
पोखरा । जति बेला अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएकै थिएन । त्योभन्दा अघिदेखि नै कास्कीको गाउँपालिका १ स्थित पिपर क्षेत्रमा ‘वल्र्ड फेजेन्ट असोसिएसन (डब्लुपिए)’ ले चराको गणना गरेको थियो । डब्लुपिए कालिज समूहका चराको अध्यन, अनुसन्धान र संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । उनीहरुले यो क्षेत्रलाई ‘पिपर सेन्चुरी’ अथवा ‘पिपर रिजर्भ’ का रुपमा चिन्थे ।
सन् १९८६ मा ७ हजार ६२९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्दै एक्याप स्थापनापछि सानो क्षेत्र ओगटेको पिपर सेञ्चुरी ओझेलमा प¥यो । तर, डब्लुपिए आफ्नो काम भने छोडेको थिएन । हरेक ३/४ वर्षको अन्तरालमा चरा गणनाको काम भइरहेको जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौेड्याल बताउँछन् ।
पिपर क्षेत्रमा डाँफे १४६, मुनाल १४८, प्यूरा १७० र फोक्रास १९ वटा भेटिएका छन्
उनका अनुसार सन् १९७० को दशकमा बेलायती नागरिक जिम्मी रोबर्ट पदमार्गको खोजी गर्दै पिपर क्षेत्र पुगेका थिए । त्यस क्षेत्रमा रोबर्टले कालिज प्रजातिका डाँफे, मुनाल, फोक्रास, प्युरा एकै ठाँउमा देखे । उनले नै बेलायतमा सन् १९७५ मा स्थापना भएको डब्लुपिएमा यहाँको कालिज प्रजातिका चराका बारेमा जानकारी गराएका थिए ।
रोबर्टबाट जानकारी पाएपछि डब्लुपिएको टोली चरा गणना गर्न सन् १९७९ मा नेपाल आएको अध्यक्ष पौड्याल सुनाउँछन् । त्यसपछि विभिन्न कालखण्डमा यस क्षेत्रमा चरा गणना भइरहेको उनले बताए । ‘रोबर्टले डब्लुपिएमा जानकारी गराएपछि एक जना बेलायती विद्यार्थी एन्थोनी लेलियोटलाई यहाँ पठायो । उनले पछि यही क्षेत्रबाट मास्टर्सको थेसिस गरे अनि जर्नल आर्टिकल प्रकाशित गरे । त्यसपछि १९८३ मा अर्का बेलायती नागरिक इकोजी वनस्पति र पिजेन्टको काउन्ट पनि गर्नुभयो,’ उनले भने, ‘त्यसपछि बेलायती नागरिकहरु ३÷४ वर्षको अन्तरालमा आइरहनुहुन्थो ।’
सन् १९९८ मा नेपाली नागरिक सुरेश श्रेष्ठ र भारतीय नागरिक राहुल काउलले फेजेन्टको अध्ययन अनुसन्धान गरेको उनले बताए । त्योभन्दा अघि १०८१÷८२ मा लेलियोटसँग मिलेर डा. प्रह्लाद योञ्जन र इकोजीसँग मिलेर यस क्षेत्रमा भैया खनालले पुतलीको अध्ययन गरेको उनले सुनाए । ‘सन् २००१ मा नेपालका चराविद् डा. हेमसागर बरालको नेतृत्वमा पिपरभन्दा केही पूर्व साँदल फेजेन्टको कलकाउन्ट र सर्भे भयो,’ उनले भने, ‘२००५ देखि मेरो नेतृत्वमा चरा र फेजेन्टको काउन्ट भइरहेको छ । त्यसपछि लगातार ३÷४ वर्षको अन्तरालमा चरा गणना हुँदै आएको छ ।’ २०२२ देखि जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल र डब्लुपिए मिलेर चरा गणना गर्दै आएको उनले बताए ।
पछिल्लो समय २०८२ सालको वैशाख ४ देखि १८ गतेसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतका वन क्षेत्रमा चरा गणना गरिएको छ । माछापुच्छ्रे गाउँपालिकास्थित पिलिचो, पिपर, खुमई, कोर्चां, लुब्रचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदाने क्षेत्रमा गणना गरिएको बायोकसका निर्देशक डा पारसविक्रम सिंहले बताए । गणना सकिएपछि बायोकस नेपाल र डब्लुपिएले घाचोक गाउँमा तथ्यांक सार्वजनिक गरेको थियो । उक्त क्षेत्रमा डाँफे १ सय ४६, मुनाल १ सय ४८, प्यूरा १ सय ७० र फोक्रास १९ वटा फेला परेका बायोकसका निर्देशक डा सिंहले जानकारी दिए । यस क्षेत्रमा अन्य २ सय प्रजातिका चरा पत्ता लागेका थिए ।
गणकको टिममा १९ जना अनुसन्धानकर्ता र सहयोगीहरु थिए । उनी दुई समूहमा विभाजन भई चरा गणना गरेका थिए । एउटा समूह सरीपाखा र अर्को मिर्सा हुँदै लेकतिर लागको निर्देशक डा. सिंहले बताए । यसअघि सन् १९७९ देखि भएका विभिन्न सर्भेक्षणमार्फत यस क्षेत्रमा हालसम्म ३ सय १४ प्रजातिका चरा भेटिएका बायोकसका उनले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा सबै पाँच सय १८ प्रजातिका पक्षी भेटिएका छन् ।
तथ्यांक सार्वजनिकपछि सरोकारवालाहरुसँग त्यस क्षेत्रमा चरा पर्यटनका बारेमा चर्चा चलेको छ । चर्चासँगै चुनौती उतिकै रहेको निर्देशक डा. सिंहले बताए । वन्यजन्तु संरक्षणमा अवैध चोरी–सिकारी प्रमुख चुनौतीका रूपमा देखिँदै आएको छ । पिपर क्षेत्रमा चरालाई पहिले जस्तो सजिलो अहिले छैन । पिपरमा चरा हिड्ने बाटोभरि पासो थापिएका भेटिने उनले सुनाए ।
चरा गणनाका क्रममा अघिल्ला वर्षभन्दा यसपालि केही कम भए पनि शिकारीहरूले पासो राख्न भने नछाडेको डा. सिंहले बताए । तथ्यांक अनुसार त्यस क्षेत्रमा चराको संख्यामा घट्दो क्रममा रहेको डा. सिंहको भनाइ छ । ‘ठूलै परिणाममा घटेको त छैन तर, विस्तारै घट्दो क्रममा रहेको छ,’ उनले भने, ‘त्यसैले बेलैमा सजग हुन जरुरी छ ।’ पासोका कारण पिपर क्षेत्रमा जमिनमा दुगुर्ने चरा चिलिमे र फोक्रासको संख्या शून्य रहेको उनले सुनाए । यद्दपि, खुमाईं क्षेत्रमा भने १९ वटा फोक्रास भेटिएको थियो ।
चरा पर्यटनको संभावना बोकेको ठाउँमा संरक्षित पंक्षीको शिकार, ओसारपसार र बिक्रीवितरणमा रोक लगाउनुपर्ने गणना टोलीका सदस्य तथा पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । उनका अनुसार यस्तो क्रियाकलाप नरोकिने हो भनेर त्यस क्षेत्रमा चरा पर्यटनको संभावना सपनामै सिमित हुने उनको भनाइ छ । पहिलो खुड्किलो बायोकस नेपाल र डब्लुपिएले चालिदिएकाले अब अर्को पाइला यहाँका स्थानीय, सरकार र सरोकारवाला मिलेर चाल्नुपर्ने उनको तर्क थियो ।
यस्ता गतिविधि नियन्त्रण गर्न बायोकस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ‘स्मार्ट’ नामक मोबाइल एपमा आधारित गस्ती प्रणाली सुरु गरेको छ । साथै, ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको बायोकस नेपालका कार्यक्रम निर्देशक पवन राईले बताए ।
पहिलो पाइला बायोकस नेपाल र डब्लुपिएले चालिदिएको छ, अब अर्को पाइला यहाँका स्थानीय, सरकार र सरोकारवाला मिलेर चाल्नुपर्छ
नेपालको कानुनमै पंक्षी शिकार, ओसारपसार र बिक्रीवितरणमा सजायको व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ (४) मा संरक्षित पंक्षीको शिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन महीनादेखि नौ महीनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । सिधैं कानुन लगाउनुभन्दा पनि स्थानीयमा जनचेतना फैलाएर उनीहरुलाई चराको महत्व बुझाउनु राम्रो भएकाले सोही अनुसार बायोकस नेपालले काम गरिरहेको कार्यक्रम निर्देशक राईले बताए ।
चरा संरक्षणमा ध्यान दिँदै चोरी शिकारी, ओसारपसार र बिक्री रोक लगाउन सके पिपर क्षेत्रमा चरा पर्यटनको राम्रो संभावना रहेको बर्ड लाईफ ईन्टरनेशनल सिंगापुरका सिनियर मेनेजर डा. हुमबहादुर गुरुङले बताए । ‘पोखराबाट एकदमै नजिक अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने पिपर क्षेत्र कालिजका लागि अन्तर्राष्ट्रिय रुपमै प्रख्यात ठाउँ हो,’ उनले भने, ‘तर, यहाँ डाँफे, मुनाललगायत चराहरु चोरी सिकारी गरेको पाइयो । चरा पर्यटनमा चरालाई मारेर हैन देखाएर खाने हो ।’
एक्याप क्षेत्रभरमा पाइने ५ सय १८ चरामध्ये आधाभन्दा बढी (३ सय १४ ) प्रजाति पिपर क्षेत्रमा पाइने भएकोले यस क्षेत्रले चरा पर्यटनको प्रचुर संभावना बोकेको डा. गुरुङले बताए । ‘गाउँहरु नजिक पनि छ । उहाँहरुलाई पर्यापर्यटन अन्तर्गत चरा पर्यटनको माध्यमबाट आर्थिक उपार्जनमा टेवा पुर्याउन सकिन्छ भनेर बुझाउन जरुरी छ,’ उनले भने, ‘यहाँ ट्रेकिङ रुट भएकाले नेपालमा हिमालमात्र हैन चराचुरंगी पनि हेर्न पाइन्छ भन्ने सन्देश पनि प्रवाह गर्न जरुरी छ ।’
एक्याप पोखरा कार्यालयका प्रमुख डा रबिन कडरियाले आगामी दिनमा पंक्षी संरक्षणका लागि योजना बनाएरै अघि बढ्ने बताए । स्थानीय निकाय माछापुच्छ्रे गाउँपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समितिलगायत स्थानीय समुदायको सहभागितामा पंक्षी संरक्षणलाई जोड दिइने उनले सुनाए ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले डाँफे, मुनाललगायत महत्वपूर्ण पंक्षीको संख्या वृद्धि गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । माछापुच्छ्रे गाउँपालिकालाई चरा पर्यटन गन्तव्यका रूपमा विकास गर्नका लागि बायोकस नेपाल, डब्लुपिए, एक्याप र स्थानीयसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया