भारत- पाक युद्ध सुरु, भारतले थाल्यो ‘अपरेशन सिन्दूर’, पाकिस्तानको जवाफी चेतावनी

पोखरा । भारतले पाकिस्तानमाथि आक्रमण थालेको छ । भारत सरकारले बुधबार बिहान एक आधिकारिक वक्तव्य जारी गर्दै ‘अपरेशन सिन्दूर’ सुरु गरिएको जनाएको छ। यो अपरेशन अन्तर्गत भारतले पाकिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रका आतङ्ककारी आधार शिविरहरूलाई लक्षित गरी हमला गरेको दाबी गरिएको छ बिबिसीको समाचारमा जनाइएको छ ।
भारतको भनाइ अनुसार, ती स्थानहरूबाट भारतमा आतङ्कवादी हमलाको योजना बनाइएको थियो र ती योजनाहरूलाई कार्यान्वयन पनि गरिएको थियो। भारतीय सेनाले जम्मा ९ वटा स्थानहरूमा प्रहार गरिएको जानकारी दिएको छ।
पाकिस्तानको सरकारी टेलिभिजनले भने भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको जानकारी दिएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार, पाकिस्तानका सीमावर्ती क्षेत्रमा ठूलो गोलीबारी र बम विस्फोटको आवाज सुनिएको छ।
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको हमलापछि निकै तनावग्रस्त बनेको छ। उक्त हमलामा २६ जनाको मृत्यु भएको थियो।
भारतीय सेनाले पाकिस्तानले फेरि युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ। भारतीय सेनाले एक्स (ट्विटर) मा एक पोस्ट गर्दै जम्मु-कश्मीरको पुंछ-राजौरी क्षेत्रको भीमबर गलीमा पाकिस्तानले गोलीबारी गरेको बताएको छ। सेनाले यसको उचित जवाफ दिइरहेको जनाएको छ।

पाकिस्तानको प्रतिक्रिया
भारतको कारबाहीसँगै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले तीव्र प्रतिक्रिया दिएका छन्। उनले भारतको मिसाइल आक्रमणलाई “युद्धको घोषणा” भन्दै पाकिस्तानलाई जवाफी कारबाही गर्ने अधिकार भएको बताएका छन्।
शहबाज शरीफले एक्समा लेखेका छन्, “भारतले पाकिस्तानका पाँच स्थानमा कायरता देखाउँदै हमला गरेको छ।” उनले थप लेखे, “पाकिस्तान र हाम्रो सेना दुश्मनको यस्तो कार्यको डटेर जवाफ दिनेछन्। हामी शान्तिपूर्ण छौं, तर आत्मरक्षा गर्न पछि हट्नेछैनौं।”
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने, “भारतले आतङ्कवादी लक्ष्यहरूलाई निशाना बनाएको दाबी गरेको छ। तर ती सबै ठाउँहरू सिभिलियन बस्तीमा पर्छन्, दुई मस्जिदहरू पनि क्षतिग्रस्त भएका छन्। एक बालक र एक महिला मारिएका छन्।” उनले अन्तर्राष्ट्रिय मिडियालाई ती स्थानहरू आफैं आएर निरीक्षण गर्न आग्रह गरेका छन्।
के भन्छन् प्रत्यक्षदर्शी ?
बीबीसीसँग कुरा गर्दै मुजफ्फराबादका स्थानीय बासिन्दाहरूले हमलापछि शहरमा त्रासको वातावरण भएको बताएका छन्। शहनवाज नाम गरेका एक स्थानीयले भने, “धमाका सुनेपछि हामी सबै घरबाट भागेर सुरक्षित स्थान खोज्दैछौं।”
बिलाल मस्जिद नजिकै बसोबास गर्ने मोहम्मद वहीदले भने, “धमाकाले मेरो घर हल्लियो, अनि म बाहिर निस्कें। त्यसपछि तीनवटा मिसाइलहरू थप खस्दा सबै जना डराएर भाग्न थाले। धेरै महिला र पुरुष घाइते छन्।”
उनका अनुसार घाइतेहरूलाई नजिकैको सीएमएच अस्पताल लगिएको छ र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका छन्।
अमेरिकी राष्ट्रपति र संयुक्त राष्ट्र महासचिवको प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै भने, “यो लाजमर्दो छ।”
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले यो समाचार ओभल अफिसमा प्रवेश गर्ने बेलामै थाहा पायौं।”
उनले थपे, “म केवल चाहन्छु कि यो स्थिति चाँडै सकियोस्।”
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भनेका छन् कि उनीहरू “नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतको सैन्य कारबाहीप्रति गहिरो चिन्तित” छन्।
प्रवक्ताले भने, “महासचिवले दुबै देशलाई अत्यधिक संयम अपनाउन आग्रह गर्नुभएको छ। विश्वले भारत र पाकिस्तानबीच अर्को सैन्य टकराव सहन सक्दैन।”
बिबिसी र अन्य एजेन्सीको सहयोगमा ।
तपाईको प्रतिक्रिया