गण्डकी प्रदेश कमिटीको विज्ञप्तिप्रति एमाले पर्वतको आपत्ति, घटनाको वास्तविकता तोडमोड गरिएको आरोप

समाधान संवाददाता २०८२ वैशाख २५ गते ६:४७

पोखरा ।  नेकपा (एमाले) पर्वत जिल्ला कमिटीले गण्डकी प्रदेश कमिटीद्वारा जारी गरिएको विज्ञप्तिप्रति कडा आपत्ति जनाउँदै उक्त विज्ञप्तिले तथ्य तोडमोड गरी भ्रम सिर्जना गरेको आरोप लगाएको छ। जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ बुझ्न नसकी प्रदेश कमिटीले सार्वजनिक रूपमा धारणा सार्वजनिक गर्नु गम्भीर र पार्टीविरुद्धको कार्य भएको बताएको छ।

Advertisement

पार्टी जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “घटनाको यथार्थ विवरण जिल्ला नेतृत्वसँग नबुझी तथ्यविपरित वक्तव्य प्रकाशित गर्नुले आम पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम फैलाएको छ। यस्तो विज्ञप्तिले पार्टी हित होइन, अराजक गुटगत प्रवृत्तिलाई मलजल पुर्‍याउँछ।”

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, पर्वतको नवौं जिल्ला अधिवेशन लामो समयदेखि हुन सकेको थिएन। पार्टी जिल्ला कमिटीको पटक–पटकको आग्रह र पहलपश्चात युवा संघका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय नेताहरूको सहभागितामा यही वैशाख २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको थियो। तथापि, पार्टी एकता र संवादलाई मध्यनजर गर्दै विस्तारित भेला आयोजना गरेर त्यसै भेला मार्फत अधिवेशन आयोजक कमिटी गठन गर्ने सहमति भएको थियो।

भेला चलिरहेकै बेला गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल नेतृत्वको समूहले कार्यक्रम स्थलमा आएर मञ्चमा चढी होहल्ला, ब्यानर च्यात्ने, माइक र कुर्सी तोडफोड गर्ने कार्य गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडीमाथि सांघातिक आक्रमण गरेको आरोप जिल्ला कमिटीले लगाएको छ।

घटनाक्रमको दौरान धकेलाधकेलमा परेर अर्जुन पौडेल स्वयम् पनि चोटग्रस्त भएका थिए। तर, उक्त घटना एकातर्फी रूपमा प्रस्तुत गरिएको भन्दै पर्वत कमिटीले आपत्ति जनाएको हो।

Advertisement

जिल्ला कमिटीले फेसबुक स्टाटस तथा सामाजिक सञ्जालको भरमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि आपत्ति जनाउँदै ती सबै भ्रामक र एकपक्षीय भएको दाबी गरेको छ। “आफ्नो गल्ती ढाकछोप गर्नका लागि गरिएको अनर्गल प्रचारलाई आधार मानी प्रसारित समाचारहरू वास्तविकता विपरीत छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीभित्र अनुशासन र विधिको पालना हुनुपर्नेमा जोड दिँदै जिल्ला कमिटीले जिल्ला अध्यक्षमाथिको हमला कदापि क्षम्य हुन नसक्ने बताएको छ। पार्टीको अनुशासन र मर्यादालाई कुल्चेर भएको यस्ता गतिविधिमाथि तत्काल कडा कारवाही गर्न केन्द्रसमक्ष आग्रह गरिएको छ।

अन्त्यमा जिल्ला कमिटीले आक्रमणमा परेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश सदस्य अर्जुन पौडेलसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

यसअघि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरी पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको थियो ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको सांघातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका थिए ।

पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो। पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रुप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ।

विज्ञप्तिमा घाइते नेता पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। “समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढंगले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,” विज्ञप्तिमा उल्लेख छ।

घाइते पौडेलको उपचार पोखराको फेवासिटी अस्पतालमा भइरहेको छ । पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किंदा अर्जुनमाथि एमालैकै कार्यकर्ताबाट भौतिक आक्रमण भएको हो । उनको अवस्था खतरा बाहिर छ ।

तपाईको प्रतिक्रिया