गण्डकी प्रदेशमा आत्महत्याका कारण १ वर्षमा ६ सय ५७ जनाको ज्यान गयो

समाधान संवाददाता २०८२ वैशाख २६ गते १६:१०

पोखरा । वर्डलिंक कम्युनिकेसन लिमिटेड र साइकटेस्क फाउन्डेसनले सरोकारवालालाई आत्महत्या रोकथाम सहजीकरणसम्बन्धी तालिम दिएका छन् । पोखरा महानगरपालिकाको संयोजनमा भएको ५६ औं समूहको तालिममा स्वास्थ्य, शिक्षा क्षेत्रका कर्मचारी, शिक्षक प्राध्यापक विद्यार्थी गरी ३० जनाको सहभागिता थियो ।

Advertisement

२ दिनसम्म भएको तालिममा साइक डेस्क फाउन्डेसनका संस्थापक डा नरेन्द्रसिंह ठगुन्ना र मनोविद ज्योत्सना डांगीले सहजीकरण गरेका छन् । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठगुराठीले सहभागीले तालिमलाई व्यवहारमा उतार्न सके आत्महत्या रोकथाम तथा न्यूनीकरणलाई सहयोग पुग्ने बताए । उनले विद्यालय तथा क्याम्पससम्म तालिम प्रशिक्षण गर्न सके समुदायसम्म आत्महत्या रोकथामका लागि सहयोग पुग्ने उल्लेख गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिम्सिनाले आत्महत्या रोकथामको विषयलाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । महानगरको नीति तथा कार्यक्रममा राखेर आत्महत्या रोकथामको क्षेत्रमा काम भएको उल्लेख गर्दै उनले वडा तहमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि समिति गठन गरेर काम भएको बताए ।
वल्र्डलिंकका सेयर सदस्य तथा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) प्रमुख अनुपा भण्डारी जलानले संस्थाले समाजप्रतिको उत्तरदायित्व, समाज विकास र उत्थानका लागि कार्यक्रम गरेको जानकारी दिइन् । वल्र्डलिंकले महिलाको सशक्तीकरण, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेको जानकारी दिदै उनले १० हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेटको सुरक्षित प्रयोगबारे तालिम दिएको बताइन् ।

साइकडेस्क फाउन्डेसनका संस्थापक ठगुन्नाले आत्महत्या सामुदायिक स्वास्थ्यको विषय भएको बताए । ‘सरोकारवाला निकायको समन्वय र प्रभावकारी कार्यक्रम गरेको खण्डमा आत्महत्यालाई शत प्रतिशत रोकथाम गर्न सकिन्छ,’ उनले भने, ‘तर नेपालको सन्दर्भमा आत्महत्यालाई शून्यमा झार्न कठिनाई छ ।’

उनले दिगो विकास लक्ष्य अनुसार प्रति १ लाखबाट ४ दशमलव ७६ झार्न सम्भव नभएको बताए । उनले सञ्चार माध्यममा आत्महत्याको घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेको व्यक्तिको ज्यान जोगाउन सहयोग पुग्ने दाबी गरे । उनले आत्महत्याका सम्भावित साधन तथा माध्यममा पहुँच सीमित गर्न संवेदनशील मिडिया रिर्पोटिङ गर्नुपर्नेमा जोड दिए ।

Advertisement

आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा ७ हजार २ सय २३ जनाको आत्महत्याको कारण ज्यान गएको छ । गण्डकी प्रदेशमा आत्महत्याका कारण ६ सय ५७ जनाको ज्यान गएको उनले उल्लेख गरे । तालिम समापान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सरला ढकाल, प्रशिक्षक ज्योत्सना डांगी, सहभागी जीवा शर्मा लगायतले तालिमको महत्वबारे बोलेका थिए ।

डा ठगुन्नाका अनुसार आत्महत्या रोकथामका लागि साइडवाकटक कम्युनिटी लिसनिङ परियोजना पोखरामा सुरुवात गरिने भएको छ । पहिलो चरणमा २ दिन महानगरका विभिन्न सार्वजनिक स्थलमा गर्ने कामर्यक्रममा लेकसिटी कलेजका सामाजिक अध्ययन विषयका १० विद्यार्थी स्वयंसेवकका रुपमा खटिने छन् ।

तपाईको प्रतिक्रिया