खेलकुद संघलाई प्लास्टिक बोतल बिन सहयोग

समाधान संवाददाता २०८२ वैशाख १७ गते १६:२४

पोखरा ।
पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लास्टिक बोतल संकलन बिन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लास्टिकका बोतलहरू संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल बिन हस्तान्तरण गरिएको हो ।

Advertisement


हिमालयन लाइफ प्लास्टिक प्रालिको तर्फबाट पोखरा रंगशाला फोहर संकलनका लागि एक थान प्लास्टिक बोतल संकलन बिन हस्तान्तरण गरिएको छ । अन्य बिन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र कास्की जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष मिलन गुरुङ, सचिव अञ्जु केसी र कार्यालय प्रमुख सुनबहादुर लामाले हस्तान्तरण गरेका थिए ।


बोतललाई पुनःप्रयोग गर्न यो योजना अघि बढेको हो । विशेषगरी प्लास्टिकका बोतलहरू ल्यान्डफिल साइटमा नजाने गरी यो योजना अघि बढेको हो । उक्त बिनमा बोतलको ढकन राख्ने र बोतल राख्ने अलग–अलग ठाउँ छन् ।


हिमालयन प्लास्टिक र युएनडिपीको तर्फबाट योन्सियो ओह र जिसिआरयु परियोजनाबाट सशी थापाको समेत सहभागिता रहेको थियो । बोतल बिन उपलब्ध गराएकोमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखराभित्र फोहर संकलनका लागि गरिएको सहयोगले वातावरणलाई समेत सफा राख्न मद्दत गर्ने बताए ।

उनले रंगशालाभित्र विभिन्न गतिविधि निरन्तर हुने र त्यहाँ प्लास्टिकजन्य बोतलको प्रयोग तथा व्यवस्थापनमा चुनौती रहेको समयमा बोतल बिनले व्यवस्थापनमा टेवा पुग्नेमा आशावादी रहेको बताए । रंगशालामा एक–दुई थानले मात्र नपुग्ने भन्दै थप व्यवस्थापनका लागि अन्य बिन समेत ल्याउन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया