केपी ओली कप क्रिकेट: हिमाल फ्रेन्ड्स सेमीमा

समाधान संवाददाता २०८१ चैत ३० गते १८:११


पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेस प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो ।

Advertisement

४ टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तर्गतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १ सय २ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी खेले । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

सन्दीप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रन्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा आउट भए । कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवाष भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १ रन बनायो । कर्णालीका लागि सुवाष भण्डारीले २६ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिए ।
नरेन्द्र सन्जाल र दिपेन्द्र यादव समान ५ रनमा नटआउट रहे । ओपनर अदित्यविक्रम शाह र अरुण ऐरी शून्यमै पेभिलियन फर्किए भने रवीन्द्रजंग शाही १, हिमान्सु शाही ८, राजप्रसाद शाह १ रनमा आउट भए ।

लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजयकुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १/१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित भए ।

Advertisement

दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेसलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिँदासम्म मधेसले ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डिएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेसका ओपनर रोहन विकले ३० रनको योगदान दिएका थिए ।

उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक्युव अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिङ ३ र दिपेश दास १ रनमा नटआउट रहे ।
त्यसअघि, टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा नटआउट रहे । सञ्जय बोहोराले २२ रनको योगदान दिए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ओपनर सुबोध ऐरी ८, सुनम बुढाथोकी, दीपक रोकाया र अभिनाष बस्याल शून्य, सन्दीप भण्डारी ५ तथा मनसुन सिंह ३ रनमा आउट भए । मधेसका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदीप पासवानले समान २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दीपक रोकाया घोषित भए ।

हिमाल फ्रेन्ड्सको ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेस अंकविहीन हुँदै बाहिरियो । प्रतियोगितामा यस अघि काठमाडौं, गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन सोमबार समूह ‘डी’ तर्फको सुन्दर हेरचाह आइसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लबबिच दोस्रो खेल हुने छन् ।

तपाईको प्रतिक्रिया