सम्पादकीय—श्रमको सम्मान गरौं

नेपालको संविधानको मौलिक हक र कर्तव्यमा आम श्रमिकका अधिकार सनिश्चित गरिएको छ । सबै नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षाको व्यवस्था भएको छ । २०७५ सालदेखि सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २१ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् ।
‘परिपूर्ण लोककान्त्रिक गणतन्त्रको निरन्तरता, श्रमजीवी वर्गको सम्मान,समृद्धि र सिर्जनशीलता’ भन्ने नाराका साथ मे दिवस १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । श्रमिकहरु आफ्नो हक, अधिकार र मुद्दामा एकआपसमा ऐक्यवद्धता जनाउँदै श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका जागरुक बन्न पर्छ । त्यसको लागि श्रमिकहरु सचेत र संगठित हुनु आवश्यक छ । मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सिपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा ध्यान दिन पर्छ ।
ऐतिहाँसिक पृष्ठभूमि हेर्दा श्रमिकको अवस्था नागरिक सरहको थिएन । श्रमिकलाई बस्तुको दर्जामा राखेर हेरिन्थ्यो । सामन्ती राज्य व्यवस्था र रोगजारदाताको विपक्षमा बोल्नु दुस्सायस हुन्थ्यो । काम गर्नेमाथि काम लगाउनेको ज्यादतिका बिरुद्ध सन १८८६मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलन माथि भएको चरम दमनका स्मरण गर्दै ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको माग सहित सन १८९०मा आन्दोलन सफल भएपछि श्रमिक आन्दोलनले व्यापकता पाएको छ । नेपालमा विक्रम सम्बत २००३मा विराटनगर जुट मिलमा पहिलो पल्ट संगठित मजदुर आन्दोलन सुरु भयो । क्रमशः नेपालमा २००७ सालदेखि श्रमिक दिवस मनाइने गरिएको छ ।
नेपालको हरेक राजनीतिक परिवर्तननमा आम श्रमजीवीको योगदान छ । नेपालमा राजतन्त्रको समुल अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना देखि हरेक राजनीतिक परिवर्तन तथा शासन व्यवस्थालाई फेर्न योगदान पुर्याएका आम नेपाली श्रमिकले नेपालका राजनीतिक दल तथा राज्यबाट उचित हिस्सा पाउन सकेका छैनन् । श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यक हो । शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रको उचित रुपमा सम्बोधन गर्दै सम्मानित सुरक्षित श्रम जीवन, स्वास्थ्य नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यन्वयन गर्नु पर्छ ।
खासगरी श्रमिकको आन्दोलन श्रमिकलाई बस्तुबाट मानवमा रुपान्तरण गर्ने अभियानसँग जोडिएको छ । श्रमिकको गुम्दै गरेको अधिकारको रक्षा गर्दै थप हक र अधिकारको सुनिश्चितका लागि श्रमिक एकताको आवश्यकता छ । नेपाली श्रमिकले श्रम ऐनमा व्यवस्था भए अनुसारको नियुक्ति सेवा सुविधा पाउन एक जुट भएर लाग्नु पर्छ । त्यस्तै श्रमको सम्मान गरी श्रमिकले सम्मानित, सुरक्षित र समृद्ध जीवन यापन गर्नको लागि श्रमिकको एकता आवश्यक पर्छ ।
तपाईको प्रतिक्रिया