कक्षा १२ को परीक्षा यथासमयमै हुने, तयारीमा जुट्न आग्रह

पोखरा । शिक्षकहरूको आन्दोलनले परीक्षा अन्योलमा पर्ने चर्चा चलिरहेका बेला राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने स्पष्ट पारेको छ। मङ्गलबार बसेको बोर्ड बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै परीक्षा वैशाख ११ गतेदेखि तय भएकै मितिमा सञ्चालन हुने जानकारी दिए । उनले साढे पाँच लाख विद्यार्थीको भविष्यसँग सम्बन्धित भएकाले परीक्षा समयमै र सुव्यवस्थित ढंगले सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरिएको बताए ।
“परीक्षा केन्द्रहरू पहिल्यै निर्धारण भइसकेका छन्। केन्द्र रहेका विद्यालयहरूलाई तयारीमा लाग्न भनिएको छ,” अध्यक्ष शर्माले भने, “सबै जिल्लाका परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको छ कि परीक्षा केन्द्र रहेका विद्यालयहरूमार्फत तयारी अघि बढाइयोस्।”
शिक्षकहरूले आन्दोलनका कारण परीक्षामा संलग्न नहुने बताइरहेका बेला परीक्षा हुने-नहुनेबारे अन्योलता देखिएको थियो। तर बोर्डको निर्णयपछि अब परीक्षा तोकिएकै तालिकाअनुसार हुनेछ भन्नेमा स्पष्टता आएको छ।
बोर्डले विद्यार्थी, विद्यालय र स्थानीय तहसँग सहकार्य गर्दै परीक्षा सञ्चालनमा कुनै बाधा नआउने गरी तयारीमा जुट्न सबैलाई आग्रह गरेको छ। “यो पाँच लाखभन्दा बढी विद्यार्थीको भविष्यको सवाल हो। त्यसैले सबै पक्ष गम्भीर भएर जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिकामा जुट्नुपर्छ,” अध्यक्ष शर्माले भने ।
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि देशभरका परीक्षा केन्द्रहरूमा एकसाथ सुरु हुँदैछ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया