
पोखरा । कास्कीमा १ सय १० वर्ष अघि ६ महिनासम्म कोटीहोम चलेको थियो । जसको प्रमाण अहिले पनि छ । पोखरा महानगरपालिका १३ आर्वा (साविकको आर्बाविजय गाविस) स्थित महाप्रभुधाममा रहेको हवन कुण्डले त्यो प्रमाणित गर्छ । पोखराबाट उत्तरपूर्वको डाँडामा दुई शताब्दीभन्दा अघिदेखि महाप्रभुधाम अस्तित्वमा रहेको स्थानीय बताउँछन् ।

धार्मिक महत्व बोकेको महाप्रभुधाममा १९७२ सालमा स्वर्गद्वारीबाट कोपिला नन्दस्वामी महाप्रभु आएर ६ महिनासम्म कोटी होम गरेको महाप्रभुधाम रतनपाण्डे धार्मिक पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले बताए । ‘उहाँहरुले ६ महिनासम्म बिहान देखि रातीसम्म २४ सैं घण्टा आगो मात्र बालेको बाल्यै गरी कोटी होम गरी आफूहरुले पालेको गाइहरु सबै दान गरेर जानुभएछ,’ उनले भने, ‘यहाँको के कथन छ भने यहाँ नजिकै रतन पाण्डे मन्दिर र महाप्रभुधामको बीचमा एउटा पोखरी थियो रे जहाँ रुखका पात खस्यो भने चराले टिपेर लैजान्थ्यो रे त्यस्तो किंवदन्ती पनि छ । त्यस्तो शक्ति भएको ठाउँ हो यो ।’
यहाँ यज्ञ गरेर मनोकांक्षा पूरा गरेकाले धामको गरिमा बढेको अध्यक्ष बरालले बताए । तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेको हवन कुण्ड अझै सुरक्षित छ । यसका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान लगायत धार्मिक एवं ऐतिहासिकस्थल को छुट्टै महत्व रहेको उनले सुनाए । ‘यहाँ तल एउटा गुफा छ । त्यसको पनि छुट्टै कथा छ । एकपटक एउटा कुकुरले मृग लखेट्दा गुफामा पसेछ,’ उनले भने, ‘पछि त्यो मृग र कुकुर कमल पोखरी नजिकै निस्किएछ । त्यसैले महाप्रभुधामको गुफा उत्खनन गरियो भने कमलपोखरी निस्किन्छ भन्न सकिने आधार छ ।’
पोखरा मुख्य बजारबाट करिब २२ किलोमिटर उत्तरपूर्व रहेको धामबाट पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न सकिने समितिका कोषाध्यक्ष बुद्धीप्रकाश बरालले बताए । लालीगुराँस फुल्ने समयमा गुराँससँगै रमाउन पनि उपयुक्त ठाउँ भएकाले पर्यटनको प्रचुर संभावना रहेको उनले सुनाए । पोखराको मुख्यबजारदेखि सवारीसाधनमा आधा घण्टामा पुग्न सकिने यो धाम समुन्द्री सतहदेखि २ हजार मिटरभन्दा माथिको उचाइमा छ ।
महाप्रभुधामसँगै रहेको अर्को धार्मिक पर्यटकीयस्थलका रुपमा मणिद्विपलाई पनि यहाँको पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ । धाम पुग्नेहरुले मणिद्विपको दर्शन पनि गर्छन् । धाम नजिकै रहेको रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा आर्वालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय श्रीराम सिग्देलले बताए । पूजाका दिन आर्वा क्षेत्रमा हलो नचल्ने पहिलेदेखिको प्रचलन अझै पनि कायमै रहेको उनले सुनाए ।
प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको महाप्रभुधाममा खरले छाएको मन्दिर २०६२ सालमा पुनःनिर्माण गरिएको समितिका अध्यक्ष बरालले बताए । २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्वीपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो । भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले त्यहाँ राखिएको शिलाको प्राणप्रतिष्ठा गरेकाले पनि यस ठाउँको अझै धार्मिक महत्व छ ।
महाप्रभुधाम तथा मणिदीपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । ‘यस क्षेत्रको ऐतिहासिक महत्व रहेकाले हामीले २०५१ सालदेखि शतबीज छर्न सुरु गरेका छौं । धार्मिम महत्व बुझेरै होला अहिले ५ हजारभन्दा बढि शतबीज छर्न गएको तथ्यांक छ,’ अध्यक्ष बरालले भने, ‘हामीले यसलाई अझै राम्रो बनाउने प्रयास गरेका छौं । यहाँको पूर्वाधार विकाससँगै चारैतिर लालिगुराँस रोपेर सिजनको बेला गुराँसे डाँडा बनाउन पनि हामी लागेका छौं ।’ धार्मिक आस्थाको केन्द्र भएकाले यसको प्रचारप्रसारसँगै पूर्वाधार विकास र प्रवद्र्धनमा सबै पाखरेली लाग्नुपर्ने उनको भनाइ छ ।
महाप्रभुधान, मणिदीप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पोखरा महानगरपालिका लागिपरेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले बताए । पोखरा महानगरसँगै अन्य व्याक्तिहरुको सहयोगमा केही संचरना पनि बनिसकेका छन् । केही वर्षअघि ट्रयाक खुलिसकेको बाटो पिच गर्ने गरी परियोजना स्वीकृत भएर काम अघि बढेको उनले सुनाए । महाप्रभुधाम तथा मण्द्वििप धार्मिक क्षेत्र विकासका लागि डिपिआर तयार भएकाले सोही अनुसार प्रदेश तथा केन्द्र सरकारसँग मिलेर काम थालिनी गर्ने योजना बनाएको उनले बताए ।
ड्रोन तस्बिर : अर्जुन गाहा ‘सुशान्त’

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया