राष्ट्रिय युवा संघ पर्वतको अधिवेशनबारे विवाद हुँदा झडप, अर्जुन पौडेल घाइते

पोखरा । पर्वतमा राष्ट्रिय युवा संघको अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा उत्पन्न विवाद झडपमा परिणत भएको छ। झडपका क्रममा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका छन्।
एमाले पर्वत जिल्ला कार्यालयमा अधिवेशनका लागि बोलाइएको बैठकमा दुई पक्षबीच मतभेद देखिएको थियो। एक पक्ष अधिवेशन रोक्नुपर्ने अडानमा रहँदा, अर्को पक्ष त्यसलाई जसरी पनि गराउनुपर्ने पक्षमा थियो। जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली र अर्जुन निर्जन पौडेल अधिवेशन रोक्नुपर्ने पक्षमा थिए।
पार्टीका गोविन्द गिरीको पहलमा फेरि बैठक बोलाइएपछि, पौडेल र अन्य नेताहरू कार्यक्रम रोक्नुपर्ने पक्षमा उभिँदा विवाद चर्किएको थियो। त्यस क्रममा पौडेलमाथि हातपातसमेत भएको र उनी अस्पताल भर्ना हुनु परेको बताइएको छ।
युवा संघको महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने तय भएकाले त्यसअघि जिल्ला अधिवेशन गरेर प्रतिनिधि चयन गर्नुपर्ने आवश्यकता थियो। सोही कारण केन्द्रको निर्देशनमा पर्वतमा आयोजक कमिटी गठन गर्न बैठक बोलाइएको हो।
एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले पौडेल पक्षले कार्यक्रम विथोल्ने प्रयास गरेको र त्यसक्रममा आफूमाथिसमेत आक्रोश प्रकट भएको दाबी गरे। उनका अनुसार, “यो अधिवेशन होइन, विस्तारित बैठक मात्र हो। सामान्य विवाद भएको हो, कार्यक्रम भने अहिले पनि जारी छ।”
केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पर्वत भण्डारीका अनुसार, चैत १५ गतेभित्र अधिवेशन गर्न समयसीमा तोकिएको थियो। त्यो अवधिमा अधिवेशन नहुँदा जिल्ला इन्चार्जको संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको हो। भण्डारीले भने, “पूर्व केन्द्रीय सदस्य पौडेल र अन्य केही बाह्य व्यक्तिहरू आएर बैठक विथोल्ने प्रयास गरेपछि स्थिति बिग्रिएको हो।”
यद्यपि, अधिवेशनको बहिष्कार गर्दै युवा संघ पर्वतका जिल्ला अध्यक्ष विनोद थापा कार्यक्रममा सहभागी भएनन्। प्रदेश इन्चार्ज भण्डारीले थापा सम्पर्कमै नरहेको बताए।
एक पक्षले विधि विपरीत अधिवेशन डाकिएको आरोप लगाउँदै सुनियोजित रूपमा हमला गरिएको दाबी गरेका छन्। यसैबीच, पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य भक्त कुँवरले असहमतिकाबीच कार्यक्रम अगाडि बढाउँदा झडपको स्थिति सिर्जना भएको बताएका छन्।
तपाईको प्रतिक्रिया