पर्वतको कुश्मास्थित विद्यालयकै छात्रवासमा     दृष्टिविहीन छात्र मृत फेला   

समाधान संवाददाता २०८२ वैशाख १७ गते १९:२३

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन् ।    
    
विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की बुधबार बिहान मृत फेला परेका हुन् ।    
    
पुरूष छात्रवासमा एक्लै रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन् । शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी भने घर गएका थिए ।    
    
छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रबासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ ।    रासस

Advertisement

तपाईको प्रतिक्रिया