सेवा थप्दै प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल

भीमपाणि बराल २०८२ वैशाख २० गते ७:२७

लेखनाथ । गण्डकी प्रदेश सरकारमातहत पोखरा महानगरपालिका वडा नं ३० मा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल सञ्चालनमा छ । लेखनाथको मोहोरियामा रहेको अस्पतालले सेवा विस्तार गर्दै छ ।

Advertisement

स्थानीयले आफनो ठाउँमा अस्पताल निर्माण भए सर्वसुलभ तरिकाले उपचार सेवा पाउन सकिन्छ भनी २०६० सालमा मुठीदान सुरु गरेका थिए । यसैबाट सामुदायिक लायन्स अस्पताल नाममा अस्पताल खुलेको थियो । यो अस्पताल २०७७ साउन ७ गतेदेखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकूल परिस्कृत गरी नयाँ सेवा दिन थालिएको हो ।

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल बनेपछि यसका लागि बजेट विनियोजन गरी आवश्यकताका आधारमा कार्यान्वयमा लैजाने काम गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ । यहाँबाट दैनिक सय जनाभन्दा बढीले विभिन्न किसिमका सेवा लिदै आएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा विकास गौचनले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण भएपश्चात कोरोना महामारीको अवस्थामा यस अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको थियो । त्यसपश्चात जनरल स्वास्थ्य सेवा एवं विविध स्वास्थ्य सेवा यसले थप्न सुरु गरेको थियो । हाल डायलाइसिस सेवालाई यसले जोड दिएको छ ।

अन्य अस्पतालबाट डायलासिसका लागि मिर्गाैला रोगका बिरामीलाई रिफर गर्ने गरिएको छ । मृर्गौला रोग विशेषज्ञको नै उपलब्धताले यससँग सम्वन्धित बिरामीले सहज रुपमा सेवा पाएका छन् । मृगौला रोग विशेषज्ञको उपस्थितिले यो अस्पताललाई डायलासिस सेवाको तालिम केन्द्रको रुपमा विकास गर्न सकिने डा गौचनको भनाइ छ ।

Advertisement

स्वास्थ्य सेवालाई प्रविधियुक्त र आधुनिक रुपमा अघि बढाएको अस्पताल सञ्चालक समिति अध्यक्ष ऋषिराम जमरकट्टेल बताउँछन् । स्वास्थ्य बिमालाई प्राथमिकतामा राख्दै गरिब, ज्येष्ठ नागरिक एवं असक्तका लागि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु अस्पतालको मुख्य उद्देश्य भएको अध्यक्ष जमरकट्टेलको भनाइ छ ।

यो अस्पतालले जनरल, बहिरंग, अन्तरंग, आकस्मिक, प्रयोगशाला सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, काभिड खोप सेवा, डायलासिस, स्वास्थ्य बिमा कार्यक्रम जस्ता सेवा सञ्चालन गरेको छ । यहाँ १० वर्ष मुनिका बालबालिका, गरिब तथा ६० वर्षमाथि ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध छ ।
अध्यक्ष जमरकट्टेलले स्वास्थ मन्त्रालयको सहकार्यमा निकट भविष्यमा निर्माणाधीन नयाँ भवनबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल तयार गरी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर स्वास्थ सेवा उपलब्ध गराइने बताए । यसका लागि ३२ बुँदामा अस्पतालको कार्ययोजना बनाई सकिएको उनी बताउँछन् ।

अस्पताल र अस्पतालको क्षेत्रको सरकारी जग्गा अस्पतालकै स्वामित्वमा ल्याउनुनपर्ने, हाल सञ्चालनमा रहेको अस्पताल र निर्माणाधीन भवन चाँडै सक्न पहल लिनुपर्ने देखिन्छ । नयाँ भवन तयार भएपछि नर्स, प्राविधिकको दरबन्दी थपसहित आवश्यक सामग्रीको व्यवस्था, सुरक्षित मातृशिशु सेवा र प्रसूति गृहको व्यवस्था, डाइलासिस सेवालाई व्यवस्थित गर्दै सबै सेवा प्रदान गर्न सक्ने वातावरण सृजना गर्ने योजना रहेको अस्पतालका प्रशासन प्रमुख लक्ष्मीप्रसाद पौडेल बताउँछन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया