रुपामा बुद्ध जयन्तीमा मोहोरिया मेला हुने

पोखरा ।
कास्कीको रुपा गाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो ।
‘खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिए ।
भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क तोकिएको थापाले बताए ।
मेलामा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होम स्टेको प्रवद्र्धन गरिने थापाको भनाइ छ । क्लबले विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबले आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया