मुक्तिनाथको शिरमा ३ सम्पदा

सुन्दरकुमार थकाली २०८२ वैशाख २४ गते ८:०३

जोमसोम । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथिको शिर मुक्तिक्षेत्र पर्वतीय स्थानमा विष्णु भगवानका तीन वटा धार्मिक सम्पदा पत्ता लागेको छ । समुद्री सतहको ४ हजार एक सय मिटरको उचाइदेखि करिब ४ हजार ७ सय मिटर अग्लो पर्वतीय मुक्तिनाथ क्षेत्रको विशाल पर्वतमा भगवान विष्णुसँग सम्बन्धित तीन वटा धार्मिक सम्पदा फेला परेका हुन् ।

Advertisement

मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा विष्णु भगवानसँग जोडिएका तीन वटा धार्मिक सम्पदा फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले मुक्तिनाथ मन्दिर माथिको पर्वतीय स्थानमा ‘विष्णु चुल्हो’, ‘नागराज पर्वत’ र ‘गरुड पर्वत’ आकृति देख्न सकिने बताए ।

मुस्ताङका प्रजिअ भुसालसहित प्रशासन कार्यालयका खरदार प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालय मुस्ताङका इञ्जिनियर जगदीशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदी लगायत ११ जनाको टोली शनिबार सो स्थानमा पुगेको थियो । मुक्तिनाथ क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्ने उद्देश्यसहित प्रजिअ भुसालसहितको टोली त्यहाँ गएको थियो । टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको प्रजिअ भुसालले बताए ।

भगवान विष्णुको बासस्थान रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा रहेको मुक्तिनाथ मन्दिरदेखि दक्षिण केही माथि ‘विष्णु चुल्हो’ अवस्थित रहेको प्रजिअ भुसालले जानकारी दिए । समुद्री सतहको झन्डै ४ हजार एक सय मिटर उचाइको मुक्तिक्षेत्र पर्वतमा ‘विष्णु चुल्हो’ फेला परेको हो । थोरङ पास क्षेत्रतर्फको पर्वतमालामा अवस्थित विष्णु चुल्हो धार्मिक महत्वको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले सुनाए ।

‘विष्णु चुल्हो’, ‘नागराज पर्वत’ र ‘गरुड पर्वत’ आकृति देख्न सकिने

Advertisement

पौराणिक कालमा मुक्तिनाथ मन्दिर माथिको अग्लो पर्वतीय स्थानमा विष्णु चुल्होमा आगो फुकेको आकृतिको ठूलो ढुंगा अवस्थित छ । त्यस स्थानमा अरु धेरै स–साना पत्थर रूपी विष्णु चुल्हो आकृतिका ढुंगाहरू पनि देख्न सकिन्छ । त्यहाँ पकाउने भाडाकुडा, पकाउने ठाउँ लगायतका ढुंगाका आकृतिहरू देख्न सकिन्छ । त्यहीँ भएको विष्णु चुल्होलाई मन्दिर बनाएर भित्र राखिएको छ । सो मन्दिरमा एक जना साधु बस्ने गरेका छन् । उनका अनुसार ती साधुले निरन्तर पूजा–अर्चना गर्दै आएका छन् ।

पौराणिक मान्यताअनुसार मुक्तिनाथ क्षेत्रको पर्वतीय स्थानमा रहेको विष्णु चुल्होमा भगवान विष्णुले तपस्या गर्ने गरेका थिए । विष्णु भगवान तपस्यामा लीन हुँदा ब्रह्माजीले खीर पकाएर विष्णु भगवान र अरु देवताहरूलाई खुवाएको धार्मिक जनविश्वास रहेको छ । ब्रह्माजीले विष्णुलाई खीर खुवाएर भोजन गराएको स्थान विष्णु चुल्होभन्दा तल मुक्तिनाथ परिसरको ज्वालामाई स्थानमा परेको बताइन्छ । सो स्थानको माटो सुँघ्दा खीर जस्तो वासना आउने जनाइएको छ । मुक्तिनाथ मन्दिरदेखि आधा घण्टाको पैदलयात्रामा विष्णु चुल्हो रहेको स्थान पुग्न सकिन्छ ।
यसैगरी मुक्तिनाथ माथिको अग्लो पर्वतीय स्थानमा अवस्थित विष्णु चुल्होभन्दा केही माथि नागराज पर्वत रहेको छ । पर्वतलाई गौर गरेर अवलोकन गर्दा भगवान विष्णुको शिर माथि अष्टनागले ढाकेको जस्तो आकृति देखिन्छ । यो स्थान मुक्तिनाथ मन्दिरभन्दा सिधा माथि, समुद्री सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा रहेको इञ्जिनियर जोशीले जानकारी दिए ।

भगवान विष्णुलाई पापको सागरबाट संसारलाई मुक्त गर्ने प्रतीकको रूपमा लिइन्छ । शेषनाग पनि विष्णु भगवानको प्रतीक अवतारसँग जोडिएको छ । यही कारण मुक्तिनाथ पर्वतमालामा भगवान विष्णुको शिरलाई नागले छाता ओढाएको आकृति देखिनु स्वाभाविक भएको इञ्जिनियर जोशीको भनाइ छ । विशाल सर्पको एउटै शेषनागमा विष्णु भगवान बिराजमान भएको जस्तो पर्वत पर्यटकका लागि आकर्षणको केन्द्र बन्नसक्ने उनले जनाए ।
धार्मिक पर्यटकीय गन्तव्यको खोजी गर्ने क्रममा नागराज पर्वतमा विष्णुको पोस्टर र घण्टी लगाएर झुण्ड्याइएको छ । त्यहाँ झुण्ड्याइएको घण्टी हावा चल्दा आफैं बज्न थाल्छ ।

यसैगरी मुक्तिनाथ मन्दिर माथिकै अग्लो पर्वतमा भगवान विष्णुको वाहन गरुड आकृतिको पहाड देख्न सकिन्छ । उक्त स्थानबाट मेसोकोन्दो पहाड, मुस्ताङको कागबेनी लगायतका डाँडाकाँडा अत्यन्त आकर्षक देखिन्छन् ।
मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनका हिसाबले प्रसिद्ध भए पनि त्यस क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्न मुक्तिनाथ विकास समिति सक्रिय रहेको प्रजिअ विष्णुप्रसाद भुसालले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीहरूको बसाइ लम्ब्याउने गरी त्यहाँ पत्ता लागेका सम्पदाहरूलाई जोडेर पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने उनले बताए ।

मुक्तिनाथ मन्दिर माथिको भगवान विष्णुसँग सम्बन्धित तीन धार्मिक सम्पदासँग जोड्ने गरी करिब ४ किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने प्रजिअ भुसालको भनाइ छ । मुक्तिनाथ क्षेत्रको पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यसहित स्थानीय नागरिकहरूसँग मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने उनले उल्लेख गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया