अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की

समाधान संवाददाता २०८२ वैशाख १७ गते १६:३२

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ ।

Advertisement


पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कार्कीले पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको पनि बताए ।


पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यावसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताउँदै उनले अगाडि भने, ‘हामी निजी क्षेत्रको हितमात्र हेर्दैनौँ, समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल छौँ ।’

Advertisement


अध्यक्ष कार्कीले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीहरुको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे । ‘कोरोलामा नेपालतिर खासै भौतिक संरचना बनेका छैनन् तर चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आउँदै छ ।’


सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयातमात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी/व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे ।


पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको सञ्चालन रहेको कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ, नवीन नापित लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया