गणितका अनुसन्धातालाई लघुअनुसन्धान वृत्ति

पोखरा। गणित विषयमा अनुसन्धान गर्नका लागि गणित समाज गण्डकीले लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालेको छ । गत वर्षका अनुसन्धाताले हालैमात्र अनुसन्धान पूरा गरेका छन् । यो वर्षका लागि प्रस्ताव आव्हान गरिएको छ ।
गणित समाज गण्डकी अध्यक्ष डा त्रिभुवन शर्माका अनुसार गणित विषयमा विद्यार्थीलाई र शिक्षकलाई अनुसन्धानमा आकर्षित गराउनका लागि लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालिएको हो । ‘गणित समाजले हरेक वर्ष गण्डकीका २ जनालाई यो वृत्ति प्रदान गर्दै आएको छ,’ उनले भने, ‘अहिलेसम्म ४ जनाले यो वृत्तिको रकम पाएका छन् । आगामी वर्षका लागि अहिले नै प्रस्तावना माग गरिएको छ ।’
अघिल्लो वर्षको वृत्ति पाएका माधवप्रसाद पौडेल र बद्रीप्रसाद पंगेनीले हालैमात्र आफ्नो अनुसन्धान पूरा गरेका छन् । उनीहरुले पूरा गरेको अनुसन्धान हालै सार्वजनिक गरिएको छ । पौडेलले ‘नलीभित्र बगिरहेको तरलमा तापक्रमको असरले वेगमा पार्ने प्रभाव’ र पंगेनीले ‘खर्च न्यूनीकरण प्रवाह मोडलमा क्वान्टम क्यालकुलस’ शीर्षकमा अध्ययन गरेका छन् ।
समाजका अध्यक्ष बरालले गणित विषयमा अनुसन्धानमा आकर्षण गर्न जरुरी रहेको बताए । ‘हामीले हरेक वर्ष कम्तीमा २ नयाँ अनुसन्धान बाहिर ल्याउन सकियो भने पनि यसले शैक्षिक क्षेत्रमा नयाँपन दिनेछ,’ उनले भने, ‘गणित क्षेत्रमा अनुसन्धान आवश्यक छ ।’
अनुसन्धाताले तयार पारेको उक्त अनुसन्धानलाई सार्वजनिक गर्ने कार्यक्रममा विषयविज्ञका रुपमा सहप्राध्यापक डा ईश्वरमणि अधिकारी थिए । पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रममा समाजका सचिव विश्वराज अधिकारी, पूर्वविभागीय प्रमुख राजेन्द्र रेग्मीसहित स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
तपाईको प्रतिक्रिया