
जोमसोम ।
मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री भौतिक संरचना थपिने पक्का भएको छ । दर्शनकार्यका लागि पर्याप्त सेवा सुविधा पुर्याउने गरी ५० हजार दर्शनार्थी क्षमताको भौतिक संरचना निर्माण गरिने मुक्तिनाथ विकास समितिले जनाएको छ ।
समितिले मन्दरि परिसरलाई सुव्यवस्थित गर्ने प्रयोजनार्थ मन्दिर क्षेत्रमा दर्शनार्थी लक्षित विभिन्न भौतिक संरचना थप्ने निर्णय गरेको हो । मुक्तिनाथ विकास समिति अन्तर्गत पूर्वाधार विकास कार्यालयको संयोजक रहने गरी सहरी विकास तथा भवन डिभिजन कार्यालय, पुरातत्व विभाग ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जिल्ला समन्वय समितिको प्रतिनिधित्व रहने गरी पूर्वाधार निर्माण उपसमिति यसअघिनै गठन भइसकेको छ ।
समितिले मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीमैत्री पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन पुरा गरी डिजाईन ड्रईङको ड्राफ तयार गरेको पूर्वाधार निर्माण उपसमिति संयोजक पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।
विभागले मुक्तिनाथ गुरुयोजना पाँच वर्षअघिनै सुरु गरेको थियो । गुरुयोजना निकै सुस्त हुँदा दर्शनार्थीलाई निकै समस्या परिरहेकाे छ । दशनार्थी तथा तिर्थयात्रीको सहजीकरणका लागि समितिले पुरातत्व विभागको स्वीकृती लिएर दर्शनार्थी लक्षित आवश्यक भौतिक संरचना निर्माण गर्ने योजना अघि बढाएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका सिडियो विष्णुप्रसाद भुसालले जानकारी दिए ।
‘मुक्तिनाथमा दर्शनार्थीको संख्या वृद्धि भइरहेको छ, हिजोको भौतिक संरचनाले अब थेग्न सक्तैन’, सिडियो भुसालले भने, अब दैनिक ५० हजार दर्शनार्थी क्षमता थेग्न सक्ने पूर्वाधार आवश्यकता छ, यसैका लागि मुक्तिनाथ विकास समितिले नयाँ ढंगले दर्शनार्थीमैत्री पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेका छौं ।’
मुक्तिनाथ विकास संस्थागत रुपमा दर्ता भई गठन भएको १७ वर्ष बितिसक्दा समेत समितिले निस्क्रिय हुँदा मन्दिरमा चढाएको भेटी दान मन्दिर विकासका लागि खर्च हुन सकेको थिएन । समिति संघीय संरचनामा पूनगर्ठन भएको केही महिनामै सिडियो भुसालले मुक्तिनाथको विकासमा सक्रियता बढाएका हुन् । मुक्तिनाथ विकास समिति कोषमा हाल ११ करोड बढी रकम मौज्याद रहेको र अब भक्तजनकै हितका लागि मुक्तिनाथको विकासमा बजेट खर्चिने सुविधा प्राप्त भएको सिडियो भुसालको भनाइ छ ।
मुक्तिनाथ विकास समितिले मुक्तिनाथ मन्दिरमा तीन सय क्षमताको लुगा फेर्ने कक्ष निर्माण गर्ने, स्नान तथा कुण्ड स्तरोन्नति गर्ने, मुक्तिनाथ मन्दिर परिसरको फराकिलो कम्पाण्ड वाल निर्माण गर्ने सेफ्टी ट्याङकी निर्माण तथा शौचालय निर्माण गर्ने र हिटिङ कक्ष निर्माण गर्ने लगायतका पूर्वाधार निर्माण हुनेछन् ।
मन्दिरमा दर्शनार्थी परिक्रमा पथ निर्माण तथा मुक्तिनाथ मन्दिरको ४९३ रोपनी क्षेत्रफल ढाँकिने गरी २ किलोमिटर दुरीमा कम्पाण्ड वाल निर्माण गर्ने योजना डिजाईनमा समेटिएको छ । मुक्तिनाथमा अवस्थित शिव मन्दिरको समेत पूननिर्माण गर्ने लक्ष्य राखेको समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । डिजाईन ड्राफ पुरातत्व विभागले स्वीकृत गर्ने बिक्तिकै टेन्डर प्रक्रियामा लैजाने समिति कोषाध्यक्ष गुरुङको भनाइ छ । संरचना निर्माण गर्न करिव ५ करोड बढी लागत अनुमान गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया