महँगो

दिनेश बस्नेत २०८२ वैशाख २७ गते १८:००

साउनको तेस्रो साता । एकनासले पानी परिरहेछ । वरिपरि लागेको कुहिरोले प्रकृति डम्म छ । सामुन्नेको वनपाले, दायाँतर्फको काहुँको पाखो, बायाँतर्फको अर्मलाको पाखो जति नियाले पनि केही देखिएको छैन ।

Advertisement

आज तीन दिन भयो, यसरी नै पानी परेको । राममायाको भाँडामा अन्नको एक दानो छैन । हातमुख जोर्ने कुनै उपाय पनि छैन । त्यसैले उनी तरकारी लिएर बेच्न जाने निर्णय गरेकी थिइन् । तर सोरठीले धान रोप्न बेलाएकी छन् । नआई हुन्न भनेर उर्दी जारी गरेकी छन् । पोहोर साल दशैँमा सापट पैसा लिँदा बडो दया मानेर भनेकी थिइन्, “तलाई दुःख छ बाबै ! गाँठ पैसा त कसरी फिर्ता गर्लिस् । खेतालो आएर सट्टाकट्टा गरे हुन्छ । म पैसा मागेर तलाई सताउन्नँ । खेतालो बोला बेला अन्त नबोल, हाम्रैमा आ है ?”

उनले ठूलो गुन लगाएको ठानेर मुन्टो हल्लाएकी थिइन् । राममाया गरिब भए पनि इमान्दार थिइन् । यतिसम्म कि उनको इमान्दारपनले गाउँ पिटेको थियो । पछाडिपट्टी कुरा काट्ने पनि उनका खासै थिएनन् । अर्थात् उनका काट्ने कुरा नै केही पाउँदैनथे । प्रायःले राम्रै बखान गर्दछन्, तर के गर्नु गरिबीले कुप्रो पारेको छ । अभावले कहिल्यै उचो र हसिलो हुन दिएको छैन ।

राममाया पिढीँमा उभिएर के–के सोच्दै चुरोट तानिरहेकी छन् । उनलाई देखेर पेटारे बाख्रो कराउँछ । ओ मैना म मेलामा जान्छु, बाख्रालाई पानी तताएर त्यसमा एकमान ढुटो हालेर दे है । नातिनी सुति–सुति के भनेकी हौ यस्तो पानी आएको छ । ‘यी ढिँडाका कालले पनि मलाई कहिलै सुख र सन्तोष दिने भएनन्’ भन्ठान्छिन् तर मुखले यतिमात्र भन्छिन्–‘पानी परेको तलाई त खुब खास्सा भएको छ, अझै सिरक ओढेर सुत न ! दिन पनि जाँडै छ । के गर्नु मान्छे लखपति कहाँ जन्मने खाले होस् । कर्म खोटी भएर यो बिगार पार्‍यो ।’

बाख्रालाई हिजो काटेको बेडुलाका डाला झुण्डाइदिन्छिन् । चुलामा राखेको स्याखु झिक्छिन्, बाटो लाग्छिन् । मनमनै गन्गनाउँछिन्–‘यसका बाबुको झोल, कति पर्न सकेको हो ? जतिखेर पनि काम नपाए झैँ गरेर च्यार–च्यार परेको छ, परेको छ । एक्का ठूला–ठूला थोपा परेर आए पनि बिदो हुन्थ्यो कि ? त्यसको खोलो लाउनु पुर्‍याई–पुर्‍याई पर्नुपर्छ भन्ने झैँ परेको छ … ।’

Advertisement

‘कसलाई गाली गर्दै हिँडेकी छ है राममाया बिना सित्तैमा,’ बाटोमा भेटिएकी पोखरेलीले सोधिन् । राममायाले उक्त प्रश्नको उत्तर नदिइकन् उल्टै प्रश्न गर्छिन्, ‘तिमी पनि सोरठीको मेलामा जाने भनेकी थियौँ त अनि कता हिँडेकी हौ ?’ ‘झरी परेकाले नरोप्ने अरे !’

त्यो सुनेर राममाया औधी खुसी हुन्छिन् । घरमा बेलुकाको छाक टार्ने अन्नपात थिएन । तरकारी बेच्न गए समस्या समाधान हुने थियो । नून, तेल पनि आउने थियो । उधारो या पैँचो माग्न पर्ने थिएन । उनी निकै हलुका पाइला बनाएर घरमा फर्किइन् ।

राममाया घर फर्किन् । अझै सुतिरहेकी नातिनीलाई हकारिन्, ‘भरे रात पर्दैन जसरी कति सुत्छेस्, हिँड् त बारीमा फर्सिका मुन्टा टिप्न । म घिरौला टिप्छु ।’ क्यारी उठ्ने हो यस्तो पानी परेछ । तँलाई राड पानी आइछ भनेर कि पेटमा पनि पानीमात्र खुवाएर पेट भर्छेस् । पेटले त भरे मीठै खानेकुरा माग्छ होला नि । त्यति मुन्टा टिपेसी त भाग्यमानी सुतिरहलिस् । म अभागी बेच्न बजार जाम्ला ।


यसो भए म घिरौला टिप्छु, तिमी मुन्टा टिप । मैना प्लाष्टिकको टोप्रो ओढेर घिरौला टिप्न थाल्छे । ‘करेला पनि टिप, त्यति धेरै त छैनन् होला । अस्ति भर्खरै टिपेको हो, जति छन् टिप । त्यही महङ्गो छ,’ यति भनेर राममाया फर्सीका मुन्टा टिप्न बारीमा गइन् ।

उनले स्याखु त ओढेकी छन् तर ओढेकी छन् भन्नेमात्रै भएको छ । फरिया रुझेर ल्याफ्ल्याफ्टी भएको छ । टाउको पनि भिजेको छ । कताबाट थोपा थोपा पसेर चोलोसमेत भिजेको छ ।

बिचरा ! राममाया दुःखसुखले पिटेको जीवन जिएकी छन् । दैवले उनलाई जति कुनै आरनमा घनले फलाम पिटेको छैन । देशमा परिवर्तन ल्याउँछु भनेर श्रीमान् क्रान्तिमा लागे, मरे, बाँचेको ठेगान भएन । २६ वर्ष भयो कुनै अत्तोपत्तो नभएको । तापनि बाबुको झल्को मेटाउने छोरो थियो । निकै लाइनको थियो । पढाइ पनि राम्रो, आनिबानी पनि राम्रो ।

कति बुढाबूढीले त भन्थे, ‘यत्तिको ज्ञानी र इमान्दार केटो त सत्य जुगमा पनि भेँटिदैनथे होलान् ।’ हुन पनि देवताकै रूप लिएर जन्मे जस्तो । बैगुन भनेपछि केही थिएन । आज पनि छोराका बारेमा गुनगान सम्झिन्छिन् राममाया ।

विवाह गरेको दुई वर्षमै विचरा सुइँखेतमा मोटरसाइकल दुर्घटना भएर बित्यो । गाउँ नै रोयो । तीन दिनसम्म राममायाको होस् आएन । होस् आएपछि पनि धेरै लामो समयसम्म अधमरो भइन् । छरछिमेकी र माइतीले धेरै मेहनत गरे उपचार लाग्छ कि भनेर । पछि अनेकओली गरेर ठिक भइन् ।

अहिले परिवार भन्नु एउटी नातिनी र उनी छन् । त्यही पनि दोहलफसल सरगर्मी बढ्छ । नातिनी अटेरी हुँदा राममाया विरक्त हुन्छिन् ।

‘दुई वटा जेरी ल्याइदेऊ है आमा !’ नातिनी मैनाले डोकोमा घिरौला राख्दै भन्छे । ‘घिरौला, करेला टिपेको निमेक खोजेकी होलिस् हैन ?’, अँगालामा राखेका फर्सीका मुन्टा पिँढीमा राख्छिन् र मुन्टाका मुठा पार्न थाल्छिन् । ढोकोमा हाल्छिन् । पहिला मुन्टा, माथि घिरौला । मैना केही बोल्दिन । ह्वास्स फुलेर ट्ँवा परेर हजुरआमालाई हेर्छे । हेरिरहन्छे । ‘ल्याइदिन्छु–ल्याइदिन्छु गलफुलो आए जसरी नफुल । तेरै रिन खाएकी रहिछु । मेरो जिन्दगी यही रिन तिर्दैमा ठिक्क हुने भयो ।’

मैना निराश हुन्छे । हजुरआमाको ओठे जवाफ र रुखो वचनको अर्थ बुझ्न सक्दिन । भन्छे, ‘नल्याऊ नल्याऊ । यस्तो वचन सुनिसुनी मलाई कसैले ल्याएको जेरी खानु परेको छैन ।’ ‘मैले वचन लाउँदैमा जेरी तितो हुने होइन होला । किन निफुल्किन्छेस् ? हजुरआमा भएर त्यति बोल्न पनि पाउँदिन मैले ?’


उसका मनमा लाग्छ, बोल न त बोल, मन थिलोथिलो हुने गरी बोल तर मैना केही बोलिन् । बरु राममायाले मनमनै भनिन्, ‘भोलि कस्ताका पर्ली यो ? मैले के भनिछु र ? सासु, नन्द र अमाजूका कस्ता कोत्रे वचन सुन्नपर्ने छ, सहनुपर्नेछ । छोरी भएर जन्मेपछि वचन फर्काएर होइन पचाएर सहनु पर्दछ ।’

यति त मुख फोरेरै भनिन्, ‘हेर रामरी बुझ् मुख धान्न सकिएन भने घर न घाट भइन्छ, बेलैमा सोच । यो उमेर भनेको आनीबानी सुधार्ने बेला पनि हो ।’ मैनाभित्र पस्छे । राममाया सोच्छिन् लुगा फेर्नु प¥यो । फेरि सोचाइ बदल्छिन्, जाबो तरकारी बेच्नेले के राम्रो लगाउनु पर्‍यो र ? पानी परिरहेको छ । ओभानो लगाऊ भने पनि रुझाईहाल्छ । एकै जोर त बाँकी छन्, फर्केर आएपछि लाउनुपर्ला !

काइयो खोज्छिन् । यसो कपाल मिलाउँछिन् । डोको बोक्छिन् । जाँतोनेर भएको स्याघु घुम्लुङ्ग ओढ्छिन् । यसरी बजार हिँड्न लागेकीमात्र के थिइन्, एउटा कुरा सम्झिन्छिन् र भन्छिन्, ‘ओइ मैना मेरो सिनारीनेर चुरोट र सलाई छ, ले त ।’ दिन्नँ, खान पर्दैन चुरोट सुरोट । मैना भित्रबाट जर्केर बोली । ‘धेरै जान्ने न भ । त्यो चुरोटले गर्ने काम, तँ जाबीले गर्न सकेकी छस् ? बढ्दा बोल्दी रहिछ ।’ फेरि के ठान्छे मैनाले चुरोट दिँदै भन्छे, ‘लौ पूरै पाकेट खाएर मर । भीरट लड्ने गाईलाई राम–राम भन्ने हो, कसले काँध थाप्न सक्छ र ?’

राममाया थोते मुख देखाएर फिस्स हाँसिन् । चुरोटको पाकेट र सलाई पाएरभन्दा पनि उनले भनेको वचन सुनेर । मनमनै सोचिन्, ‘कहाँबाट आउँछन् यस्ता उखान, यस्तो उमेरमा । जे होस् दोहलफसलमा तल पर्दिन् यो केटी त्यो पनि ठूलै उद्यिम हो ।’

राममाया घरबाट ओर्लिन्छिन् । दुई वटा तेस्रो बाटो हिँड्छिन् । पानी बिदो भएको छैन । फरिया भिजेकाले हिँड्दा अप्ठ्यारो हुन्छ । ल्यालग्याल्ती भएर खुट्टा सार्न असजिलो हुन्छ । उनी फरियामाथि तान्छिन्, घुँडासम्म ल्याउँछिन् र पोड्कामा अल्झाउँछिन् । अलि सजिलो हुन्छ । सरासर हिँड्छिन् । ओरालो आउँछ । उभिएर यताउता हेर्दा मान्छे कतै देखिन्नन् । टाढा–टाढासम्म हेर्छिन्, एक्वार, स्यालेचौरको बाटो, कालीखोलाको बगर, भलाम खोला वरपर, झोलुङ्गे पुल माथि कही कतै मान्छे देखिन्नन् ।

पहिले पहिलेका घटना सुन्दा राममायालाई डर लाग्नुपर्ने हो । तर उनी डराउँदिनन् । हातमा घडी छैन, गला र कानमा गहना छैन । नामका फुलीमात्र हो गहनाको दुम्सो । अनि ज्यान कसले के गर्छ, जे पर्ला त्यही टर्ला भन्दै उनले पाइला बढाउँछिन् ।

जब झोलुङ्गे पुलनेर पुग्छिन् । त्यहाँ पानी ओत्ने पहरो छ । उनलाई त्यहाँ पुगेपछि चुरोटको तलतल लाग्छ । भारी बिसाउँछिन् र चुरोट सल्काउँछिन् । बडो रसिकलाग्दो गरी सर्को तान्छिन् । बडो आनन्द लाग्छ त्यसरी तान्दा र धूँवा फाल्दा । त्यसपश्चात् भारी बोक्छिन् । दीपको उकालो चढ्छिन् । उकालोमा भारी गाह्रौं भएको महसुस हुन्छ । केही गर्मी हुन्छ । फोक्सो, मुखबाट निस्केला–निस्केला जस्तो हुन्छ । केही क्षण उभिएर विश्राम मार्छिन् फेरि नयाँ जोस् निकालेर हिँड्छिन् । सोच्दै, यस्ता भारी यो जीवनमा कति बोकियो, कति तर आज साह्रै गाह्रो भएको छ । डोकाभरी ढुङ्गा बोके जस्तो ।

बडो मुस्किलले बजारमा पु¥याउँछिन् । पानी भर्खरै बिदो भएको हुन्छ । सधैँ चिनेजानेको सटर अगाडि भारी बिसाउँछिन् ।
‘त्यस्तो पानी बोकी छौ, भारीमा पानी पसेपछि हुन्न त गरुङ्गो, प्लाष्टिकभित्र पानी पनि भरियो होला अझ,’ यति भन्दै साहुनीले डोको समातिदिन्छिन् ।


एक दुई जना मानिस भारी बिसाउनेबित्तिकै आइपुग्छन् । सायद उनका ग्राहक होलान् । तिनीहरू डोकोमा हात हालेर घिरौला छान्न थाल्छन् । ओल्टाई पोल्टाई गर्दै घिरौला निकाल्छन् । एउटाले एकमुठी फर्सीका मुन्टा झिक्दै भन्छन्, ‘सबैभन्दा अर्गानिक तरकारी त यही फर्सीका मुन्टा हुन् ।’

‘अलि दिनलाई मेजो पु¥याएर लिनोस्, म दुई, चार दिन आउँदिन होला,’ राममायाले भन्छिन् ।
‘आउन त स्याङ्जाबाट पनि डोकाका डोका आउँछन् । लिईराखेको भएर होला तपाईंसँगै लिन मन लाग्छ ।’

त्यहाँ केही मान्छेहरू थपिन्छन् । लगभग सबै तरकारी बिक्छ । दुई मुठा फर्सीका मुन्टामात्र बाँकी रहन्छन् । त्यही बाटो हिँडेका टीकाराम बुढाथोकीको नजर पर्छ । पछि–पछि बुढी पनि हुन्छिन् । बूढीले भन्छिन्, ‘आहा ! कति कल्कलाउँदा फर्सीका मुन्टा लिऊ त ।’
‘सोध न त कति रहेछ, महङ्गो छ कि ?,” टीकाराम भन्छन् ।

राममाया भित्रभित्र भुट्भुटिन्छिन् किनभने टीकाराम राममायाको बुढो जगतेका साथी थिए । अझ भनौ भने परेली गोरु जस्ता । उनले नै ललाइफकाई उनका श्रीमान्लाई मिलिसिया बनाए । जुन पलाटुनमा उनी कमान्डर थिए । बेनीमा भएको पुसिल र माओवादी आक्रमणमा उनको ज्यान गयो । तब उनको जीवनको उज्यालो एकाएक हरायो । सायद नातिनी हुँदैनथी भने उनी कुनै वृद्धाश्रममा बस्ने थिइन् । तर मायाको डोरो नातिनीप्रति झन् कस्सियो ।

देशमा युद्धको समाप्त भयो । शान्ति सम्झौता भयो । गणतन्त्र आयो । टीकाराम भने अर्बपति भए । कसरी भए ? त्यत्तिको धन कसरी आर्जन भयो ? त्यसको कुनै लेखाजोखा र छानबिन भएन । अर्बपति भए । बस भयो खेला खत्तम भए जस्तो । राममायाको मनले उनलाई यसो भन्दै सराप्यो, ‘तैले राम्ररी कमाएको धन होइन । मेरा श्रीमान् जस्तालाई रगतको खोलो बगाएर, १७ हजार सोझा साझा नेपाली युवालाई मारेर लुटेको धन हो । तलाई पनि कदापि राम्रो हुने छैन । पाप धुरीबाट अवश्य कराउनेछ ।’

‘कति हो नि फर्सीका मुन्टा दिदी ?,’ उनकी श्रीमतीले भनिन् ।
‘७५ रूपैयाँ हो,’ खासै चासो नदिइकन् भनिन् । तिनकी श्रीमतीसँग बोल्दा उनको मन एकाएक कठोर बन्यो ।
‘मैले भनेको होइन, महङ्गो छ भनेर ?,’ टीकारामले भने ।

राममायालाई के भनौँ के भनौँ जस्तो महसुस भयो, सस्तो खान पल्केको तलाई भातमारा, तलाई ज्यानमारा, ठूलो नेता बन्छन् । गणतन्त्र हामीले ल्याएको भन्छस् ! तर उनले केही भनिनन् । अलिक क्षणपछि भने भनिन्, ‘महँगो लागेको भए सित्तमै लानुभए हुन्छ नि, टाढाका मान्छे होइनौं ।’ राममायाको मुखबाट यसखाले अनपेक्षित जवाफ सुन्न परेको थियो । सो जवाफ दुवैका लागि भारी थियो । त्यसैले फर्सीका मुन्टा छाडेर उनीहरु बाटो लागे ।

भुटानी शरणार्थी र सय किलो सुन काण्डमा टीकारामको नाम कताकता मिडियामा आइरहेको समय थियो ।

तपाईको प्रतिक्रिया