‘प्रहरी पहिलो न्यायाधीश’

समाधान संवाददाता २०८२ वैशाख १ गते १९:०३

पोखरा । नयाँ वर्ष २०८२ को अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा २०८२ सालको भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लागुऔषध रोकथाम नियन्त्रणका लागि प्रहरीको गस्ती बढाउन भन्दा पनि सूचनाको अभाव भएको बताए । ‘बसपार्क आसपासका क्षेत्रमा लागुऔषध, बेश्यावृत्ति हुन सक्छ,’ उनले भने, ‘त्यसको नियन्त्रणका लागि ५० प्रहरी परिचालन गरेर काम छैन । त्यस्ता व्यक्ति प्रहरी परिचालन गर्ने बित्तिकै साइड लाग्छन् । त्यस्ता घटनामा प्रहरीले सूचनाको अपेक्षा गरेका छौं ।’

उनले स्थानीय समुदायलाई आएको सूचना प्रहरीलाई दिन आग्रह गरे । गण्डकी प्रदेशका जिल्लामध्ये कास्कीमा धेरै मुद्दा दर्ता भएको जानकारी दिदै उनले नेपाल प्रहरी र स्थानीय समुदायको सहभागितामा विकृति, विसंगति न्यूनीकरण गर्न सकिने बताए । उनले पृथ्वीचोक, बसपार्क, महेन्द्रपुल न्युरोड नयाँबजार लगायत महत्वपूर्ण व्यापारिक स्थल पर्ने पोखरा ९ शान्ति सुरक्षाको दृष्टिले संवेशनशील क्षेत्रमा पर्ने उल्लेख गरे ।

Advertisement

फरक प्रसंगमा प्रहरी उपरीक्षक ओलियाले नेपाल प्रहरी पहिलो न्यायाधीश भएको बताए । धेरै जसो अपराधिक घटनामा अभियुक्तलाई मुद्दा चलाउने कि नचलाउने विषयमा पहिलो निर्णय गर्ने अधिकार प्रहरीलाई भएको उनले उल्लेख गरे । उनले प्रहरी मुद्दामा पहिलो निर्णय गर्ने निकाय भएकाले सकभर विवेक प्रयोग गर्ने जनाए ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाएको दाबी गरे । कार्यालय प्रमुख शुद्ध भए ५० प्रतिशत शुद्धिकरण हुने उनले उल्लेख गरे ।

पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बनावटीभन्दा मुल जड पहिचान गरेर गरेको कार्यक्रम प्रभावकारी हुने बताए । सामुदायिक सेवा केन्द्रले समाजप्रति उत्तरदायी भएर काम गरेको उल्लेख गर्दै उनले मानवीय विकासको क्षेत्रमा सामाजिक संघ, संस्थासँग वडा कार्यालयले सहकार्य गर्ने जनाए ।

Advertisement

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले विकृति, विसंगति न्यूनीकरण गरी समुन्नत र स्वस्थ समाज निर्माणमा सेवा केन्द्रले भूमिका खेलेको बताए ।

‘विकृति, विसंगति रहित समाजको निर्माण, सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कमलबहादुर श्रेष्ठ, सचिव उत्तम जोशी, कार्यक्रम संयोजक रोशन मानन्धर, पार्वती टोल विकास आमा समूहका अध्यक्ष लेखमाया थापा, वडा बाल मञ्च पोखरा ९ का अध्यक्ष परी बस्नेत लगायतले शान्ति, सुरक्षा अपराध रोकथाम नियन्त्रणमा सामुदायिक सेवा केन्द्रको भूमिकाबारे बोलेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रको कार्यक्षेत्र रहेको पोखरा महानगरपालिका वडा नं. ८, ९, १० र १५का जनप्रतिनिधि, स्थानीय आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया