कास्की प्रहरीको अभियान : विद्यार्थीसँग १ दिन

पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्बीचोक कास्कीको आयोजनामा तथा सिदार्थ लवडेल बोर्डिङ स्कुलको सहकार्यमा एक दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ। पोखरा महानगरपालिका वडा नं. ९ स्थित सिदार्थ लवडेल बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई जिल्लास्थित प्रहरी कार्यालय कास्कीमा भ्रमण गराइएको हो।
कार्यक्रमको क्रममा विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा प्रवाह, अपराध अनुसन्धान प्रक्रियाहरू, महिला तथा बालबालिकासम्बन्धी मुद्दा व्यवस्थापन लगायतका विषयहरूमा प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।

उक्त अवलोकन भ्रमण कार्यक्रम प्रहरी निरीक्षक राजकुमार कार्कीको सहजीकरणमा सम्पन्न भएको हो। उनले विद्यार्थीहरूलाई प्रहरी प्रशासनको कार्य पद्धति, अपराध न्यूनीकरणका उपाय, र सामुदायिक प्रहरी अवधारणाको महत्वबारे समेत जानकारी गराएका थिए।
यस कार्यक्रममार्फत विद्यार्थीहरूमा प्रहरी प्रणालीप्रति बुझाइ बढाउनुका साथै उनीहरूलाई समाजमा कानुन पालना र सुरक्षाप्रति सचेत बनाउने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया