आनन्दज्योतिका भूपू विद्यार्थीको शुभकामना

समाधान संवाददाता २०८१ चैत २९ गते १५:३२

पोखरा । भूतपूर्व विद्यार्थी मञ्च, आनन्दज्योति माविले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्दज्योति माविका पूर्वविद्यार्थीहरूको संस्था भूतपूर्व विद्यार्थी मञ्चले बिहीबार विद्यालयमा आयोजित कार्यक्रमका बीच २०८२ सालको भित्तेपात्रो विमोचनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देवेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकततिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक वर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भूमिका खेल्न सक्नुपर्नेमा जोड दिए । ‘केही भएन’, ‘हुँदैन’ जस्ता सोचले समाजलाई झन् बिग्रहमा लैजान सक्ने भन्दै उनले समाजसेवामा अगाडि बढेका पाइलाहरूलाई उत्साहित गराउन सक्नुपर्ने बताए । सामाजिक काममा भूतपूर्व विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणीय रहेको उनको भनाइ थियो ।

अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक स्कूलहरूमा पढ्न पठाउँदा उनीहरूको बालअधिकारकै हनन हुने हो कि भन्ने अवस्था बनेकोप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे ।

Advertisement

मञ्चका संस्थापक तथा निवर्तमान अध्यक्ष नवराज अधिकारीले आनन्दज्योति मा.वि.मा अध्ययन गरेका पूर्वविद्यार्थीलाई गोलबद्ध र संगठित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मञ्चले आफ्ना नियमित गतिविधिलाई निरन्तरता दिँदै आएकोमा खुसी व्यक्त गरे । आफू संस्थापक अध्यक्ष भएको नाताले मञ्चका हरेक काममा पूर्ण साथ रहने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा आनन्दज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीले वार्षिक कार्यक्रमको रूपमा भित्तेपात्रो प्रकाशन गरेर संस्थालाई चलायमान राखेकोमा प्रशंसा व्यक्त गर्दै अझ रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।

Advertisement

कार्यक्रममा आफ्ना भनाइ राख्दै मञ्चका अध्यक्ष विकासप्रसाद कँडेलले भित्तेपात्रो प्रकाशनका लागि आर्थिक तथा नैतिक रूपमा सहयोग गर्ने सबै सहयोगदातालाई आभार प्रकट गरे । मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्रबहादुर सुवेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निवर्तमान सचिव श्रीराम कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्णराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया