‘जनसांख्यिक लाभ लिन दक्ष युवा आवश्यक’

पोखरा । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रले जनसांख्यिक लाभांश लिनको लागि युवालाई दक्ष र उद्यमशील बनाउनु पर्ने प्रस्ताव गरेको छ । त्यसको लागि युवाले मागे अनुसारको सीप र दक्षता प्रदान गर्नु हरेक राज्य सयन्त्रको प्रमुख कर्तव्य भएको संघको विश्लेषण छ ।
युवा संघको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष क्षितिज थेवेले नेपालमा युवा जनसंख्याको आजको चरणलाई जानसांख्यिक लाभांशको अवसर भनिएको बताए । उनले नेपालको ४२ दशमलब ५६ प्रतिशत जनसंख्या रहेको युवाको अवस्थालाई जानसांख्यिक लाभांस (पपुलेशन डिभिडेन्ट)को अवस्था भनिएको उल्लेख गरे ।
युवा संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीले श्रम योग्य र क्रियाशिल युवालाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको पारिश्रमिकको ग्यारेन्टी गर्नु पर्ने प्रस्ताव गरे । ‘नेपालमा श्रम उमेरको योग्यता नभएको युवालाई श्रम बजारको माग र उसको बोधजन्य क्षमताका आधारमा सीप, तालिम तथा सचेतना दिएर योग्य नागरिक बनाउन पर्छ,’उनले भने, ‘जानसांख्यिक लाभांसलाई प्रयोग गर्ने हो भने नेपालले सजिलै उच्च आर्थिक बृद्धिदर हासिल गर्न सक्छ ।’
उनले जनसांख्यिक लाभांसको प्रयोगको अवस्थालाई खेर जान नदिएर युवाको सर्वागिंण विकासमा सम्पूर्ण राज्य संरचना परिचालित हुनु पर्ने देखिएको बताए । जनसांख्यिक लाभांसको प्रयोग गर्नको लागि युवा आन्दोलन निर्देशित हुनु पर्ने उल्लेख गरे । युवा संघ नेपालका अध्यक्ष थेवेले युवा मैत्री कार्यक्रम गरेर संगठन प्रति आकर्षण बढाएको दाबी गरे । उनले उद्यमशीलता, रोजगारी र स्वरोजगारीको सुनिश्चितता गर्न सके युवाको बढ्दो निराशा र विदेश पलायनलाई रोक्न सक्ने जनाए । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा संघ नेपालका ईञ्चार्ज राजीव पहारीले परिवर्तित समयमा युवाको माग र सम्बोधनलाई युवा सम्बोधन गर्न सक्ने दाबी गरे । महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले १२ देशका प्रतिनिधिले भाग लिने महाधिवेशनले पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने बताए ।
राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले दशौं महाधिवेशन नेपाली युवा आन्दोलनको नयाँ पानीढलोको रुपमा रहने जनाए । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा देश भरीका २ हजार प्रतिनिधिले भाग लिने उनले बताए । उनले ‘सुशासन, समृद्धि, राष्ट्रियता, सिर्जशीलता र गतिशिलता’ भन्ने नाराका साथ हुने महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रुपमा स्थापित गर्ने दाबी गरे । महासचिव पुरीले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, प्रतिनिधि व्यवस्थापन र कार्यक्रम स्थलको व्यवस्थापन लगायतका काम भएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया