कविवर घिमिरेको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउन राष्ट्रपति पौडेलको सुझाव

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि र साहित्यकारको जन्मस्थललाई समेटेर पर्यटकीय पदमार्ग निर्माण गर्न सुझाव दिएका छन्।
आइतबार लमजुङको बाहुनडाँडा पुस्तुनमा राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको शालिक अनावरणपछि आइतबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले गण्डकी साहित्य चक्रीय मार्ग निर्माणको प्रस्ताव अघि सारेका हुन्।
उनले कवि शिरोमणि लेखनाथ पौडेलको अर्घौअर्चलेदेखि राष्ट्रकवि माधव घिमिरेको गाउँ बाहुनडाँडासम्म जोडेर साहित्यिक सर्किट बनाउन सकिने बताएका छन्।
उनले भने, “कवि शिरोमणि लेखनाथको अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहर, समालोचक यदुनाथ खनालको मानुङ, आदिकवि भानुभक्तको चुँदी रम्घा हुँदै राष्ट्रकवि माधव घिमिरेको पुस्तुनसम्मका ठाउँलाई समेटेर गण्डकी साहित्य सर्कल बनाउन आवश्यक छ।”
उनका अनुसार तनहुँको चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने योजना अघि बढिरहेको छ।
राष्ट्रकवि घिमिरेको जन्मस्थान बाहुनडाँडामा निर्माण गरिएको पार्क र शालिकले यस ठाउँको सांस्कृतिक गरिमा बढाएको र भाषा–साहित्य प्रेमीहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास भएको उनले बताए।
उनले भने, “गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो। यहाँका बस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी, ठाडो भाकाजस्ता मौलिक कला तथा पहाडी रमणीय भूगोलले यस क्षेत्रलाई स्रष्टा र साहित्यको लागि उर्वर बनाएको छ।”
उनले वेदव्यास, आदिकवि भानुभक्त, कवि शिरोमणि लेखनाथ र राष्ट्रकवि माधव घिमिरेजस्ता व्यक्तित्वको जन्मस्थल यही सेरोफेरोमा हुनु नेपाली साहित्य र संस्कृतिका लागि गौरवको कुरा भएको बताए।
उनको भनाइमा, भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि आवश्यक विषय हुन् र यसको संरक्षण र प्रवर्द्धन सबैको कर्तव्य हो।
“प्रतिभाशाली स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कञ्जुस्याइँ गर्नु हुँदैन,” उनले भने।
उनले विगतमा लमजुङ, तनहुँ र कास्की क्षेत्र भाषा, साहित्य, संस्कृति मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि भएको उल्लेख गरे।
लमजुङको हलो क्रान्तिबाट सुरु भएको परिवर्तन र तनहुँको बन्दीपुर कब्जाजस्ता आन्दोलनले राणा शासनविरुद्धको लडाइँलाई गति दिएको र आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा त्यसको ऐतिहासिक योगदान रहेको उनको भनाइ थियो।
अबको प्राथमिकता तीव्र विकास, सुशासन र आर्थिक समृद्धिमा हुनुपर्नेमा उनले जोड दिए।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजनामा र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पनि सम्बोधन गरेका थिए।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले राष्ट्रकवि माधव घिमिरे, वीर भक्ति थापा र भूगोलविद् हर्क गुरुङजस्ता व्यक्तित्वहरूको जन्मले पालिकालाई विशेष बनाएको बताए।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट २० लाख, सामाजिक विकास मन्त्रालयबाट ४ लाख र मर्स्याङ्दी गाउँपालिकाबाट ३ लाख सहयोगमा पार्कको संरचना निर्माण गरिएको हो।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया