पार्टी नेतामाथि आफ्नै सहकर्मीबाट आक्रमण, एमाले गण्डकी प्रदेश कमिटीद्वारा घोर निन्दा

समाधान संवाददाता २०८२ वैशाख २४ गते १९:५१

पोखरा ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको सांघातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।

Advertisement

पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो। पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रुप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ।

विज्ञप्तिमा घाइते नेता पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। “समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढंगले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,” विज्ञप्तिमा उल्लेख छ।

Advertisement

प्रदेश कमिटीले यस्तो अराजक गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै पार्टी अनुशासन र मर्यादा पालना गर्न सबैमा अपिल गरेको छ।

तपाईको प्रतिक्रिया