एमाले कास्कीमा कार्यविभाजन

पोखरा ।
नेकपा (एमाले) कास्कीको चौथो पूर्ण बैठकले कमिटीलाई पूर्णता दिएको छ । कमिटीको १० औं अधिवेशन भएको १ वर्षपछि एमाले कास्कीले कमिटीलाई पूर्णता दिएको हो ।
एमाले कास्कीको अधिवेशन २०८० चैत १० देखि १३ गतेसम्म भएको थियो । पार्टी विधानको धारा ६५ को उपधारा १ अनुसार १२, पार्टी विधानको धारा ६५ को उपधारा ४ अन्तर्गत पार्टी समायोजन र एकता प्रक्रियाबाट ८ जना सदस्य थपेर कमिटीलाई पूर्णता दिइएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
अधिवेशनबाट निर्वाचित १ सय २० र मनोनित २० गरी एमालेको जिल्ला कमिटी १ सय ४० सदस्यीय भएको छ । बैठकले एमाले कास्कीको कार्यालय सचिवको जिम्मेवारी सचिवालय सदस्य रामप्रसाद खनाललाई दिएको छ । खनालले कार्यालय सचिवका अलवा वित्त तथा कोष व्यवस्था विभागको प्रमुख र पेशागत महासंघ नेपाल र पेशागत फाँटको इन्चार्जको जिम्मेवारीसमेत पाएका छन् ।
कमिटीको बैठकले २९ सदस्यीय सचिवालय बनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र अन्तर्गत ३ निर्वाचन क्षेत्र समन्वय कमिटी बनाएको छ । एमाले कास्कीले गण्डकी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र अन्तर्गत ६ वटा समन्वय कमिटीसमेत गठन गरेको छ ।
निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ को संयोजक सचिव दर्शन लामा, सहसंयोजक विजया सुवेदी र सचिव रमेश रानाभाट छन् । क्षेत्र नम्बर २ को संयोजक उपाध्यक्ष भेषराज बराल, सहसंयोजक बलराम आचार्य र सचिव झपट रानाभाट छन् । क्षेत्र नम्बर ३ को संयोजक उपसचिव लालबहादुर परियार र सहसंयोजक कृष्ण न्यौपाने छन् ।
बैठकले २२ वटा जनसंगठनको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । एमाले कास्कीले विभिन्न ३० विभागसमेत गठन गरेको छ । गठन भएका विभिन्न विभागमध्ये स्कुल विभागको प्रमुखमा अध्यक्ष अधिकारी र संगठन विभागको प्रमुखमा सचिव लामा छन् । जिल्ला सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चसमेत गठन भएका छन् ।
एमाले कास्कीको सोमबार भएको कार्यकर्ता भेलाले ३२ औं मदन आश्रित स्मृति बिविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सो दिवसको सन्दर्भमा जिल्ला पार्टी कार्यालयमा प्रवचन गोष्ठी र र पोखरा १६ मा रहेको मदन आश्रित स्मृति पार्क सरसफाइ गर्ने तय भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन व्यवस्थापकीय हिसाबले सहयोग गर्ने अध्यक्ष अधिकारीले बताए । उनले महाधिवेशनको सन्दर्भमा हुने गतिविधिले पार्टीको सांगठनिक जीवनलाई चुस्त, दुरुस्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाले एमाले एकताबद्ध भएमात्र प्रतिगामी शक्तिलाई परास्त गर्न सकिने बताए ।
उनले संगठनात्मक अराजकता र अनावश्यक गुटबन्दीले पार्टी चल्न नसक्ने बताए । ‘देश हाक्ने पार्टीका नेता तथा कार्यकर्ता सानो मन गर्न हुन्न,’ उनले भने, ‘पार्टीको नीति र संगठनात्मक पद्धती अनुसार सबै चल्नु पर्छ ।’ उनले संगठनात्मक अराजकता र गुटबन्दीको अन्त्य गरी संस्थागत ढंगमा चल्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष बराल र सचिव लामाले समेत वडा केन्द्रीत पार्टी निर्माणबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया