हेलो हेल्थ क्लिनिकको शिविर

समाधान संवाददाता २०८२ वैशाख २९ गते १६:५४

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को बुढीबजारमा रहेको हेलो हेल्थ क्लिनिकले तमु प्ये ल्हु स्याङ्जाली तमु समाजमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

Advertisement


तमु प्ये ल्हु स्याङ्जाली तमु समाज, पोखरा–२६, तालवेशीको समन्वय र हेलो हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सय जना भन्दा बढीलाई सेवा प्रदान गरिएको थियो ।


कार्यक्रममा क्लिनिकका अध्यक्ष मदन बरालले क्लिनिक स्थापनाको पछाडि प्रेरणाको स्रोत स्थानियहरु नै रहेको भन्दै रोग लाग्नुअघि नै निरोगी बन्न सकिने उपायहरूका बारेमा जानकारी गराउँदै यहाँको स्वास्थ्य सेवा लिनका लागि अस्पताल र क्लिनिक टाढा भएकाले बिरामीहरू सहज रूपमा सेवाबाट बञ्चित भएका अवस्थालाई मध्यनजर गर्दै हेलो हेल्थ क्लिनिक स्थापना गरिएको बताए ।


सोही अवसरमा क्लिनिक निर्देशक एमडी, जीपी डा. विष्णु भण्डारीले आफ्नो १२ वर्षको चिकित्सकीय अनुभव सुनाउँदै भने, ‘मानिसहरूले आफ्नो गाडीलाई त दुई–तीन महिनामा सर्भिसिङमा लैजान्छन्, तर आफ्नो स्वास्थ्य जाँच गराउँदैनन् । हाम्रो शरीर पनि मेसिन जस्तै हो, यसको मर्मत सम्भार जरुरी छ ।’


कार्यक्रममा प्रबन्धक प्रमोद भुजेलले हाल क्लिनिकले प्रदान गरिरहेको सेवा—जसमा डाक्टर परामर्श, ल्याब, फार्मेसी, र होमकेयर सेवा (नर्सहरूलाई घरमै पठाएर अस्पतालजस्तै सेवा दिने)—बारे जानकारी गराए ।

Advertisement


यसैगरी समाजका अध्यक्ष टउ बहादुर गुरुङले शिविरबाट आफूमाथि भएका स्वास्थ्य समस्याका बारेमा जानकारी लिँदै आफ्नै घरआँगनमै बसेर उपचार विधिका बारेमा परामर्श लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा हेलो हेल्थ क्लिनिकसँग सहकार्य गरी यस्ता स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।


समाजका अध्यक्ष टउ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव श्याम बहादुर गुरुङले गरेका थिए । शिविरमा हेलो हेल्थ क्लिनिकका संस्थापक कृष्णप्रसाद बराल र अन्य नर्सिङ टोलीले निरोगी बन्नका लागि नियमित व्यायाम र असल आहार–विहारका बारेमा जानकारी दिएका थिए ।


शिविरमा निःशुल्क सुगर परीक्षण, निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, निःशुल्क डाक्टर परामर्श र सम्पूर्ण शरीर परीक्षण तथा अन्य सबै परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया