चिटिक्क पारियो सौरु गुम्बा

सुन्दरकुमार थकाली २०८२ वैशाख २७ गते १८:०६

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका २ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्वारसँगै रेलिङ सिढी बाटो स्तरोन्नति गरिएको छ । पोखरा बस्ने समाजसेवी मदन गौचन र उनकी श्रीमती बालकुमारीले आर्थिक गरेसँगै अत्यन्तै जीर्ण अवस्थामा रहेको प्राचीन धार्मिक महत्वको सौरु गुम्बाको जीर्णोद्वार भएको हो ।

Advertisement


मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली समुदाय अन्तर्गत रहेका ९ वटा धार्मिक बुद्धिस गुम्बामध्ये मुस्ताङको सौरु गुम्बा एक हो । आर्थिक अभावका कारण जीर्णोद्वार हुन नसक्दा पछिल्लो समय सौरु गुम्बा जोखिममा थियो । लामा उत्पादन गर्ने पाठशालाका रुपमा यो गुम्बा परिचित छ ।


यहाँको गुम्बामा लामा बन्न चाहने भिक्षुहरु तपस्या (छम) बस्ने गर्दथे । सार्वजनिक रुपमा मानिसले नदेख्ने गरी यही गुम्बामा गुप्तबास बसेर लामा विद्या आर्जन गर्ने गरिन्थ्यो । यहाँ भिक्षुहरुले निरन्तर ध्यान र तपस्या गर्ने गर्छन् । गुम्बामा लगातार तीन वर्ष ध्यान तपस्या (छम) बसेपछि मात्रै त्यस्ता व्यक्ति लामा विद्या प्राप्त गरी योग्य बन्छन् । यही गुम्बा बसेर धेरै जनाले लामा विद्या आर्जन गरिसकेका छन् ।


ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा निकै महत्वपूर्ण मानिएको सौरु गुम्बा संरक्षणका लागि मनकारी मदन गौचन र बालकुमारीले २२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गौचन दम्पत्तिको आर्थिक सहयोगमा स्थानीय मनप्रसाद गौचनले सौरु गुम्बा जीर्णोद्वार गरेको सौरु गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनले जानकारी दिए ।


गुम्बाको भित्र र बाहिर आवश्यक मर्मत सुधारसहित वरिपरी रंगरोगन गरी चिटिक्क पारिएको गुम्बा व्यवस्थापन समितिका सचिव दीपक तुलाचनले जानकारी दिए । गुम्बा परिसरमा सोलिङ ढलान, बिजुली बत्ती जडान लगायतका कामहरु सम्पन्न भएको सचिव तुलाचनको भनाइ छ ।

Advertisement

गुम्बा नजिकै शौचालय र बाथरुम निर्माण गरिएको छ । गौचन दम्पतीले उपलब्ध गराएको आर्थिक सहयोगबाट गुम्बा स्तरोन्नतिका लागि ११ लाखभन्दा बढी खर्च भएको स्थानीय मनप्रसाद गौचनले बताए । थासाङ २ का वडाध्यक्ष गौतम शेरचनले मनकारी दानवीरको सहयोगले सौरु गुम्बा जीर्णोद्वारसंगै रेलिङ सिंढी बाटो निर्माण सम्भव भएको सुनाए । गुम्बा संरक्षणका गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने वडाध्यक्ष गौतमले उल्लेख गरे ।


यसअघि सौरु गुम्बा जाने छप्पनी ढुंगा बिच्छ्याइएको सिढी बाटो जीर्ण हुँदा गुम्बासम्म पुग्नसमस्या थियो । यसका लागि गौचन दम्पतीको सहयोगबाट १ सय ९६ मिटर लामो रेलिङसहित आरसिसी सिंढी बाटो निर्माण भएको छ । यसका अलावा रेलिङसहितको प्रवेशद्वार र अन्तिमद्वारसम्म आरसिसी पिल्लरसहितको फलामे गेट निर्माण भएको छ ।

थासाङको सौरु स्थित भिरालो सतहमा अवस्थित प्राचीन सौरु गुम्बामा गुरुपद्य सम्भवको विशाल मूर्ती छ । बुधबार सौरु गुँम्बा जीर्णोद्वार तथा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने गौचन दम्पतीलाई सौरु गुम्बा व्यवस्थापन समिति र स्थानीयले सम्मान गरेको स्थानीय सोजन हिराचनले जानकारी दिए ।


कार्यक्रममा थाकसातसय क्षेत्रका मिरमुखिया ज्वार भट्टचन, थासाङ गाउँपालिकाका वडाध्यक्ष गौतम शेरचन, थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन र सौरु गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले गौचन परिवारलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया