआउट हुन पुग्यो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । विपिन शाहीले २४ रन जोडे । १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । राजप्रसाद शाहले १६, अरुण ऐरी १३, कृष्ण कार्की ७, रविन्द्रजंग शाही ४ रनमा आउट भए । सुवास भण्डारी २ र ओपनर अदित्य विक्रम शाह शून्यमा आउट भए ।
मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक कार्कीले ३ तथा विशाल पटेलले २ विकेट लिए भने प्रदीप पासवानले ४ ओभरमा १ मेडनसहित १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच कर्णालीका हिमांशु शाह घोषित भए ।
मौसमकै कारण दोस्रो खेल रोकिँदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डिएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डिएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै आउट भए । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
आयुव चन्द ३, दीपक रोकाया ३, सन्दीप भण्डारी ५ रनमा आउट भए भने सुनम बुढाथोकी १ रनमा नटआउट रहे । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।
उता, लुम्बिनीका लागि रन्जित चौधरी सार्वधिक ३६ रनको अविजित पारी खेले । उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्देश थापा १८, प्रज्वल थापा १०, ओपनर देव खनाल ३, तुलबहादुर थापा १ मोहम्मद हुसेन ४ र अभिषेस गौतम ७ रनमा आउट भए । अजयकुमार चौहान शून्यमा नटआउट रहे । यो खेल समेत वर्षाका कारण रोकिन पुगेको थियो ।
हिमाल फे्रन्ड्सका लागि सुशील रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान २ विकेट लिँदा दीपक रोकायाले १ विकेट लिएका थिए । प्रतियोगिताको आठौं दिन कर्णाली र हिमाल फ्रेन्ड्सबिच पहिलो तथा मधेस र लुम्बिनीबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया