बेबिलोन जस्तो घाङ्च ल्हुम, जुन ठाउँ तनहुँकै भिमादमा छ

पोखरा । झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको बेबिलोनको झुलन बगैंचा जस्तो । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्धहरु झुलिरहेका देखिन्थे ।
हाइकर्स क्लब नेपालका सदस्यहरुसंस्थाको आयोजनामा त्यहाँ पुगेका हुन् । तीमध्ये कोही तस्बिर खिचाउँदै थिए, कोही सेल्फीमा व्यस्त देखिन्थे । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लबले ५७ शृंखला भिमादको घाङ्च ल्हुममा गरेको हो ।
घाङच ल्हुमसँगै क्लबले यस शृंखलामा यसै क्षेत्रका सिद्ध गुफा र चमेरे गुफालाई पनि समेटेको क्लब अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए । विभिन्न सामाजिक सञ्जालकै माध्यमबाट घाङ्च ल्हुमबारे जानकारी पाएसँगै आफूहरूले यस गन्तव्यलाई समेटेको उनको भनाइ छ ।
‘क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार यस्तै नयाँ नयाँ पर्यटकीय गन्तव्य लक्षित गरी हाइकिङका कार्यक्रम सञ्चालन गरिहेको छ’, उनी भन्छन्, ‘हरेक हाइकिङका कार्यक्रम तत्तत् ठाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण बनेका छन् ।’
अग्ला अग्ला ढुंगा, जसका तल छपक्क मिलाएर ढुंगा छापेर पैदल हिड्ने बाटो निर्माण गरिएको छ भने चराचुरुंगीका लागि ठाउँ ठाउँमा गुँड र पानी खानका लागि सासाना पोखरी बनाइएको छ । पार्क पसिरमा नै काठबाट निर्माण गरिएको चम्राली पिङ पनि छ ।
यहाँ आउने जो कोहीले उक्त दृश्यलाई प्राचीन विश्वका सात आश्चर्यका रुपमा लिइने बेबिलोनको झुलन बगैँचासँग तुलना गर्ने गरेका छन् । इशापूर्व ६ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न निर्माण गरेको झुलन बगैंचाको स्वरुप यस्तै किसिमको रहेको इतिहासका पुस्तकमा राखिएका तस्बिरमार्फत जान्न र बुझ्न पाइन्छ ।
विगतमा प्रचारप्रसार र बुझाइका कारण ओझेलमा परेको यो गन्तव्यलाई पछिल्लो समयमा भने संरक्षण र प्रवद्र्धन गर्न थालिएको भिमाद नगरपालिका वडा नं ९ का वडाध्यक्ष रनबहादुर थापाले बताए । मोहरिया स्थित सामुदायिक वनमा अवस्थित घाङ्च ल्हुम वनको भित्री भागमा छ । घाङ्च ल्हुमलाई चिटिक्क पारेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
मगर जातिको बाहुल्य रहेको यो स्थानमा रहेको घाङ्च ल्हुम पनि मगर भाषाकै शव्द हो । मगर भाषमा घाङ्च ल्हुमको अर्थ अग्लो ढुुंगा हुन्छ । अग्ला ढुंगाहरु रहेकै कारण यसलाई घाङ्च ल्हुम भनिएको यहाँका स्थानीय बताउँछन् । ढुंगालाई चटक्क सिंगारेसँगै विगतमा उपेक्षा गरिएका यी ढुंगाले देश विदेशका मानिस आकर्षित गर्दा आँफूहरू निकै खुसी बनेको स्थानीय भक्तबहादुर थापाले सुनाए ।
२०७७ सालमा गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय तनहुँले यस स्थललाई पार्कका रुपमा निर्माण गरिदिएको हो । गण्डकी प्रदेशको २० लाख रुपैयाँ सहयोगसँगै स्थानीयको १० प्रतिशत लागत साझेदारीमा निर्माण भएसँगै यो ठाउँले काँचुली फेरेको छ ।
यसलाई बगैंचाको रुप दिन ढुंगावरपरको बुट्यान तथा झाडी फाँडिएको थियो । झाडी फाँडिएसँगै आकर्षण देखिएका अग्ला ढुंगाको बीच तथा वरपर ढुंगा छापेर हिड्ने पैदल मार्ग निर्माण गरिएको छ । परिसरमा धूपीका विरुवा रोप्नुका साथै ढुंगाको बीच बीचमा चराचुरुंगीका लागि गुँड र पानी पिउने साना पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने किसिमको संरचना पनि बनाइएको छ ।
यी सबै दृश्यका कारण पछिल्लो समयमा यो स्थान सामाजिक सञ्चालमार्फत चर्चामा आएको हो । भिमाद बजारबाट १३ किलोमिटरमा रहेको यो ठाउँसँगै चमेरे गुफा एवम् सिद्ध गुफाको पनि प्रवद्र्धनात्मक भ्रमण गरिएको हाइकर्स क्लब नेपालका सदस्य एवं सामाजिक सञ्जाल संयोजक पितम शेन ठकुरीले बताए ।
मोहोरिया क्षेत्रका घाङ्च ल्हुमसँगै सिद्ध गुफा र चमेरे गुफालाई व्यवस्थित गर्न सकेमा यहाँ ठूलो संख्यामा पर्यटक ल्याउन सकिने उनले औंल्याए । भिमाद क्षेत्रमा रहेका धेरै गन्तव्यहरु प्रवद्र्धनको पर्खाइमा रहेको यहाँका स्थानीय बताउँछन् ।
घाङ्च ल्हुम, सिद्ध गुफा, चमेरे गुफा, पाथर्दी झरना जस्ता धेरै स्थलको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चूडामणि खनाल बताउँछन् । पर्यटकीय स्थलको प्रवद्र्धनसँगै पर्यटक आगमन बढाउन सके त्यसले स्थानीय उत्पादन बजारीकरणसँगै स्वरोजगार अभिवृद्धिमा टेवा पु¥याउनेछ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया