तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
दमौली ।
शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ ।
नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
नगरले यहाँ कल्भर्ट निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेपनि रु २२ लाख १० हजार २५० मा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । कल्भर्टको लम्बाइ २० मिटर रहेको छ ।
कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उनले विश्वास व्यक्त गरे। उनले भने, “यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो । सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो ।”
बर्सेनि बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हुँदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताए । उनले भने, “खोला बढ्दा पनि सहज रुपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ ।” नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याका बारेमा बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गरे ।
कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताए । उनले भने, “यहाँ कल्भर्ट नहुँदा जनताले पाएको दुःखबारे जानकारी प्राप्त हुनासाथ हामीले आन्तरिक बजेट विनियोजन गरेर काम अगाडि बढायौँ । म्याद अगावै काम पनि सम्पन्न भयो ।” उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको बताए ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया