बिसिएनद्वारा घाचोकमा दूध राख्ने क्यान सहयोग

पोखरा । नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) ले माछापुच्छ्रे गाउँपालिका ३ घाचोकको पीपलबोट दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध क्यान सहयोग गरेको छ । घाचोकका गाईपालक कृषकहरु मिलेर स्थापना गरेको सहकारीलाई दुध संकलनमा सहयोग गर्न बिसिएनले आइतबार करिब ५१ हजार रुपैयाँ मूल्य बराबरका ६ वटा स्टिलका दुग्ध क्यान हस्तान्तरण गरेको हो ।
अहिले सहकारीमा ९० जना कृषक आवद्ध छन् । उनीहरुले हरेक दिन १ हजार लिटर दुध संकलन गर्छन् । कार्यक्रममा बिसिएनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा हुमबहादुर गुरुङले प्रतिनिधिहरूले ग्रामीण क्षेत्रमा कृषि व्यवसायको प्रवद्र्धनका लागि स्थानीयहरुसँग सहकार्य गर्दै आएको जानकारी दिए । आफ्नै कार्यकालमा स्थानीयको सहयोगमा घाचोकमा जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको उनले सम्झिए ।
त्यो समयदेखि नै त्यहाँका कृषकसँग बिसिएन नजिक रहदै आएको उनले सुनाए । आगामी दिनमा पनि साथ र सहयोग गर्दै जाने उनको भनाइ छ । बर्ड लाइफ इन्टरनेसनल सिंगापुरका सिनियर एसिया पार्टनरसिप मेनेजर डा गुरुङले ग्रामीण उद्यम र वातावरणीय संरक्षणका बारेमा स्थानीयलाई बुझाएका थिए । उनले भने, ‘घाचोक जस्ता पहाडी गाउँमा कृषिको नवीन अभ्यासले दिगो विकासलाई टेवा पुर्याउँछ, यसको सुरुआत आजका यस्ता प्रयासले हुन्छ ।’
माछापुच्छ्रे गाउँपालिका ३ का वडाध्यक्ष हरिशचन्द्र लम्सालले घाचोकको कृषि सम्भावनालाई प्रविधिसँग जोड्ने यस्ता सहयोगले सकारात्मक असर पार्ने धारणा राखे । ‘दिगो कृषि प्रणालीका लागि यस्ता सघन सहकार्य आवश्यक छन्’, वडाध्यक्ष लम्सालले भने । सहकारीले प्राप्त गरेका क्यानले दुग्ध संकलन, भण्डारण र ढुवानी प्रक्रियालाई अझ व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
गिद्ध रेस्टुरेन्ट कमिटीका संस्थापक अध्यक्ष रविलाल पोखरेलले घाचोक क्षेत्रको जैविक विविधता र कृषिजन्य सम्भावनाको चर्चा गरे । ‘यो क्षेत्र गिद्ध संरक्षणको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । यहाँका मेहनती कृषकले उत्पादनमा उल्लेख्य भूमिका खेलेका छन्,’ उनले भने, ‘तर उनीहरूको श्रम अझ उजागर हुन आवश्यक छ ।’ उनले आगामी दिनमा सहकारीको भवन निर्माणका लागि बिसिएनसँग सहयोगको अपेक्षासमेत गरे ।
पीपलबोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रकाश पोखरेलले बिसिएनको सहयोगप्रति आभार व्यक्त गर्दै दुग्ध संकलन क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे । दुग्ध क्यान हस्तान्तरणपछि बिसिएनको टोलीले जटायु रेस्टुरेन्ट अवलोकन गरेको थियो ।
तपाईको प्रतिक्रिया