रेडक्रस कास्कीको विपद् सिकाई सहितको गोदामघर

समाधान संवाददाता २०८२ वैशाख १७ गते १८:४४

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय परिसरमा विपद् सिकाई केन्द्र सहितको व्यवस्थित गोदाम घरको निर्माण कार्य सुरुवात भएको छ ।

Advertisement

पोखरा महानगर पालिका लगायत अन्य दातृ निकाय र आन्तरिक श्रोतमा विपद् सिकाई केन्द्र सहित गोदाम घरको निर्माण प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ८का अध्यक्ष रुद्रनाथ बरालले बुधबार गोदाम घरको शिलन्यास गरे ।

करिब ८५ लाखको लागतमा २ तले गोदाम घर बनाउन लागेको हो । गोदाम घरको लागि पोखरा महानगरपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । निर्माण कम्पन्नी एसबी कन्ट्रक्सन पोखरा १५ले भवन निर्माणको जिम्मेवारी पाएको छ । काम सुरु भएको २ सय दिनमा भवन सम्पन्न गर्ने योजना छ । तल्लो तला घोदामको लागि हल र माथिल्लो तलामा ४ कोठा हुने रेडक्रस कास्कीका उपकोषाध्यक्ष तथा भवन निर्माण उपभोक्ता समितिका संयोजक कालीदास सापकोटाले जानकारी दिए ।

वडा अध्यक्ष बरालले विपद् व्यवस्थापनको क्षेत्रमा रेडक्रसले नमुना काम गरेको बताए । विपद् पछिको राहत तथा उद्वारको क्षेत्रको कामले रेडक्रसलाई चिनाएको उल्लेख गर्दै उनले रक्त तत्वको संकलन, भण्डारण र वितरणको काम गर्ने संस्था रेडक्रस मानवीय सेवाको क्षेत्रको अग्रणी संस्था भएको जनाए । गोदाम घर निर्माणको लागि सहयोग जुटाउन धेरै क्षेत्रमा लविङ गरेको चर्चा गर्दै उनले सबै काम वडा कार्यालयको सिफारिसमा गर्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितहरुको राहात तथा उद्दारको लागि रेडक्रस कास्कीले विपत राहत कोष खडा गरेको भएता पनि गोदाम घर नहँुदा काम गर्न कठिनाई भएको जानकारी दिइन् । विपत व्यवस्थापनका लागि शाखा अन्तर्गतका सञ्जाल मार्फत पूर्व तयारी, न्यूनिकरण, विपद् प्रतिकार्य, राहत तथा उद्दारको काम भएको जानकारी दिदै उनले रेडक्रस कास्कीले १ सय घर परिवारलाई तत्कालै राहत दिन सक्ने बताइन् ।

Advertisement

कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपानेले जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको क्षेत्रलाई १० क्लष्टरमा विभाजन गरेर काम गर्ने जनाइन् । उनले १० क्लष्टर मध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् ।

रेडक्रसका कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले विपत व्यवस्थापन चक्रका सबै चरण, विपद् पूर्व तयारी, प्रभावितहरुलाई सहयोग तथा मानवीय सेवा उपलब्ध गराउन उपशाखाहरुले समेत विपद् राहत कोषको व्यवस्था गरेको जानकारी दिए । पोखरा महानगरको २० लाख वाहेक गोदाम घरको लागि अफै श्रोत सुनिश्चित बन्न नसकेको जानकारी दिदै उनले भवनको लागि संघ प्रदेश र दातृ निकायसँग समन्वय गरेको बताए । उनले पोखरा महानगरपालिका ८ नम्बर वडा कार्यालयले विगतमा प्रादेशिक रक्त सञ्चार सेवाको लागि ८ लाख बराबरको ४ थान अत्याधुनिक रक्तदाता कुर्ची (व्लड डोनर चियर) प्रदान गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया