इन्फोम्याक्स कलेजको अत्याधुनिक भवन शिलान्यास

समाधान संवाददाता २०८२ वैशाख ४ गते १०:५१

पोखरा ।
सूचना प्रविधि र व्यवस्थापन शिक्षामा योगदान गर्दै आएको इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्टले दीर्घकालीन शैक्षिक लक्ष्यलाई ध्यानमा राख्दै पोखरामा अत्याधुनिक शैक्षिक भवन निर्माण अघि बढाएको छ । बुधबार कलेजका प्रिन्सिपल सुशील अधिकारीले चार तले भवन शिलान्यास गरे ।


कलेजका सल्लाहकार नारायण पौडेलले प्रतिभा फाउन्डेसनसँगको संयुक्त लगानीमा निर्माण हुन लागेको यो भवनले कलेजको भौतिक पूर्वाधारमात्र होइन, शिक्षण परिकल्पनालाई पनि नयाँ उचाइमा पु¥याउने बताए । करिब २६ करोड लागतमा निर्माण हुने उक्त भवन ५ रोपनी क्षेत्रफलमा हुनेछ । जसमा मोडन भवन, प्रयोगशालाहरू, पुस्तकालय, क्यान्टिनसहित फुटसल, ब्याडमिन्टन र बास्केटबल कोर्टसमेत हुने छन् ।


प्रिन्सिपल अधिकारीले भने, ‘अब प्रविधिले संसारलाई चलाइरहेको छ । सूचना, प्रविधिको युगमा प्रतिस्पर्धा गर्न विद्यार्थीलाई केबल किताबी ज्ञान पर्याप्त छैन, विश्वस्तरीय पूर्वाधार र वातावरण चाहिन्छ ।’ सन् २००५ मा स्थापना भएको इन्फोम्याक्स कलेजमा चार सयभन्दा बढी विद्यार्थी छन् ।

Advertisement


बढ्दो चापसँगै आगामी दिनमा १ हजार ५ सय विद्यार्थीलाई अध्यापन गर्ने सक्ने क्षमताको पूर्वाधार निर्माण गर्न लागिएको छ । कलेजले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपियु) मलेसियासँगको सहकार्यमा बिएस्सी आइटी र एमबिएसञ्चालन गर्दै आएको छ । ‘संसारभरिका ४० हजार विश्वविद्यालयमध्ये क्युएस विश्व र्‍याङकिङमा ६११ मा पर्न सफल भएको छ,’ प्रिन्सिपल अधिकारीले भने, ‘हामी थप स्तरीय शिक्षा पोखरामै उपलब्ध गराउने लक्ष्यमा छौं ।’


इन्फोम्याक्स कलेजमा अहिले अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, खेलकुद सामग्री र अतिरिक्त क्रियाकलाप सञ्चालनमा छन् । अब नयाँ शैक्षिक सत्रबाट नयाँ भवनबाटै पढाइ सुरु गरिने प्रिन्सिपल अधिकारीले बताए । ‘नयाँ भवन बनाउन ८ महिना लाग्ने अनुमान गरिएको छ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया