बन्दीपुरमा ठेलमठेल नेपाली पर्यटक

दमौली । नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।
‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताए ।
यसअघि दैनिक १ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको संख्या बढेर दैनिक २ हजार पुगेको उनले बताए । ‘२ हजार जनाले बास बस्न सक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो २ दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्’, उनी भन्छन् ।
नयाँ वर्ष लक्षित पर्यटक आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिए । ‘नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ,’ उनले भने ।
अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको संख्या वृद्धि भएको उनको भनाइ छ । अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा २ हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् । यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र १ लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताइन् । उनले भनिन्, ‘होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् ।’
यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालित छन् । यहाँ शनिबारदेखि स्थानीय जातका (रैथाने) खाना महोत्सव सुरु भएको छ । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताए । उनले भने, ‘भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छौँ । सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्ने छौँ ।’
महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हण लगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीट्जरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।
बन्दीपुरमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेकामा सो सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायत स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने अध्यक्ष थापाले उल्लेख गरे । रासस
तपाईको प्रतिक्रिया