कागबेनीमा श्राद्धस्थल ट्रसघर

समाधान संवाददाता २०८२ वैशाख ११ गते १६:५४

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा निर्माण गरेको चेन्जिङ रुमसहितको ‘श्राद्धस्थल ट्रसघर’ नेपाली सेनाले बुधबार हस्तान्तरण गरिएको छ ।

Advertisement


नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि मधुकरसिंह कार्कीले ट्रसघर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।


भक्तजन र स्वदेशी तथा विदेशी पर्यटक लक्ष्य गरी नेपाली सेनाले शीघ्रप्रभावी योजना अन्तर्गत ट्रसघर निर्माण गरेको नेपाली सेनाको नारायण दल गण जोमसोमका प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिए । स्थानीय तह, कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र स्थानीबासीको समन्वय र सहकार्यमा उक्त ट्रसघर निर्माण भएको प्रमुख सेनानी कटुवालले सुनाए ।


नेपाली सेनाबाट विभिन्न नागरिक सैनिक सञ्चालनका लागि पश्मिम पृतना हेडक्वाटरबाट बजेट विनियोजन भई श्राद्धस्थल ट्रसघर निर्माण गरिएको प्रमुख सेनानी कटुवालले बताए ।


नारायण दल गण जोमसोमबाट ४९ दिनसम्म दैनिक १५ जना जनशक्ति परिचालन गरी ट्रसघर निर्माण भएको हो । योसँगै कागबेनी धाममा दिवंगत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आउने तीर्थयात्रीहरुलाई सहज हुने विश्वास गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया