
जोमसोम । तिब्बतसंग सीमा जोडिएको कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका २ गाउँपालिकाबासीलाई औपचारिक रुपमा खुला गरियो । नेपाल र चीनका प्रतिनिधिसहित कोरलाको तिब्बती भूमी लिग्चेमा औपचारिक समारोहसमेत भयो ।
त्यसअघि कोरला कोरना कहरका कारण बन्द थियो । महामारीअघि नेपाल चीन अन्दरदेशीय अल्पकालीन मेला कोरलाको सीमापारी तिब्बती भूमीमा लाग्थ्यो । चीन पक्षले सीमावर्ती उपल्लो मुस्ताङका नागरिकलाई घरायसी प्रयोजनका सामान किनमेल गर्न व्यापार मेला चलाउने गथ्र्यो । बर्सेनि असार र भदौमा सीमित समयका लागि चीनले मेला चलाउँदा नाका खुल्ने गरेको थियो ।
बाह्रै महिना नाका खुला हुने भएपछि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिक निकै उत्साहित थिए । तिब्बती संस्कृति र उपल्लो मुस्ताङकोसंस्कृति मिल्दोजुल्दो छ । नाका खुल्दा समस्या समाधान हुने र चिनियाँ सामान बिक्री गरी आयआर्जन गर्न पाइने आशामा थिए उपल्लो मुस्ताङी ।
नाका खुलेपछि स्थानीय प्रशासनले धमाधम उपल्लो मुस्ताङलाई सीमापार पास वितरण ग¥यो । हालसम्म तीन हजारभन्दा बढीले चीन जाने सीमापार पास पाइसकेका छन् । नाका खुलेपछि उपल्लो मुस्ताङका २ पालिकाबासीले लिग्चेमा पुगेर दैनिक उपभोग्य सामानका किनेर ल्याउन थालेका छन् ।
त्यसका अलावा कतिपय उपल्लो मुस्ताङका व्यापारीले लिग्चेबाट सामान आयात गरी जोमसोम र जिल्ला बाहिर बिक्री गर्नसमेत थाले । उपल्लो मुस्ताङका नागरिकले सामान सीमापारीबाट ल्याउन थालेपछि भन्सार बढ्दै गयो ।
कोरला खुल्दा प्रशन्न उपल्लो मुस्ताङी अहिले निरास बन्दै भएका छन् । भन्सारबाट सामान ल्याउन नपाइने भएपछि उपल्लो मुस्ताङी स्तब्ध बनेका हुन् । नाका खुलेको १४ महिनापछि उपल्लो मुस्ताङका नागरिकलाई ठूलो परिमाणमा चिनियाँ सामान आयात गर्न मुस्ताङ भन्सारले रोक लगाएको छ ।
मुस्ताङ भन्सारले घरायसी प्रयोजनबाहेक व्यापारिक प्रयोजनका लागि ठूलो परिमाणमा सामान ल्याउन निषेध गरिएको छ । उपल्लो मुस्ताङमा युवा विदेश पलायन हुने होडबाजी चलिरहेको बेला नाकाको कडाईले स्थानीय अझ प्रताडित बनेका छन् ।
लोमान्थाङ ३ ठिंगरका साना व्यापारी कर्मा सम्टुक गुरुङले कोरला नाका खुले पनि आफूहरुका लागि हर्ष न विस्मात भएको सुनाउँछन् । ‘सुरुवाती चरणको एक वर्ष सीमापारी पुगेर सामान ल्याउने र त्यसवापत सरकारलाई कर बुझाउने गरेका थियौं’, उनी भन्छन्, ‘खै अहिले त ३ महिनाभन्दा बढी भयो राजस्व तिरेर सामान ल्याएर बिक्री गर्छुभन्दा पनि पाइँदैन ।’ यो निकै ठूलो अन्याय भएको उनी बताउँछन् ।
सम्टुकले सामान ल्याएर बिक्री गर्न नपाउने भएपछि नाका खुलेको अर्थ नभएको जनाए । सरकारले कोरला नाका व्यापार प्रवर्धनका लागि यहाँका नागरिक र व्यापारीको भावनालाई सम्वोधन गर्नुपर्ने उनको भनाइ छ । अहिले मुस्ताङ भन्सार कार्यालय सुनसान छ ।
कोरलाको १६ किमीयता दक्षिणमा रहेको भन्सार कार्यालयमा जनशक्ति र भन्सारलाई चाहिने आवश्यक पूर्वाधार छैनन् । चीनबाट आयात हुने सामान र उपल्लो मुस्ताङबाट चीनतर्फ निर्यात हुने सामानको राजस्व संकलन गर्ने कार्यमा कानुनी तथा नीतिगत जटिलता देखिन्छ । नाकामा चीनबाट आयात हुने विभिन्न प्रकारका सामग्रीको क्वारेन्टाइन पूर्वाधार नहुँदा कानुनी जटिलता उत्पन्न भएको छ ।
त्यसो त मुस्ताङ भन्सार कार्यालयले न्हेचुङमा रहेको भन्सार कार्यालयलाई त्यहाँका स्थानीयको जनभावनालाई आत्मसात गर्दै कोरलाबाट आउने खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र किराना सामग्री सीमित राजस्व लिएर ल्याउन दिने गथ्र्यो । कोरला यस्तो नाका हो, कुनै समय त्यहाँबाट नूनदेखि सुनसम्म नेपाल भित्रिने गथ्र्यो । नाकाबाट हुने अवैध गतिविधि रोक्न स्थानीय प्रशासनले सक्रियता बढाए पनि कोरलाबाट आयात गरिने सामानमा कडाइ गरिएको हो ।
गत पुस दोस्रो साता कोरलाबाट ट्रकमा राखेर भन्सार प्रज्ञापन पत्र बिल बिजक बिना ६ करोड ८१ लाख बराबरको निनियाँ सामान भित्र्याइपछिसमस्या देखिएको हो । त्यस बेला मुस्ताङ प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट भेपसहितको ट्रक नियन्त्रणमा लिएको थियो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु) उपल्लो मुस्ताङका नागरिक तथा व्यापारीलाई सहज हुने गरी राजस्व संकलन गर्नुपर्नेमा जोड दिन्छन् । ‘अहिले उपल्लो मुस्ताङका नागरिकका लागि नाका खुलेको हो कि होइन, त्यो नै कन्फुज छ । यसरी नागरिक तथा व्यापारीलाई सुविधा पनि नदिने र राजस्व पनि नउठाउने भएपछि यसरी कहाँ चल्छ’, अध्यक्ष विष्ट भन्छन्, ‘सरकारलाई पनि राजस्व आउँछ । व्यापारीले पनि दुई, चार पैसा आम्दानी गर्न पाउने भएपछि सामान ल्याउन किन रोक्नुप¥यो ?’
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ कोरलाबाट सहज रुपमा व्यापार, व्यवसाय चलाउन पाउने व्यवस्था गर्न आवश्यक रहेको औंल्याउँछन् । ‘यहाँका सबै व्यापारी दूधले नुहाएका हुन्छन् भन्न खोजेका होइन । अधिकांश नागरिक सामान बेचेर दुई, चार पैसा कमाउन पाइएला कि भन्ने आशामा छन्’, अध्यक्ष गुरुङ भन्छन्, ‘व्यापारको नाममा अवान्छित गतिविधिलाई रोक्नुपर्छ र त्यस्ता व्यापारीहरुलाई कानुन बमोजिम कारवाही गर्दा हामीलाई कुनै आपत्ति हुँदैन ।’
उपल्लो मुस्ताङका नागरिक तथा व्यापारीमाथि परेको समस्या र चुनौतीको बिषयमा त्यहाँका २ गाउँपालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्डले सक्रियता बढाएका छन् । लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा कोरलानाका व्यापार प्रर्वद्धन सम्बन्धमा छलफल भएको छ ।
कोरला नाकाबाट उपल्लो मुस्ताङका नागरिकले खाद्यान्न, लत्ता कपडा, फर्निचर, किराना सामान, कस्मेटिक, कृषि उपकरण लगायतका सामान आयात हुन्छ । दसैंका लागि चाहिने भेडा, च्यांग्रासमेत आयात गर्ने गरिन्छ । नेपाल पक्षबाट उपल्लो मुस्ताङीले स्थानीय कृषि उत्पादन, पश्मिनाका साथै नेपालभित्र पाइने सामान चीन पक्षलाई बिक्री गरिन्छ ।
नाकामा चीनले भव्य व्यापारिक प्रतिष्ठान लगायतका पूर्वाधार निर्माण गरिसकेको छ । चीन पक्षले अध्यागमन, सुख्खा बन्दरगाह र सुरक्षा पोस्ट राखिसकिएको छ । नेपाल सरकारबाट भने कोरला नाकामा कुनै भौतिक पूर्वाधार निर्माण गर्न सकेको छैन । चीन पक्षका सुरक्षाकर्मी त्यहाँका दश गजा क्षेत्रमा बस्ने गरे पनि नेपाल पक्षका सुरक्षाकर्मी १६ किमी यता न्हेचुङमा छन् ।
नाकाछेउ केही महिनाअघि अस्थायी भवनमा अध्यागन कार्यालय स्थापना गरिएको भए पनि त्यहाँ जनशक्ति र पूर्वाधार नहुँदा अध्यागमनको काम भएको छैन ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया