गण्डकी प्रदेशका १३ सहकारी खारेज

पोखरा ।
गण्डकी प्रदेशका सहकारी रजिस्ट्रारको कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारअन्तर्गत १३ सहकारी संघ÷संस्थाको दर्ता खारेज गरेको छ । यी सहकारी संघहरूमध्ये एक उपभोक्ता संघ र अन्य १२ वटा वित्तीय तथा कृषि आधारित सहकारी संस्थाहरू सामेल छन् ।
लगातार २ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेकाले रजिस्ट्रारको कार्यालयले उनीहरूको दर्ता खारेज गर्ने निर्णय लिएको हो । सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार गण्डकी प्रदेशका सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) अनुसार कुनै सहकारी संस्थाले लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहनु भनेको उसले कुनै पनि व्यावासिक गतिविधि नगरेको भन्ने हो । यसै कारण, यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानूनी प्रावधान अनुकुलमा कार्यालयले १३ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
अनुगमनका क्रममा यी सहकारी संस्थाहरूले आफूले कानूनी प्रावधान अनुसार अनिवार्य रूपमा अद्यावधिक विवरण तथा प्रतिवेदन पेश नगरेका थिए । यसकारण, उक्त सहकारी संघसंस्थाहरूलाई खारेज गरिएको हो । कार्यालयले खारेज गरिएका सहकारी संस्थाको दर्ता प्रमाणपत्रलाई स्वतः रद्द गरिदिएको छ ।
रजिस्ट्रार रिजालले यस निर्णयलाई सहकारी सुदृढीकरणका लागि आवश्यक कदमको रूपमा देखेका छन्। उनले भने, ‘निष्क्रिय सहकारीलाई अद्यावधिक गरी सक्रिय र क्रियाशील राख्न खारेजी अत्यन्त जरुरी छ । यसले सहकारीको गुणस्तर र प्रगतिमा सुधार ल्याउनेछ ।’
खारेज गरिएका सहकारी संस्थाहरूको सञ्चालनमा कुनै दायित्व, लेनदेन वा ऋण भएमा, त्यसको जिम्मेवारी सम्बन्धित सहकारी संस्थाका सञ्चालक र पदाधिकारीहरूलाई नै लिनु पर्ने कुरा कार्यालयको सूचनामा उल्लेख गरिएको छ । यसमा सहकारी संस्थाका सेयर सदस्य र अन्य सरोकारवालाहरूलाई पनि सूचित गरिएको छ । उनीहरूले खारेज गरिएका सहकारी संस्थासँगको कुनै दायित्व भएमा सम्बन्धित सञ्चालक वा पदाधिकारीसँग सम्पर्क राख्नुपर्नेछ ।
खारेज गरिएका सहकारी संस्था
क्र.स. | सहकारी संघसंस्थाको नाम | ठेगाना |
---|---|---|
१ | ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. | पोखरा महानगरपालिका १, कास्की |
२ | पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लि. | पोखरा महानगरपालिका ९, कास्की |
३ | मर्दी हिमाल कृषि सहकारी संस्था लि. | माछापुच्छ्रे गाउँपालिका ८, कास्की |
४ | अजम्बरी कृषि सहकारी संस्था लि. | साविक रानीपोखरी–३, तनहुँ |
५ | उपभोक्ता सहकारी संघ लि. तनहुँ | व्यास नगरपालिका ११, तनहुँ |
६ | माझकोट उपभोक्ता सहकारी संस्था लि. | भीमाद नगरपालिका ४, तनहुँ |
७ | लघुउद्यम कोसेली घर सहकारी संस्था लि. | बेशीसहर नगरपालिका १, लमजुङ |
८ | गोरखा सूचना तथा सञ्चार सहकारी संस्था लि. | गोरखा नगरपालिका ३, गोरखा |
९ | जनता सूचना तथा सञ्चार सहकारी संस्था लि. | गोरखा नगरपालिका ४, गोरखा |
१० | नागरिक बचत तथा ऋण सहकारी संस्था लि. | साविक मसेल–६, गोरखा |
११ | सत्यनारायण बचत तथा ऋण सहकारी संस्था | गोरखा नगरपालिका ५, गोरखा |
१२ | सहयोगी कृषि सहकारी संस्था लि. | साविक आरुपोखरी–१, गोरखा |
१३ | सारथी सूचना तथा सञ्चार सहकारी संस्था लि. | बडिगाड गाउँपालिका २, बागलुङ |
तपाईको प्रतिक्रिया