‘कोरलाबाट घरायसी सामान ल्याउन रोकिएको छैन’

समाधान संवाददाता २०८१ चैत ३० गते १०:४९

जोमसोम ।
कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरलानाका व्यापार प्रवर्धनसम्बन्धी छलफलमा मुस्ताङ भन्सार कार्यालयले यस्तो जानकारी दिएको हो ।

Advertisement


मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितिमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितमा व्यापार प्रवर्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको सुनाए ।


नाका खुले पनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट आयात गरिने सामानको राजस्व संकलन गर्न समस्या भएको प्रमुख गैरेले उल्लेख गरे । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्था गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै बाधा नपु¥याउने उनको भनाइ छ ।


भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिँदा अवैध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने सुझाव दिए ।


कोरला नाका व्यापार प्रवर्धनसम्बन्धी छलफलमा (नेपाल–चीन) दुई देशबीचको कोरला नाकाबाट सामान ल्याएर व्यापार सुरु गर्ने र स्थानीय व्यापारीको समस्या समाधान गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए ।

Advertisement


नाकाको व्यापार सहजीकरणका लागि भन्सार, अध्यागन कार्यालयको सञ्चालन गर्ने र भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्यालयको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको छ । यस्तै उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकामा स्थानीय व्यापारीलाई सहज रूपमा व्यापार गर्ने कार्यका लागि सहजीकरणको पहल गर्ने निर्णय भएको छ ।


कोरला नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला भएको हो । तर गत पुसमा कोरला नाकाबाट अवैध रुपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि यस नाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको छ । नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आइरहेका उपल्लो मुस्ताङले पछिल्लो ५ महिनादेखि कोरला नाकाबाट सामाना ल्याएर व्यापार गर्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया