सम्पादकीय—जनसांख्यिक लाभको मौका

समाधान संवाददाता २०८२ वैशाख २९ गते १०:३०

नेपालमा अहिले ६५ प्रतिशत जनसंख्या कार्यशील उमेर समूहको छ । त्यो भनेको १५ देखि ६४ वर्ष उमेर भएका मानिसहरुको संख्या हो । बाँकीचाहिँ बालबालिका र ज्येष्ठ नागरिक छन् । कर्मशील उमेर समूहको यो अवस्था सधैं रहने छैन । नेपाल सन् २१ सय ११ सालपछि ‘बुढ्यौली समाज’ मा प्रवेश गर्नेछ । उक्त समयपछि ६५ वर्ष वा त्यसभन्दा माथिको जनसंख्या धेरै हुनेछ । अहिलेको समयबाट हिसाब गर्ने हो भने कर्मशील जनसंख्या धेरै भएको समय अब हामीसँग २७ वर्ष हुनेछ ।

Advertisement


अहिले नेपालमा ४२.५६ प्रतिशत जनसंख्या युवा छन्, जसको आयु १६ देखि ४० वर्षको बीचमा छ । नागरिक युवा हुनु भनेको देशले कर्मशील जनशक्ति प्राप्त गर्नु हो । तर हालत के छ भने युवाशक्ति वैदेशिक रोजगारीमा छ । देशले जनसांख्यिक लाभ लिन पाएको छैन । तसर्थ बाँकी २७ वर्षलाई सुनौलो मौकाका रुपमा उपयोग राज्यले गर्नसक्नुपर्छ भन्ने हो । जनसंख्या नै शक्ति हो । यही जनशक्तिलाई उद्यमशील बनाउन सके देशले छिटो समृद्धि हाँसिल गर्न सक्छ । नभए पालनपोषण गर्नुपर्ने जनसंख्यामात्रै धेरै भयो पनि राज्यले धान्न सक्दैन । यसै कुरालाई ख्याल गरी दक्षता वृद्धि गर्दै युवाका लागि रोजगारी सिर्जना गर्नुपर्छ । उद्यमशीलता विकास गर्नुपर्छ ।


युवा अर्थात कर्मशील जनशक्तिले अहिले विदेशका लागि पसिना बगाइरहनुपरेको छ । जसलाई देशमै पसिना बगाउन लगाउन मूलतः उद्यमशीलता, रोजगारीको वातावरण देशभित्रै हुनुपर्छ । समग्र शैक्षिक प्रणालीलाई दक्ष जनशक्ति र बौद्धिक जनशक्ति उत्पादनमा लैजाने गरी परिवर्तन गर्नुपर्छ । राजनीतिक नेतृत्वले यसलाई ख्याल नगरी परम्परागत ढंगबाटमात्रै देश हाँकिरहेको छ । यो अवस्थाले अहिलेको भन्दा पनि भोलिको पिँढीलाई झन् सकस थपिने देखिन्छ । अहिलेको पुस्ताले संघर्ष र योगदान गर्न सक्यो भने भोलिको दिन सहज हुने हो । त्यसका लागि उपयुक्त वातावरण बनाउने काम भने राज्यकै हो । सरकारले जनसंख्या नीति पनि बनाएको छ । तर त्यसअनुसारको कार्यान्वयनतर्फ खास उपलब्धि देखिन्न । त्यही नै हाम्रो बिडम्वना हो ।

तपाईको प्रतिक्रिया