सम्पादकीय—आन्दोलन र प्रेस

अहिले जारी शिक्षक आन्दोलनमा शिक्षक र प्रहरीबीच झडप हुँदा एक पत्रकार घाइते भएकी छन् । प्रदर्शनकारी शिक्षकमाथि लक्षित गरी प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट टेलिभिजन पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको हो । चिकित्सकका अनुसार आँखाको अवस्था कस्तो हुन्छ भन्ने अझै भन्न सकिने अवस्था छैन । रिपोर्टिङ गर्न पुगेकी पत्रकार कार्कीमाथि भएको यो आक्रमणको चर्काे भत्र्सना भइरहेको छ ।
नेपाल पत्रकार महासंघसहित पत्रकारसँग सम्बन्धित संघसंस्थाले आपत्ति जनाएका छन् । उपचार, क्षतिपूर्ति, दोषीमाथि कारबाहीदेखि प्रेस स्वतन्त्रता ग्यारेन्टीसम्मको माग भइरहेको छ । राजधानी उपत्यकामै १ महिनाअघि १ पत्रकारको ज्यानै गएको थियो । राजावादीको आन्दोलनका क्रममा फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिच्न पसेको घरमै आगलागी हुँदा पत्रकार रजकको मृत्यु भएको थियो । त्यही आन्दोलनमा अरू केही पत्रकार घाइते भएका थिए ।
राजावादी आन्दोलनकारीले ठूला सञ्चार माध्यमहरूकै कार्यालयमा आगजानीको प्रयास गरे । यी २ घटनाबाट राजधानीमा जारी प्रदर्शनमा पत्रकार सुरक्षित नरहेकै निष्कर्षमा पुग्न सकिन्छ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको अभिव्यक्तिले झनै चिन्ता थपेको छ । शर्माले अहिले ‘पत्रकारको पहिचान हुँदा पनि सुरक्षित नहुने र पहिचान नहुँदा पनि सुरक्षित नहुने परिस्थिति रहेको बताएकी छन् । ।
पत्रकारको पहिचान नहुँदा असुरक्षा हुनु अस्वाभाविक होइन, तर पत्रकारको पहिचान हुँदा असुरक्षाको अनुभूति हुने कुरा गम्भीर छ किनकि प्रेस असुरक्षित र स्वतन्त्र नरहेको संकेतका रूपमा हामीले त्यस्तो अवस्थालाई बुझ्न सक्छौं । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वातावरण निर्माण राज्यको दायित्व हो । प्रस्ट परिभाषाकै कुरा गर्ने हो भने, सरकारको मूल दायित्व हो । केही दिन अगाडि मात्र आफ्ना बारेमा आएका समाचारलाई लिएर सरकार प्रमुखले नै आमसञ्चार माध्यमप्रति अविश्वास सिर्जना हुनेगरी बोलेका थिए ।
अहिले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वातावरण देखिँदैन । यो भनेको हाम्रो लोकतन्त्र कमजोर हुनु हो । किनकि स्वतन्त्र प्रेस र पत्रकारको सुरक्षा लोकतन्त्रको अनिवार्य शर्त हो । यसतर्फ राजनीतिक नेतृत्व सचेत बन्न जरुरी छ । लोकतन्त्रमा सरकारका मुख्य तीन अंग हुने विश्वव्यापी मान्यतालाई स्वकारिएको छ । कानुनी मान्यता नभए पनि प्रेसले चौथो अंग जसरी निर्वाह गर्दै आएको भूमिकालाई नकार्न सकिन्न ।
राजनीतिक दल, आन्दोलनकारीसहित समाजका सबैजसो तप्कामा अरु पक्षमा जस्तै पत्रकारबारे द्वैध भूमिका देखिन्छ । आफू, आफ्ना गतिविधिको प्रचारप्रचार भए, मिडियामा आए प्रेसलाई राम्रो मान्ने र नराम्रा कुरा, कमजोरी आए उछितो काढ्ने, कुटपिट गर्ने, धम्की दिनेसम्मका गतिविधि देखिन्छन् । एक्काइसौं शताब्दीको गणतन्त्रका लागि यो सुहाउँदो परिस्थिति होइन । पत्रकारिताका मान्यतालाई आत्मसात् गर्दै प्रेस जगतले निर्भयपूर्वक काम गर्न सक्ने वातावरण सिर्जना गर्नैपर्छ ।
तपाईको प्रतिक्रिया