विज्ञान प्रविधिमा बिर्को लगाउने अविवेकी निर्णय

जिपास्टको हठात् खारेजी : एउटा विज्ञान प्रेमीको आत्मवृत्तान्त

डा‌‍. प्रयान पोखरेल २०८२ वैशाख २६ गते १२:३२


गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) मा म जागिरकf लागि होइन, केही उद्देश्य अनि सपना बोकेर आएको थिएँ। विज्ञान प्रविधिको क्षेत्रमा केही नयाँ काम गर्नुपर्छ भन्ने हुटहुटी मनमा थियो । विज्ञान प्रयोगशालाको बन्द कोठाबाट मात्र होइन, पाठ्यपुस्तकबाट बाहिर निस्किएर जनजीवनसम्म पुग्ने खालको कामा लिग हाम्रो टिम लागीपरेको थियो । हामीले काम थालेका ठाउँ, जहाँ विद्यार्थीहरूले प्रश्न गर्छन्, आधारभूत सीप सिक्छन् ।

Advertisement

अनुसन्धानका निचोड केबल प्रतिवेदनका रुपमा मात्र सीमित नरही समुदायको हितमा लाग्छन्—नीतिनिर्माणमा समेत योगदान पुर्‍याउँछन्।

झन्डै एक दशकजति जर्मनीमा बिताएर—एग्रोबायोटेक्नोलोजीमा स्नातकोत्तर, कीट रासायनिक पारिस्थितिकीमा पीएचडी, र त्यसपछि पनि पोष्टडक्टरेट गरेपछि म सन् २०२३ को अन्त्यमा नेपाल फर्किएँ। अनि जिपास्टमा रिसर्च एसोसिएटको रूपमा आवद्ध भएँ। यो पदका लागि पीएचडीको आवश्यकता थिएन । स्नातकोत्तर मात्र पर्याप्त थियो । तर मैले पद र योग्यता भन्दा पनि नेपालमा विज्ञान प्रविधिको विकास र यसले पार्ने प्रभावका बारेमा काम गर्नका लागि अरु बिर्सेर जिपास्टसँग आबद्ध भएको थिए । मलाई लाग्थ्यो, म नेपालको वैज्ञानिक भविष्य निर्माणमा केही योगदान दिन सक्छु।

म एक्लो थिइनँ। डा. शिव देवकोटा (माइकोलोजिस्ट, पीएचडी: बर्न विश्वविद्यालय, स्विट्जरल्याण्ड), डा. सन्तोष कोइराला (केमिकल इन्जिनियर, पीएचडी: इलिनोइस विश्वविद्यालय, अमेरिका) र डा. ढकाराम भण्डारी (एनालिटिकल केमिस्ट, पीएचडी: गिसेन विश्वविद्यालय, जर्मनी) हामीसँगै थियौँ। हामी अति सिमित स्रोतसाधनका बीच काम गर्दै थियौँ । हामी सबैलाई एउटै विश्वासले बाँधेको थियो कि नेपालको विज्ञान अझ राम्रो बन्न सक्छ। हामीले गरेको कामले पक्कै पनि राम्रो नजिजा दिन्छ भन्नेमा हामी थियौं ।


जिपास्ट :  चुनौती र चौतर्फी घेराबन्दी

Advertisement

जिपास्टको वार्षिक बजेट २ करोड रुपैयाँको हाराहारिमा थियो । गण्डकी प्रदेशको कुल बजेट ३० अर्ब हाराहाहरी आउने गर्छ । कुल बजेटको तुलनामा जिपास्टलाई छुट्याइएको बजेट अत्यन्त न्यून हे । हामी जिपास्टमा विलासिता भोग गर्न वा पद प्रतिष्ठाका लागि संलग्न भएकै होइनौँ। हामी सम्भावनाका लागि आएका थियौँ  । एउटाप्रयोगशाला जसले अनुसन्धानको विविध विषयको ढोका खोल्न सक्थ्यो, विचार जन्माउन सक्थ्यो। समुदायले कसैले विज्ञानमा विश्वास गरोस् भन्ने हामीले चाहेका थियौँ।

हामी पोखरा–७ मा रहेको सानो कार्यालय र पोखरा–३३ (भरतपोखरी) मा रहेको प्रयोगशालाबाट काम गर्दै थियौँ, जुन प्रयोगशाला सहरदेखि करिब १५ किलोमिटर टाढा थियो। धेरैलाई थाहा नै थिएन यस्तो संस्थाको अस्तित्व छ भन्ने। तर जसलाई थाहा थियो, तिनीहरूले यसलाई विशेष मानेका थिए।

जनशक्ति अत्यन्त कम थियो। अधिकांश कर्मचारी अस्थायी र करारमा थिए। बजेटको अवस्था त झन् कहालिलाग्दो । रसायन किन्नेसम्मका साना कामहरूमा पनि प्रशासनिक झन्झट झेल्नुपर्दा काम हप्तौँ रोकिन्थ्यो। प्रदेश सरकारले वार्षिक रुपमा विनियोजन गरेको रकम वाहेक जिपास्टको आफ्नै कुनै कोष थिएन, बाह्य अनुदान वा साझेदारीको पहुँच त हुने कुरै भएन । अनुदानको लागि आवेदन दिन सक्ने कानुनी संरचना थिएन, दाता खोज्न सक्ने छुट थिएन, न बैंक खाता नै थियो। सबै खर्च कडाइका साथ सरकारकै प्रशासनिक प्रक्रियाबाट आउनुपर्थ्यो।

त्यही सीमाभित्र हामीले काम गरिरह्यौँ। मितव्ययिता अपनाएर कसरी कम खर्चमा काम गर्न सकिन्छ भन्ने उपाय लगाएर चुपचाप काममा लागिरह्यौँ। किनभने हामीलाई विश्वास थियो विज्ञान आवश्यक छ भन्ने। ज्ञान केही सीमित व्यक्ति र समुदायको मात्र सम्पत्ति होइन, यसको उपभोग सबैले गर्न पाउनुपर्छ भन्ने हामीलाई लागेको थियो ।


जिपास्टको प्रभाव: शिक्षादेखि अनुसन्धानसम्म

यी सबै चुनौतीका बीच पनि जिपास्ट विद्यार्थी, शिक्षक र युवा अनुसन्धानकर्ताहरूको केन्द्र बन्यो। हामीले साँच्चिकै नागरिकसम्म पुग्ने कार्यक्रमहरू डिजाइन गर्‍यौँ। ९० भन्दा बढी माध्यमिक विज्ञान शिक्षकहरू हाम्रो कार्यशालामा सहभागी भए । उनीहरुले सस्तो उपकरण, साना प्रयोगहरू, र जिज्ञासामूलक शिक्षण पद्धतिबारे सिक्न पाए ।

हामीले विद्यार्थीहरूलाई रोबोटिक्स र इलेक्ट्रोनिक्स सिकायौँ—विज्ञानको व्यावहारिक पक्षका बारेमा जानकारी गरायौँ। २५० भन्दा बढी विद्यार्थीहरूले प्रयोगशालामा वैज्ञानिक उपकरण सञ्चालन सिके। ३ जना पीएचडी स्कलरले प्रयोगशालामा पूर्णकालीन अनुसन्धान गरे । हालसालै मात्र ६ जना स्नातक तहका इन्टर्नहरू जिपास्टमा आवद्ध भएका थिए । यसवर्ष विश्वविद्यालयका २० भन्दा बढी विद्यार्थीहरूलाई थेसिसको लागि आर्थिक सहयोग पनि गरियो।

प्रयोगशालामा विगत ४–५ वर्षमा खरिद गरिएको करोडौँ बराबरको उपकरण थियो, तर वास्तविक शक्ति उपकरणभन्दा बढी जनशक्तिमा थियो। दक्ष, जोशिला, शिक्षण र सिकाइप्रति समर्पित कर्मचारीहरू। हामीसँग विद्यार्थीहरू डराउँदै आउँथे, आत्मविश्वासी भएर फर्किन्थे। जिपास्टले उनीहरूलाई सिक्नका लागि उपकरण मात्र उपलब्ध गराएन बरु उनीहरुलाई अगाडि बढ्न सक्ने ठाउँ दियो।

हामीले यसबीचमा २ हजार भन्दा बढी कार्यक्रमहरू सञ्चालन गर्‍यौं । जसमा विद्यार्थी–केन्द्रित तथ्यांक विश्लेषणदेखि जैव-सूचना प्रविधि (बायोइन्फरमेटिक्स) र माइक्रोस्कोपीसम्मका कार्यशाला, विज्ञान संवाद, तालिमहरू थिए । जिपास्ट जतिबेलासम्म अस्तित्वमा रह्यो त्यतिबेलासम्म विज्ञानलाई वास्तविक, व्यक्तिगत र व्यावहारिक बनायो।

विज्ञान र नवप्रवर्तनको अपमान

अचानक, गण्डकी प्रदेश सरकारले “गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, २०७६” खारेज गर्‍यो । सार्वजनिक परामर्श, पूर्वसूचनाबिनै संस्थाको कानुन नै खारेज गरियो, । प्रदेश राजपत्रमा २०८२ वैशाख ८ गते यो सूचना छापियो। अनुसन्धानमा काम गरिरहेका हामीहरुले त्यहि राजपत्रबाट जागिर गएको जानकारी पायौं । र यसरी जिपास्ट विघटन गरियो । सम्पूर्ण अधिकार, सम्पत्ति र जिम्मेवारी शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा स्थानान्तरण गरियो। मन्त्रालयमा विज्ञान प्रविधिको मर्म बुझिदिने कोही भए पो ।

नेपालको संविधान (२०७२) ले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास, र प्राविधिक जनशक्तिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। अनुसूची ७ मा विज्ञान र प्रविधि दुवै संघ र प्रदेश सरकारको साझा अधिकार भनेर उल्लेख छ।

तर त्यो संवैधानिक प्रतिबद्धताको उल्लंघन गरियो। न सार्वजनिक छलफल भयो, न कुनै प्रगति मूल्यांकन, न सरोकारवालासँग सल्लाह। जिपास्ट बन्द नगर्नका विभिन्न वैज्ञानिक संस्थाहरुले लिखित रूपमा मन्त्रालयमा अनुरोध पत्र बुझाए । तर सरकार चुप लाग्यो। न त स्थानान्तरणको योजना बनायो, न कुनै वैकल्पिक संरचना तयार पार्‍यो। सबै कर्मचारीहरूको करार रातारात अन्त्य गरियो। उपकरणहरू त बाँकी छन्, तर जिपास्टको आत्मा भएर काम गरेका वैज्ञानिकहरुलाई अमपानपूर्ण तरिकारले बहिर्गमन हुन वाध्य पारियो ।

राजनीतिक दाउपेचमा हारेको विज्ञान

संस्था विघटन र कानुन खारेजका सन्दर्भमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा बोले अनुसार, अब जिपास्टका सबै उपकरण गण्डकी विश्वविद्यालयमा लगिनेछन्। यो भनाइ आफैमा हास्यास्पद छ।

जिपास्ट केवल एउटा संस्था थिएन, यो एउटा दृष्टिकोण थियो—स्वायत्त, समावेशी चरित्रको । हामी एउटै विश्वविद्यालयसँग मात्र सिमित थिएनौँ। हामी पोखरा विश्वविद्यालय, गण्डकी मेडिकल कलेज, वन विज्ञान अध्ययन संस्थान, पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, र गण्डकीका ५० भन्दा बढी विद्यालयहरूसँग मिलेर काम गर्थ्यौँ। जिपास्ट सबैका लागि खुला थियो। हामीले पाठ्यक्रमको सीमामा रहेर होइन, आवश्यकता र नवप्रवर्तनका आधारमा कार्यक्रमहरू बनाएका थियौँ।

तर गण्डकी विश्वविद्यालयको अनुसन्धान सिमित छ । जसले सीमित स्रोतसाधनमा काम गर्छ, र आफ्नो प्राथमिकतालाई मात्र हेर्छ। के उसले अन्य मेडिकल, इन्जिनियरिङ वा वन विश्वविद्यालयका विद्यार्थीहरूलाई प्रयोगशाला दिने सम्भावना अत्यन्तै कम छ। के उसले प्रदेशव्यापी विज्ञान विस्तार, युवा नवप्रवर्तनकर्ताको मार्गदर्शन गर्छ < अहँ पटक्कै सक्दैन ।

मलाई लाग्छ गण्डकी प्रदेश सरकारले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो भूल हो यो । जिपास्टको खारेजी वैज्ञानिक मूल्यांकनका आधारमा गरिएकै छैन । यो केबल राजनीतिक नेतृत्वको लहडपूर्ण निर्णय थियो। छोटो अवधिको राजनीतिक शक्तिको खेलमा, दीर्घकालीन दृष्टिकोण गुमाएको छ सरकारले । नेपालमा राजनीतिले नगिजोलेको कुनै क्षेत्र नै छैन होला । यहाँ पनि राजनीतिले नीतिलाई मात्र होइन, नवप्रवर्तनलाई पनि गहिरो खाडलमा धकेलिदियो ।

जिपास्ट आफ्नो शक्ति विस्तारमा कहिल्यै लागेन । हामी त नतिजामूखी काममा तल्नीन थियौँ। सानो समूह र सीमित स्रोतबाट पनि नवप्रवर्तन सम्भव छ भन्ने देखाएका थियौँ। यदि सरकारी प्रणालीले अनुमति दिन्थ्यो भने, हामी अझ धेरै गर्न सक्थ्यौँ। राजनीतिक र प्रशासनिक नेतृत्वले सिर्जनशीलताको सट्टा नियन्त्रण रोज्यो।


प्रदेशको लागि क्षति

यो केबल एउटा संस्था खारेजीको विषयमात्र रहेन । जिपास्टले देखेको सपना र विज्ञान तथा प्रविधिको विकासको सपनामाथिको तुषारापात थियो । जिपास्ट केही थान व्यक्तिले जागिर खाने संस्था होइन कि विज्ञान प्रविधि नेपालमै हुर्किन सक्छ भन्ने वाचा र प्रतिवद्धताको आधार पनि थियो  । युवाहरू विदेश नगइ  परिणामुखी अनुसन्धान गर्न सक्छन् भन्ने, शिक्षकहरू सुधार गर्न सक्छन्, विद्यार्थीहरूले अझ उच्च लक्ष्य राख्न सक्छन् भन्ने बलियो आधार थियो । अब त्यो वाचा र प्रतिबद्धताको जरा नै समाप्त पारियो ।

त्यति दुखले स्थापना गरेको प्रयोगशालामा धुलो जम्नेछ। तालिमहरू बन्द हुनेछन्। विद्यार्थीहरू जाने ठाउँ पाउने छैनन्। शिक्षकहरू पुरानै शैलीमा फर्किनेछन्। एक पुस्ता अनुसन्धानकर्ताहरू प्रश्न गर्दै बस्नेछन्—रातारात बन्द गर्नकै लागि किन संस्था खडा गर्ने भनेर ।

हामी नेपालबाट ब्रेनड्रेन रोक्नुपर्ने कुरा गर्छौँ। तर हामी तिनलाई के फिर्ता बोलाइरहेका छौँ <  एउटा सानो तर समावेशी, प्रभावकारी वैज्ञानिक संस्था यस्तो सजिलै बन्द गर्न सकिन्छ भने, हामीले के सन्देश दिइरहेका छौँ <

फेरि भन्छु यो केल बजेट कटौती र संस्था खारेजीको मात्र सवाल होइन। यो त विज्ञान प्रविधिको विकासमाथिको ठूलो विश्वासघात हो । यसले राजनीतिक र प्रशासनिक नेतृत्व भविष्यप्रति कति चिन्तित हुन सक्छन् भन्ने सवाललाई समेत उदांगो पारिदिएको छ ।


अब के ?

मलाई थाहा छैन, अब के हुन्छ। म व्यक्तिगत रूपमा विज्ञानमा काम गर्दै जानेछु। जुन यसअघि पनि गर्दै आएको थिएँ । तर मलाई मभन्दा पनि  अरूको चिन्ता लागेको छ । जिपास्टमा भर्खरै आबद्ध भएका इन्टर्नहरू, थेसिस सकाउँदै गरेका विद्यार्थीहरू, नवप्रवर्तन देख्न थालेका शिक्षकहरू। अधुरो अनुसन्धान, अधुरो नमुना—सबै अब अधुरै रहनेछन्।

र मलाई नेपालको, गण्डकी प्रदेशको विज्ञानको भविष्यप्रति चिन्ता लाग्छ। किनभने वैज्ञानिक संस्था एक दिनमा निर्माण हुँदैन। तिनीहरूलाई हुर्काउनु पर्छ, संरक्षण गर्नुपर्छ, लगानी गर्नुपर्छ। जब तिनीहरू फक्रन थाल्छन्, ती संस्थालाई निमोट्न होइन—अझ बढ्न सहयोग गर्नुपर्छ। जिपास्टलाई फक्रने र फुल्ने मौका चाहिएको थियो । तर उसलाई अनाहकै निमोठियो ।

तपाईको प्रतिक्रिया