सिद्धार्थ प्राविमा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०८२ वैशाख २२ गते १९:०९

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्थित सिद्धार्थ प्राथमिक विद्यालय, ढापमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री अभावका कारण पठन–पाठनमा असुविधा नहोस् भन्ने उद्देश्यले करिब सात हजार रुपैयाँ बराबरका किताब, कापी, कलम तथा खेलकुद सामग्री वितरण गरिएको छ।

अर्घाखाँची स्थायी घर भई हाल वडा नं. १३ मा अस्थायी रूपमा बसोबास गर्दै आएका खेम सिंजालीले सुस्मिता सुनार, संगम सुनार, राजु क्षेत्री, सिर्जना विक र समिर परियार गरी पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन्।

वडा कार्यालय १३ ले शिक्षाको विकासका लागि लिएको विभिन्न उद्देश्य अन्तर्गत शैक्षिक सामग्रीको अभावमा कुनै पनि विद्यार्थी पठन–पाठनबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ शैक्षिक सत्र ०८२/०८३ देखि सामुदायिक विद्यालयहरूमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Advertisement

कार्यक्रमको संयोजन गरेका राजेन्द्र भण्डारीका अनुसार किताब, कापी तथा खेलकुद सामग्री पाएपछि विद्यार्थीहरूमा आएको उत्साह र अभिभावकहरूको खुशीले थप प्रेरणा मिलेको छ। साथै, शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीहरू नियमित रूपमा कक्षामा उपस्थित हुन, पढाइमा ध्यान केन्द्रित गर्न र शैक्षिक स्तरमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रधानाध्यापक अम्बिका बरालले आगामी दिनमा पनि यस्ता शैक्षिक उत्थानका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकी छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक तथा शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया