अन्नपूर्ण पदयात्रा मार्ग सरसफाई अभियान
२ सय ९० किलो प्लास्टिकजन्य फोहोर संकलन

पोखरा । नेपाली सेनाको कृष्णदल गणको अगुवाईमा विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गको सरसफाई अभियान सकिएको छ । वैशाख २१ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको ‘पदयात्रा मार्ग सरसफाई अभियान’ अन्तर्गत करिब २ सय ९० किलो प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ ।
पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्कीको अवधारणा र श्री नंम्बर ३ वाहिनी अड्डाको निर्देशन अनुसार श्री कृष्णदल गण, फूलबारी ब्यारेकले यो अभियान सञ्चालन गरेको हो । अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले गरेका थिए ।

सरसफाई अभियान झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, सिनुवा, बाम्बो र देउराली जस्ता पर्यटकीय क्षेत्रहरूमा सञ्चालन गरिएको थियो । अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समूह, तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
अभियानको अन्तिम दिन संकलित फोहोर एक कार्यक्रमबीच सेनानी पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङको उपस्थितिमा एक्याप छोम्रोङका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गरे ।
पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन तथा पदयात्रीको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानको स्थानीय जनप्रतिनिधि, व्यवसायी, र सरोकारवालाले मुक्तकण्ठले प्रशंसा गरेको नेपाली सेनाको दाबी छ ।

तपाईको प्रतिक्रिया