‘धागोबिनाको चंगाको के काम ?’

पोखरा ।
चंगालाई सयौं माइलसम्म उड्न छ भने उसको सहारा धागो नै हो । धागोबिनाको चंगाको उडान सम्भव छैन। धागो बलियो जरा हो, तर नाम भने चंगाले कमाइरहेको हुन्छ । चंगा मस्तसँग नाचिरहेको हुन्छ, चारैतिर फन्को मार्दै उडिरहेको हुन्छ । त्यो दृश्य हेरेर वाह–वाह भन्नेहरुको ताँती लाग्छ, फोटो खिच्ने र रमाउनेहरुको लर्को देखिन्छ । तर त्यो सबैको आधार भनेको धागो नै हो ।
आइतबार काठमाडौंबाट पोखरा आएका विख्यात गुरु चिन्तामणि योगीले पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्समा धागोको यो कथासार सुनाउँदै थिए । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई उत्कृष्टता हासिल गर्न तालिम, गोष्ठी, सेमिनार, मोटिभेसन, उत्प्रेरणामूलक कार्यक्रम आवश्यक हुने भएकाले यस्ता गतिविधिहरु निरन्तरता दिइएको जानकारी दिए ।
उनका अनुसार बिहानको पहिलो सेसनमा २५६९ औं बुद्ध जयन्तीको अवसर पारेर धर्मदेशना कार्यक्रम गरिएको थियो र सोही सन्दर्भमा चिन्तामणि योगीलाई निमन्त्रणा गरिएको थियो । योगीले भने, ‘जबसम्म विद्यार्थीले धागोलाई चिन्न सक्दैनन्, बुझ्न सक्दैनन्, मनन गर्न सक्दैनन् र आदरभाव प्रकट गर्न सक्दैनन्, तबसम्म उनीहरूको भविष्य निर्मित हुन सक्दैन ।’
धागो भनेका आमा–बाबा हुन्, शिक्षक र गुरु भएको योगीले बताए । उनले भने, ‘के उनीहरूबिना हामी चल्न सक्छौं ? उनीहरू भएर नै त हामीले संसार देखेका छौं, उज्यालोको बाटो चिनेका छौं । के उनीहरूबिनाको संसार सम्भव छ त ?’
जिन्दगीजति रमाउनु छ, प्रगति गर्नु छ, संसार जित्नु छ भने पनि हरेक पल धागोरूपी अभिभावक र गुरुहरुलाई सम्मान गर्नुपर्ने योगीको सन्देश थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि नैतिक शिक्षा प्रदान गर्न आएका योगीले ध्यानपूर्वक काममा लाग्नुपर्ने, ध्यानले सुन्ने, हेर्ने, पढ्ने, लेख्ने, आत्ममूल्यांकन गर्ने, इमानदार बन्ने, शब्द चयनमा सजग रहने, मोबाइल र ग्याजेटहरुबाट टाढा रहने, सकारात्मक र सहयोगी बन्ने कुरामा विशेष जोड दिए ।
आफ्ना भनाइको अन्त्य गर्दै योगीले दोहोर्याएर भने, ‘मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव, गुरु देवो भव। यी कसैको मन कहिल्यै नदुखाउने मानिस नै सर्वश्रेष्ठ हुन्छ। उनीहरुको मन दुखाएर कहिल्यै गद्दारी गर्नु हुँदैन ।’









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया