लेकसाइड जाने बाटोका भित्तामा आकर्षक चित्रहरु

समाधान संवाददाता २०८२ वैशाख १८ गते १६:१४

अमिता परियार/सेलिना सिलवाल

Advertisement

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तो पर्यटकीय स्थलहरुको चित्रहरुले रंगिएको छ । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट संघको सहकार्यमा उक्त भित्तामा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रमिक दिवसको अवसरमा बिहीबार ती चित्रहरु अनावरण गरे । पर्यटन राजधानी पोखराको सौन्दर्यीकरणसहित पर्यटन प्रवद्र्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने प्रमुख आचार्यले बताए । पोखराबाट देखिने हिमालय शृंखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायत प्रतिबिम्बहरू बनाइएको छ ।

चित्र कोरेका कलाकाहरु रमेशकुमार राई, शिवबहादुर अधिकारी, मनोजकुमार विक, बलबहादुर राई, शिव थापा, लाल कार्की, मोहमुद खान, रामकुमार बतास, राज लामा, शिव सेर्पाली, युवराज बस्ताकोटी, राजु नेपाली र तेजबहादुर शाहीलाई कार्यक्रममा सम्मान गरिएको थियो । भित्ते चित्र कोर्ने सामग्री किन्ने खर्च स्वरुप कलाकारहरुलाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको र अरु आवश्यक योगदान कलाकारहरुले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए ।

Advertisement

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आवश्यकता अनुसार यस्ता चित्रहरु अरु ठाउँमा पनि कोरिने सुनाए । पुष्पलाल पार्क व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त बरालले पर्यटकहरुको सम्मान गरिनुपर्ने खाँचो औंल्याए । पुम्दीकोट विशाल महादेव मूर्ति स्थापनाकर्ता तथा समाजसेवी चन्द्रकान्त बरालले पर्यटकसँग सम्बन्धित रहने ट्याक्सी चालकदेखि होटल व्यवसायीलाई पर्यटक सत्कारको तालिम आवश्यक भएको विचार राखे ।

कमर्सियल आर्टिस्ट संघका अध्यक्ष रमेश राईले महानगरपालिकासँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए । नागरिक अगुवा रामबहादुर पौडेलले भित्तामा कोरिएका चित्रबाट सौन्दर्य बढाउने काम भइरहेको विचार राखे ।

तपाईको प्रतिक्रिया