मुस्ताङको कोवाङ- सौरु पुल अधुरै

सुन्दरकुमार थकाली २०८२ वैशाख २६ गते १६:२७

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने कालिगण्डकी वारिपारीका गाउँ जोड्ने पक्की पुल निर्माण फेरि अलपत्र परेको छ । कोवाङ—सौरु जोड्ने पक्की पुलको फाउन्डेसन तथा सिभिलको ७५ प्रतिशत भौतिक प्रगति हुँदा पुल निर्माणको काम विगत ५ महिनादेखि अलपत्र परेको हो ।

Advertisement

मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन कोवाङ र सौरु जोड्ने ५ सय ७० मिटर लम्बाई र २ मिटर चौडा सस्पेन्स पुल निर्माण २०७७ साल ३० बैशाखमा सस्पेन्स ब्रिज डिभिजन कार्यालय काठमान्डौले इलाइट रुविना कन्ट्रक्सन जेभीसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुवाती चरणमा ज्वाइन्ट भेन्चरको मुख्य कम्पनी इलाइट कन्ट्रक्सनले कोवाङ—सौरु जोड्ने पुल बनाउने जिम्मा लिएको भए पनि रुविनाले पुलको आशिंक काम गरेर निर्माणको काम त्यसै अलपत्र पारेर छाडेको थियो ।

ठेक्का सम्झौता अनुसार ३० महिनाको समयावधि तोकिएको कोवाङ सौरु जोड्ने सस्पेन्सन पुल निर्माण २०७९ साल कार्तिकसम्म सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले कोरोना कहर, हिमपात र प्रतिकूल मौसमको कारण देखाउँदै म्याद थप गर्दै आएको थियो ।

सुरुवाती ज्वाइन्ट कम्पनी रुविनाले निकै लामो समयसम्म (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुलको काम अलपत्र पारेर छोडेपछि गत वर्षको फागुनदेखि ज्वाइन्ट पार्टनर इलाइट कन्ट्रक्सनले जिम्मा लिएको थियो । कालिगण्डकी नदीमा सस्पेन्स पुल बनाउन इलाइट कम्पनीले प्रतिनिधिको रुपमा निकेश श्रेष्ठलाई कार्यस्थलमा खटाएको थियो ।

पुल निर्माणका लागि निकेश श्रेष्ठ कार्यस्थलमा आएर फर्किएलगत्तै गत मंसिर महिनासम्म कोवाङ¬—सौरु जोड्ने पुलको कालिगण्डकी वारिपारी फाउन्डेसन निर्माणका साथै कालिगण्डकी नदीमा दुई वटा ६ मिटर गहिरो फाउन्डेसन निर्माणको संरचना निर्माण सकिएको छ । अहिले इलाइट कन्ट्रक्सनले खटाएका प्रतिनिधि निकेशले पुलको सिभिलको सबै काम सम्पन्न गरिसकेका छन् ।

Advertisement

तर, प्रतिनिधि श्रेष्ठलाई पुलको लाट्ठो तान्ने र पुल फिनिसिङको काम बाँकी रहँदै गर्दा इलाइटले जिम्मेवारीमा अलग गराएको छ । प्रतिनिधि श्रेष्ठले कोवाङ—सौरु सस्पेन्सन पुलको भौतिक प्रगति ७५ प्रतिशत सकिएको जानकारी दिए । ‘पुलको सबै सिभिलको काम सकियो, अब पुल फिटिङको काममात्रै बाकी छ’ प्रतिनिधि श्रेष्ठले भने, ‘मैले सरासर गर्न पाएको भए अहिलेसम्म सकिन्थ्यो, तर, म अहिले पुलको कामबाट अलग भइसकेको छु ।’

२०७९ कात्तिकमै सकिनुपर्ने पुलको काम कोरोना कहर, हिमपात, प्रतिकूल मौसम आदि कारण देखाउँदै निर्माण कम्पनीले टार्दै आएका छन्

इलाइट कम्पनीले पुलको फिनिसिङ कामका लागि अर्को प्रतिनिधि खटाउने तयारी गरेको उनले सुनाए । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गौतम शेरचनले कालिगण्डकी नदीमा निर्माणाधीन कोवाङ—सौरु जोड्ने सस्पेन्सन पुल निर्माणको काम ६ महिनादेखि फेरि रोकिँदा चिन्तित बनेको जनाए ।

३ वर्षअगावै सकिनुपर्ने पुलको काम निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुल निर्माण सम्पन्न हुन विलम्ब भएको वडाध्यक्ष शेरचनको भनाइ छ । कालिगण्डकी नदीमा निर्माणाधीन पुलका लागि निर्माण कम्पनी इलाइटले पुलको लाट्ठो र स्टिलपार्ट समेत निर्माणस्थल नजिकै व्यवस्थापन गरेको भए पनि पुल फिटिङको कामअघि बढ्न नसकेको थासाङ २ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए ।

मुस्ताङको राष्ट्रिय राजमार्ग सडकदेखि कालिगण्डकी पारीको गाउँ सौरु, सिर्खुम र कोखेठाँटी लगायतका गाउँका बासिन्दा पुल बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्सेनि बर्खा याममा कालिगण्डकी नदीमा जोखिम मोलेर खोला तरेर आवतजावत गर्नुपर्ने सास्ती सौरु, सिर्खुम र कोखेठाँटीका स्थानीयलाई छ । कालिगण्डकी नदीमा पुल नहुँदा नदी पारीका गाउँमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा समेत समस्या पर्ने गरेको छ ।

बर्खा याममा कोखेठाँटी झोलुङे पुल तरेर डेढ घण्टाको यात्रा गर्दै गाउँपालिका कार्यालय, विद्यालय, स्वास्थ्य सेवा र सदरमुकाम जोमसोम आवतजावत गर्नुपर्ने बाध्यता त्यस क्षेत्रका स्थानीयको बाध्यता रहेको सौरु गाउँका स्थानीय सोजनले उल्लेख गरे । कालिगण्डकी नदीमा निर्माणाधीन पुल सकिएमा डेढ घण्टाको यात्रा १५ मिनेटमै तय गर्न सकिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया