पोखरालाई यौन दुराचारको केन्द्र बनाएका अमेरिकीको मृत्यु

पोखरा ।
सन् २०२० मा भिजिट भिसामा नेपाल आएका एक अमेरिकी पोखराको लेकसाइड क्षेत्रलाई आधार बनाउँदै बाल यौन दुराचारमा लागेको रहस्य उनको मृत्युपछि खुलेको छ । अमेरिकी नागरिक क्यारी नेइल मोब्लेको गएको वैशाख ११ गते ललितपुरको बंगलामुखी नजिकैको एक होमस्टेमा निधन भएपछि प्रहरी अनुसन्धानमा उनको आपराधिक पृष्ठभूमि सार्वजनिक भएको ललितपुर प्रहरीका डिएसपी नरहरि अधिकारीले बताए ।
मोब्लेको मृत्यु शंकास्पद देखिएपछि ललितपुर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा क्यारी बालयौन दुराचार जस्तो जघन्य अपराधमा पहिले पनि संलग्न रहेको तथ्य खुलेको डिएसपी अधिकारीले सुनाए । मोब्लेसँगै बस्दै आएकी युवतीबारे पनि प्रहरीले अनुसन्धान गरेको छ ।
मृत भेटिएपछि ललितपुर प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा कोठाबाट फेला परेका मोबाइल र ट्याबमा यस्ता सामग्री भेटिए, जसले प्रहरीलाई चकित बनायो । ती भिडियो र संवादमा मोब्ले पोखरामा रहँदा नाबालिकाहरुसँग अप्राकृतिक यौन क्रियाकलापमा संलग्न भएको पुष्टि भएको डिएसपी अधिकारीले उल्लेख गरे ।
‘पोखराको लेकसाइडमा उनी बसेको देखिन्छ । करिब उनी डेढ वर्ष पोखरा नै बसे । त्यो बेला यौनदुराचार गरेको देखिन्छ,’ अधिकारीले भने । मोब्लेले प्रयोग गरेका डिजिटल उपकरणमा भेटिएको डाटा अनुसार उनले किशोरीहरुसँग सम्बन्ध राख्ने, तिनलाई विभिन्न लालच देखाउने र नियन्त्रणमा राख्ने गरेका थिए ।
डेढ वर्ष पोखरामा रहँदा नाबालिकाहरुसँग अप्राकृतिक यौन क्रियाकलापमा संलग्न भएको पुष्टि
केही पीडित युवती उनको मृत्युको केही दिन अघिसम्म उनीसँग सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । डिएसपी अधिकारीका अनुसार उनले गरेका अन्य क्रियाकलापको अनुसन्धान हुँदै छ ।
उनलाई सहयोग गरेकी थिइन्, म्याग्दी घर भएकी एक युवतीले । ती युवती चैत २३ गते पोखरामा थिइन् । २०८२ वैशाख ९ गते ललितपुर पुगेकी थिइन् । प्रहरीको अनुसन्धानका क्रममा ती युवती पोखरा फर्किएको केही दिनमै मोब्ले बिरामी भएको खुलेको छ ।
त्यति बेला उनले होटलकै सहयोगमा घरमै स्टाफ नर्ससमेत बोलाएर सामान्य उपचार गराएका थिए । क्यारीसँगै रहेकी युवतीले प्रहरीलाई जानकारी गराए अनुसार, उनी कोक र दूधसित औषधी सेवन गर्थे । ११ गते औषधी सेवन गरेपछि भने बान्ता गर्न थालेका थिए । तर, सहयोगी युवतीले अस्पताल जाऊँभन्दा पनि जान नमानेनन् । त्यही राति क्यारीको मृत्यु भएको अनुसन्धानमा खुलेको छ ।
क्यारीको खुट्टामा समस्या देखिएको थियो । उनले दुखाई कम हुने औषधी खाँदै आएका थिए । अनुसन्धानमा खटिएका प्रहरीकाले ११ गते बिहान पनि दुखाइ कम गर्ने ३–४ वटा ट्याबलेट खाएको खुलेको छ ।
अमेरिकामा उहिल्यै दोषी ठहर
मोब्ले सन् २०२० को जनवरी १ मा ३ महिनाको भिजिट भिसामा नेपाल प्रवेश गरेका थिए । तर मार्च ३० मा भिसा सकिएपछि उनी न फर्किए, न भिसा नवीकरण गरे । बरु कानुनविपरीत नेपालमै बसेर संगठित आपराधिक क्रियाकलापमा लागे । उनको राहदानीको ११ नम्बर पृष्ठमा उनी अमेरिकामा यौन अपराधमा दोषी ठहर भएको स्पष्ट रूपमा लेखिएको छ ।
यसबाट गम्भीर प्रश्न उठेको छ—नेपाल प्रवेश गर्ने क्रममा अध्यागमन विभागले यो संवेदनशील विवरण कसरी बेवास्ता गर्यो ? प्रहरीले अहिले स्पष्ट रूपमा भनेको छ कि यदि अध्यागमन विभागले प्रहरीलाई सूचना दिएको भए, उनलाई नेपाल छिर्नै नदिइने वा तत्काल कारबाही गरिने थियो । मोब्लेको शव शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाइएको छ तर अमेरिकन दूतावास वा उनका परिवारबाट अझै कुनै प्रतिक्रिया नआएकाले प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रहरीका अनुसार, अमेरिकी दूतावासलाई यसबारे पत्राचार गरिसकिएको छ । यो घटनाले नेपालको अध्यागमन प्रणालीको कमजोरीलाई एक पटक फेरि सतहमा ल्याएको छ । यौन अपराधमा दोषी प्रमाणित विदेशी नेपालको पर्यटकीय क्षेत्रमै बसेर वर्षौंसम्म बाल यौन शोषण जस्तो गम्भीर अपराधमा लाग्नु नेपालको सुरक्षा संयन्त्रको कमजोरी हो कि नियतबस गरिएको बेवास्ता भन्ने प्रश्न उठेको छ ।
तपाईको प्रतिक्रिया