रुपाको न्यायिक समितिमा १०६ मुद्दा

पोखरा ।
रुपा गाउँपालिकाको न्यायिक समितिमा विभिन्न प्रकृतिका १ सय ६ मुद्दा दर्ता भएका छन् । २०७४ देखि हालसम्म ८ वर्षको अवधिमा उक्त संख्यामा मुद्दा दर्ता भएका हुन् ।
न्यायिक समितिको आयोजनामा बुधबार भएको ‘समितिद्वारा सम्पादित कार्यहरू तथा भावी कार्ययोजना’ विषयक सरोकारवाला र पत्रकारसँग संवादमा दर्ता भएका मुद्दामध्ये १६ वटा मुद्दाको निरुपण भइसकेको जानकारी दिइयो । न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार ७७ वटा मुद्दामा मेलमिलाप भएको छ ।
४ वटा फिर्ता भएको, ३ वटा तामेलीमा र ४ वटा मुद्दा मुद्दा प्रक्रियामा रहेको उनले जानकारी दिइन् । उपाध्यक्ष गुरुङले आफूहरुको निरन्तरको माग अनुरूप गण्डकीका ७० वटा पालिकाले कानुनी सहजकर्ता पाएको उनले बताइन् । जसका कारण न्यायिक समितिलाई सहज भएको उनको भनाइ छ ।
समय समयमा गर्ने जनचेतनाका कारण पालिकामा मुद्दा कम परेको उपाध्यक्ष गुरुङ बताउँछिन् । न्यायिक समितिका कारण सामान्य प्रकृतिका विवाद पालिकामै समाधान भएको, मेलमिलाप पद्धतिबाट देवानी प्रकृतिका समस्या, बालबालिका पालनपोषण, घर व्यावहारको विवाद समाधान गरिएको उनले सुनाइन् । जसका कारण सराकारवालाको समय र पैसा समेत बचत भएको उनको भनाइ छ ।
आगामी दिनमा न्यायिक समितिको काम, कारवाहीसम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गर्ने, सरोकारवालालाई कानुनी चेतनामूलक कार्यक्रम गर्ने, संरक्षणात्मक आदेशका लागि बजेट विनियोजन गर्ने, पीडित राहतकोष स्थापना गर्ने, अन्य पालिकाका कार्ययोजना अध्ययन गरी समितिमा एकरुपता कायम गर्ने उनको योजना छ ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकामा न्यायिक समितिले राम्रो काम गरिरहेको बताए । उनले पालिकालाई न्याय निरुपणमा सशक्त बनाउन विभिन्न सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गरिरहेको सुनाए । समय समयमा जिल्ला अदालतको टोलीलाई गाउँपालिकामा बोलाएर प्रशिक्षण लिने काम पनि भइरहेको उनले जानकारी दिए ।
ओझाले स्थानीय सरकारले साना विकासका काम र सेवाप्रवाहको काम गर्ने चर्चा गर्दै पहिलो कार्ययकालमा बाटो, पानी र पूर्वाधारमा जोड दिएको अध्यक्ष ओझाले बताए । उनले पालिका मासु, अण्डा र दूधमा आत्मनिर्भर बनेको जानकारी दिए । उनका अनुसार रूपामा टेन्डरमार्फत दुई हजार एक सय माहुरीको घार ल्याइएको र २ सय ५० परिवार पूर्ण व्यवसायीक मौरी पालक किसान रहेको बताए ।
रूपामा अहिले वार्षिक ३५ हजार लिटर मह उत्पादन हुुने उनले जानकारी दिए । पालिका न्याय सम्पादनदेखि हरेक कार्यमा अगाडि रहेको उनको भनाइ छ । कार्यक्रममा गरेका काम र मुद्दाको प्रकृतिका बारेमा न्यायिक सहजकर्ता अमिन परियारले प्रस्तुति राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, प्रेस क्लब गण्डकी अध्यक्ष एकराज गिरी र न्यायिक समिति सदस्य बुद्धिमाया गुरूङ लगायतले न्यायिक समितिका कारण स्थानीयलाई सहज भएको बताएका थिए ।
तपाईको प्रतिक्रिया