
केही महिनादेखि उपयुक्त समयको पर्खाइमा थिएँ । एउटा परिस्थिति मिल्दा अर्को नमिल्ने, फेरि उ मिल्दा पल्लो नमिल्ने जस्तै भइरहेको थियो । कुनै पनि दिन धेरै कुराको मेल पर्ने अनि हिँड्न सकिने जस्तो लागे पनि, आफ्नो शरीरलाई भने साइक्लिङको काबुमा नै राखेको थिएँ । अझ भनूँ भने, शरीर पूरै फर्ममा नै थियो ।
पोखराबाट मुस्ताङको मुक्तिनाथ मन्दिर करिब २ सय किलोमिटर टाढा छ । जाँदा–आउँदा झन्डै ४ सय किलोमिटर यात्रा साइकलमा पूरा गर्नुपर्ने हुन्छ । समुद्री सतहबाट ३ हजार ७ सय मिटरभन्दा माथि पर्छ मुक्तिनाथ । पोखराको औसत उचाइ करिब ८ सय मिटर भएकाले करिब ३ हजार मिटर उचाइ उक्लनुपर्ने हुन्छ ।
पोखरामा साइक्लिङ गर्ने केही साथीभाइसँग मैले यो योजनाबारे छलफल पनि गरेको थिएँ । तर उस्तै उत्साही साथी भेटिनँ । यात्राको पवित्र गन्तव्यलाई शिरमा राखी एक्लै हिँड्ने निर्णय गरेँ । निस्कने बेलामा उमेरले ८० कटिसक्नुभएकी आमाले आशीर्वाद दिँदै भन्नुभयो, ‘जा बाबु, तँले सक्छस् ।’ बच्चाहरूले पनि हौसला थपे । मेरा हरेक प्रयासमा साक्षी बन्ने र पूर्ण साथ दिने जीवनसंगिनीप्रति म नतमस्तक छु । खासमा, यो साइकल यात्रा म उहाँप्रति नै समर्पित गर्छु ।
घरबाट पोखराको हेमजा फेदीसम्म त एकै सासमा पुगेजस्तो लाग्यो । केटाकेटी झैं साइकल चलाएँ । स्कुटर लगायत अन्य सवारीसाधनलाई ओभरटेक गर्दै विस्तारै आउनुस् है! भन्दै जिस्क्याउने फुर्सद पनि पाएँ । तर घट्टेखोला पुल तरेपछि नौडाँडाको उकालोमा आइपुग्दा आफ्नो वास्तविक हैसियत बुझियो । लामो यात्राका लागि होसियारी जरुरी छ भन्ने कुरा बुझेँ र विस्तारै उकालो छिचोल्दै अघि बढेँ ।

काँडे बजारसम्म आइपुग्दा यात्राको मुख्य उकालो सकियो । यहीँ लामो सुस्केरा फेरें । खुट्टाले पाउदानी ढेल्दै पहाड चढ्न सजिलो रहेनछ, कान्छा भन्दै आफैलाई सम्झाएँ । अब त कालीगण्डकी भेटुञ्जेल ओरालोमात्र हो भन्ने सोच्दै हौसिएँ ।
लुम्लेबाट भने आकासको पानीले अप्ठ्यारो पार्यो । लाग्यो—पहिल्यै जानु पथ्र्यो, ढिला भइहालेछ, बर्खा लागिहाल्यो । रेनकोटको भरमा मालढुंगा पुगें । लामो समय बसें, चिया पिएँ । पानी रोकिएन । विकल्प खोज्दै अघि बढेँ । मालढुंगाबाट अलि पर पुगेपछि पानी परिरहेको थिएन । नेपालका उत्तरी भेगहरू सामान्यतया कम पानी पर्ने क्षेत्र मानिन्छन् ।
बाटोमा पर्ने बागलुङ कालिका र गलेश्वरधाम दर्शन गर्नैपर्ने पवित्र स्थल हुन् भने तातोपानी स्नान गर्नुपर्ने ठाउँ । यात्राको दोस्रो दिन सहर छाडेर गाउँतिरको बाटो समात्नु थियो । बिहानको खाना दाना बजारमा खाएँ, राति बास लेतेमा । रुप्चेको झरनामा थकान मेटाउँदै सुस्ताएँ । कतै पिच, कतै कच्ची बाटो । कच्ची बाटोमा असाध्य धूलो ।
कालीगण्डकी सभ्यता पच्छ्याउँदै बनेको यो बाटोमा प्रशस्त हावा चल्नु सामान्य कुरा हो । धूलो बाटो, गाडीको लस्कर अनि कालीगण्डकीको हावा, यस्तो अवस्थामा उकालो चढ्दै गरेको साइकल यात्रीको हालत के होला ? लेते बजारअघि घाँसा बजार आउँछ । घाँसाको पुरानो बजार मुख्य सडक बाहिरिएपछि ओझेलमा परेको छ, नेपालका धेरै बजार जस्तै । घाँसामा प्रहरी चेकपोस्ट छ । सवारीसाधन र यात्रुले यहाँ नाम दर्ता गर्नुपर्छ । मलाई पनि विदेशी पाहुना ठानेका रहेछन् ।
परिचयपछि नाम दर्ता गराई यात्रा सफलताको शुभकामना दिए । तेस्रो दिनको यात्रा लेतेबाट सुरु भयो, गन्तव्य मुक्तिनाथ । टुकुचे हुँदै मार्फा पुगेर ब्रेकफास्ट खाएँ । टुकुचे–मार्फा क्षेत्रमा स्याउका बगान देखिन्छन् । मार्फाको भित्री बजार लोभलाग्दो छ । सडकबाट टाढा भए पनि बजार संरक्षणमा मार्फाली सफल छन् । केही स्थानीयसँग गफिँदै थकान मेटाएँ ।
मार्फादेखि जोमसोमसम्मको बाटो एकदमै धुलो थियो । खासै उकालो नभए पनि कालीगण्डकीको हावा र गाडीको लस्करले हैरान पा¥यो । दुई–तीन वटा मास्क फेर्नुप¥यो । अब बाटो पिच हुने अवस्थामा रहेछ भन्ने थाहा पाएपछि मनमनै माफी दिएँ !
जोमसोममा केही आफन्त भेट्न समय छुट्याएको थिएँ । तीमध्ये हुनुहुन्थ्यो—घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन । उहाँको कार्यकक्षमा पुगेँ । सोध्ने प्रश्न तयार थियोः मार्फा–जोमसोमको बाटो कहिले पिच गर्नुहुन्छ मेयरसा’प ? तर उहाँ यति स्मार्ट कि भित्र मन्त्रीसहितको टोली भएको बेला पनि मलाई बोलाएर स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिई पठाइहाल्नु भयो । यद्यपि, मेरो प्रश्न र खबरदारी भने अझै बाँकी छ ।
नेपथ्यको लोकप्रिय गीत ‘जोमसोमे बजारमा बाह्र बजे हावा सररर’मा भनिएजस्तै वास्तवमा, हावा एघार बजेदेखि सुरु भई चार–पाँच बजेसम्म चलिरहन्छ ।जोमसोम छाड्दा करिब दुई बजेको थियो । जोमसोमबाट कागबेनी जाने क्रममा पुलपारिको प्रहरी चौकीमा मलाई विदेशी होइन, नेपाली साइकल यात्री भन्ने पुष्टिपछि पठाइयो । नेपाल प्रहरीको यस्ता विवरण संकलन र अनुमति प्रक्रियाले सुरक्षाको अनुभूति दिन्छ । यस रुटमा प्रहरी उपस्थिति देख्दा देश भगवान भरोसामा मात्र छैन भन्ने आश्वासन मिल्छ ।
कालीगण्डकीको हावा सरर, पिच बाटो छ, खासै उकालो छैन, अरु गाडी पनि छैनन् । यस्तो बेला साइकल गुडाउँदा जुन स्वर्गीय आनन्द अनुभव गरेँ, त्यो अनुभव मैले दस वर्षको साइक्लिङ यात्रामा कहिल्यै पाएको थिइनँ ।
कागबेनी पुगेर दिवंगत पिताहरूको सम्झना गरेँ अनि मुक्तिनाथतर्फ ठडिएँ । हावा तीव्र थियो—केही पटक त मलाई साइकलसहित उडाइदिन्थ्यो । कहिलेकाहीँ उडाएर ठ्याक्कै पछाडि फर्काइदिने । दुई–तीन पटक त झन्डै कालीगण्डकीमै खस्छु कि जस्तो लाग्यो। मनमनै सोचें, ‘मुक्तिनाथ मन्दिर जाँदै छु, कालीको हावाले होइन, मुक्तिनाथले शीतल बनाइदिएको होला ।’
कागबेनीदेखि मुक्तिनाथ करिब १५ किलोमिटर टाढा छ । एउटा ठूलो पहाड चढ्नुपर्ने । ‘शिरै मुक्तिनाथ, कालीगंगा कागबेनी’ भन्ने भजनको झल्को आयो । उकालो चढ्दै गर्दा साइकलको पाइडल चलाउँदा हावाले लडाइदिने । कैयौं पटक लडेँ साइकलसहित । उठ, चल, प्रयास गर—विकल्प छैन । खिन्सार गाउँसम्म पुगेर लामै विश्राम गरेँ ।
अब झारकोट नपुगुन्जेल रोकिन्नँ भनेर फेरि चलाएँ । उचाइसँगै अनौठो थकान लाग्न थाल्यो । रानीपौवासम्म पुग्न धेरैपटक विश्राम गरें । अब मसँग साइकल चलाउने ऊर्जा थिएन । डेढ किलोमिटर बाँकी हुँदासम्म साइकल डोहो¥याएँ । अन्ततः मुक्तिनाथ पुगेँ । उचाइ, धूलो, हावा र थकानले बिरामी भइसकेको थिएँ । होटलमा कोठा लिएँ, मनतातो पानी पिएँ र सुतेँ । खाना खान त के, भान्सासम्म जान पनि सक्ने शक्ति थिएन ।
भोलिपल्ट बिहान तातोपानी पिएपछि ऊर्जा फर्कंदै गएको अनुभूति भयो । फ्रेस भएर साइकल निकालेँ । ममात्र होइन, मेरो प्यारो साइकललाई पनि मुक्तिनाथ मन्दिर पु¥याउनुपर्ने थियो । सिँढीबाट बोकेर हामी दुवै पुग्यौं विष्णुनारायणको दर्शन गर्न । मेरो सपना पूरा भयो !
फर्कंदा सिधै तातोपानीसम्म पुगेँ । तातोपानी कुण्डमा नुहाएर थकान आधा घटाएँ । यात्राको अन्तिम दिन तातोपानीदेखि पोखरा सररै आइजसे भो । यो यात्रा सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद छ ।
अन्त्यमा, पोखरा–मुक्तिनाथ–पोखरा साइकल यात्रा पाँच दिनमै सकिन्छ भन्ने कुरा सम्पूर्ण साइकल राइडर साथीहरूलाई दिलाउँछु । केही अफ्ठ्यारा भए तापनि, यात्राले मलाई अत्यधिक ऊर्जा दिएको छ । चार दिनसम्म कालीगण्डकीसँगै कुदेर मुक्तिनाथ पुग्न सकेँ र सकुशल फर्किएँ ।

तपाईको प्रतिक्रिया